स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी सङ्घलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर स्वास्थ्योपचारको नियमित काममा जुट्न सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनुरोध गरेका हुन्।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मी थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सङ्घले माघ २९ गतेका दिन आह्वान गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएर नागरिकको स्वास्थ्योपचारको नियमित काममा जुट्नका लागि सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलगायत सम्बद्ध सबै स्वास्थ्य सङ्घसंस्थालाई अनुरोध गर्दछौँ।’
सङ्घले यही माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा आज देशभरि नै आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले घटनालगत्तै नेपाल प्रहरीद्वारा घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी घटनाको छानबिन गरिरहेको जनाउँदै घटनाका विषयमा थप छलफल गरी समस्या समाधान गर्नका लागि वार्ता समिति गठन गर्ने र संघले उठाएका विषयलाई संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको जनाएको छन्।
सोही अनुरुप प्रधानमन्त्री कार्यालयमा चिकित्सक संघ र सरकारबीच वार्ता भइरहेको छ।
मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टर अगाडि सडकमा चिकित्सकमाथि भएको कुटपिटको घटनाप्रति दुः ख व्यक्त गरेको छ।
Shares

प्रतिक्रिया