समाज


गुरुङ समुदाय ल्होसार पर्व मनाउँदै

गुरुङ समुदाय ल्होसार पर्व मनाउँदै

नेपालखबर
पुस १५, २०७६ मंगलबार ३:४२,

गुरुङ समुदाय आज आफ्नो महत्वपूर्ण पर्व ल्होसार मनाउँदैछन्।

पुरानो वर्ग (वर्ष) को बिदाई र नयाँ वर्गलाई स्वागत गर्दै गुरुङ समुदायले विशेष उत्साह र उमङ्गतासाथ मनाउने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक महत्व बोकेको छ।

गुरुङ भाषामा ‘ल्हो’ भनेको नयाँ र ‘सार’ भनेको वर्ष हो। ल्होसारको अवसरमा आज राजधानी काठमाडौँसहित देशका विभिन्न कार्यक्रम हुँदैछन्।

ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। त्यसैगरी केही स्थानीय तहले पनि बिदा दिएका छन्।

यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ल्होसारको अवसरमा शुभकामना दिएका छन्। ‘स्वदेश तथा विदेशमा रहने सम्पूर्ण तमू दिदी–बहिनी तथा दाजुभाइहरुमा ल्होसारको अवसरमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु,’ प्रचण्डले मंगलबार बिहान जारी गरेको शुभकामना सन्देशमा भनिएको छ।

‘पुरानो वर्ग (वर्ष)को बिदाई र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले विशेष उत्साह र उमङ्गतासाथ मनाउने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक महत्व राखेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘सांस्कृतिक परम्पराको धनी राष्ट्र नेपालका तमु समुदायले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका छन्।’

राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नती र समृद्धि निर्भर रहेको उल्लेख गर्दै प्रचण्डले यस्ता मौलिक चाडपर्वहरुले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँने उल्लेख गरेका छन्।

‘नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ। २१ औं शताब्दीमा नेपाली पहिचान सहितको विचारलाई माथि उठाउन र विश्वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्ग, समुदायको ऐक्यवद्धता आजको आवश्यकता हो,’ सन्देशमा भनिएको छ,
‘यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा सहित तमु समुदायलगायत समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गरेका छन्। उनले सन्देशमा शान्त, समुन्नत तथा समृद्ध नेपाल निर्माणका लागि ल्होसार पर्वले सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad