समाज


बालविवाह कसुरमा १५ महिना कैद सजाय

बालविवाह कसुरमा १५ महिना कैद सजाय

फाइल।


नेपालखबर
माघ २८, २०७९ शनिबार १५:१४, काठमाडौँ

पन्ध्र वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको कसुरमा एक अभियुक्तलाई शुक्रबार एक वर्ष तीन महिना कैद सजाय गरिएको छ।

कञ्चनरुप नगरपालिका–११ गोरपारका ३६ वर्षीय चन्द्रनारायण धामीलाई कैद सजाय भएको अदालतका इजलाश अधिकृत कुमार सुवेदीले बताए। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई बहुविवाहको कसुरमा एक वर्ष र बालविवाहको कसुरमा तीन महिना कैद सजाय गरेको हो।

यसैगरी आरोपितलाई बहुविवाहमा १० हजार र बालविवाहमा तीन हजार जरिवाना समेत भएको छ। यसका साथै आरोपितबाट फौजदारी कसूर पीडित राहत कोषमा रु चार सय जमा गर्नुपर्ने फैसला भएको छ। जेठी श्रीमती २१ वर्षीया मेनुकाकुमारी चौधरीले आरोपित श्रीमानले १५ वर्षीया बालिकालाई गत मंसिर १ गते विवाह गरी घरमा भित्र्याएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएका थिए। 

प्रहरीले पुस २५ गते आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो।

जिल्ला अदालतले यही माघ १७ गते बालिकालाई सफाइ र धामीलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो।

बहुविवाहसँग जोडिएको यो बालविवाहको घटनाबाहेक आर्थिक वर्ष २०७९÷८० मा जिल्ला अदालतमा अन्य दुई बालविवाहका उजुरी दर्ता भएका छन्। बालविवाहको एउटा उजुरी परमादेशबाट दर्ता भएको छ भने अर्को सशस्त्र प्रहरीले भारत जाँदै गरेको नवविवािहत जोडीलाई नियन्त्रणमा लिएपछि प्रहरी प्रतिवेदनमा चलेको बालविवाहको मुद्दा रहेको छ। 

महादेवा गाउँपालिका–१ की बालिकालाई विवाह गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा बालिका र अन्य तीन जना भारतीय नागरिक यही माघ १७ गते पक्राउ परेका थिए। पक्राउपर्नेमा भारतको जम्मु काश्मिर घर भएका मो रफिक खार, नुर जहान र गुलाब जिलानी रहेको प्रहरीले जनाएको छ।

खार र जहानले ४१ वर्षीय जिलानीलाई नेपाल ल्याएर १७ वर्षीया बालिकासँग विवाह गराइ भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाको टोलीले पक्राउ गरेको थियो। 

सशस्त्र प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाएपछि अनुसन्धानका क्रममा बालविवाह गरेको खुल्न आएकाले उनीहरुलाई बालविवाहसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ।

ठूलो सङ्ख्यामा बालविवाह हुने सप्तरीमा २०७५ देखि २०७८ सालसम्म प्रत्येक वर्ष एक÷एक उजुरी मात्र दर्ता र फछ्र्यौट भएको छ।

अदालतको तथ्याङ्कअनुसार आव २०७८/७९ मा तीन उजुरी दर्ता भएकामा हाल दुई बालविवाहका मुद्दा चालु अवस्थामा छन्।

कमजोर आर्थिक अवस्था, अशिक्षा र बालविवाहले पार्ने समस्याका बारेमा जानकारी नहुनाले ग्रामीण क्षेत्रका बालबालिका उमेरै नपुगी वैवाहिक जीवनमा जोडिने गरेको अधिकारकर्मीका भनाइ छ। मेची महाकाली बुहारी संयुक्त आवाजकी सदस्य मिरा गुरुङका अनुसार विभिन्न तथ्याङ्क र व्यवहारमा सबैभन्दा बढी घटना हुने बालविवाहको मुद्दा भने सबैभन्दा कम दर्ता हुने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad