ad ad

समाज


रक्षामन्त्री भएको १७ दिनपछि जंगीअड्डा पुगे उप्रेती

रक्षामन्त्री भएको १७ दिनपछि जंगीअड्डा पुगे उप्रेती

जंगी अड्डामा रक्षामन्त्रीलाई स्वागत गर्दै रक्षामन्त्री प्रभुराम शर्मा। तस्बिर : नेपाली सेना


नेपालखबर
माघ २०, २०७९ शुक्रबार १६:३९, काठमाडौँ

रक्षामन्त्री हरिप्रसाद उप्रेती शुक्रबार जंगीअड्डा पुगेका छन्। माघ ३ गते रक्षामन्त्री  भएपछि पहिलो पटक उनी जंगीअड्डा निरीक्षणमा पुगेका हुन्।

रक्षामन्त्रीमा नियुक्त भएपछि पहिलो पटक उनले जंगी अड्‍डा पुगेर नेपाली सेनाबारे औपचारिक जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

जंगी अड्‌डामा आयोजित कार्यक्रममा उप्रेतीसमक्ष नेपाली सेनाको संगठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाका गतिविधिबारे जानकारी गराइएको थियो।

कार्यक्रमका क्रममा प्रधानसेनापति प्रभुराम शर्माले रक्षामन्त्रीलाई बधाई दिँदै नेपाली सेनाकातर्फबाट जंगी अड्‍डामा स्वागत गरे।

उनले नेपाली सेना सम्पूर्ण नेपालीहरुका छोराछोरीहरु सम्मिलित राष्ट्रकै उत्कृष्ट संस्था भएको उल्लेख गरे।

उनले बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशहरुबाट सिर्जित चुनौतीहरु सम्बोधन, समाधान र न्यूनीकरण गर्न नेपाली सेनाको क्षमता बढाउनु आवश्यक रहेको उल्लेख गरे।

प्रधान सेनापति शर्माले सरकारले नेपाली सेनालाई सुम्पिएका जिम्मेवारी र दायित्व निर्वाह गर्दा कानुनी प्रावधान पूरा गर्दै अगाडि बढ्नु पर्ने मान्यतामा आफूहरु अडिग रहेको प्रष्ट्याए।

कार्यक्रममा रक्षा सचिव किरणराज शर्माले विपद् व्यवस्थापन लगायत नेपाली सेनाको समग्र क्षमता विकास गरेर आत्मनिर्भर बनाउदै लैजाने कुरामा रक्षा मन्त्रालय र सरकारको विशेष जोड हुनुपर्ने कुरा उल्लेख गरे।

कार्यक्रममा मन्त्री उप्रेतीले आफ्नो पहिलो जंगी अड्‍डा भ्रमणका क्रममा नेपाली सेनाबारे दिएको जानकारीका लागि धन्यवाद व्यक्त गरे।

उनले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाइराख्‍न सेनाले खेलेको भूमिकाको प्रशंसा गरे।

रक्षामन्त्रीले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पदै आएका थप दायित्व निर्वाहमा अब्बल रहँदै आएको नेपाली सेना, नेपाल सरकार तथा नेपाली जनताको भरोसाको केन्द्रका रुपमा रहेको बताए।

उनले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदानको चर्चा गर्दै हाल संयुक्त राष्ट्रसंघलाई फौज उपलब्ध गराउने देशमध्ये दोश्रो भए पनि विश्‍व शान्तिका लागि जोखिम बहन र साहस प्रदर्शन गर्ने फौजमा नेपाली सेना सधैँ अग्रपंक्तिमा रहेको बताए।

उनले हालै बहुचर्चित राष्ट्रिय गौरवको काठमाण्डौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको भ्रमण गर्ने क्रममा भइरहेको प्रगति देख्दा आफू सन्तुष्ट भएको बताए।

उनले आयोजना पुरा गर्ने क्रममा देखा परेका चुनौती सम्बोधन गर्दै गुणस्तरीय ढंगले, छिटो कार्यसम्पन्‍न गर्न आफ्नोतर्फबाट सबै किसिमको सहयोग रहने विश्‍वास दिलाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .