ad ad

समाज


चीनमा साइबर अपराध गर्न नेपालमा ४ अर्बका सफ्टवेयर कम्पनी

चीनमा साइबर अपराध गर्न नेपालमा ४ अर्बका सफ्टवेयर कम्पनी

दीपक खरेल
पुस १२, २०७६ शनिबार १४:५२,

प्रहरीले गत सोमबार एकसय २२ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर बटुलेको चर्चा समयसँगै उसले गरेको फितलो अनुसन्धानका कारण आलोचित हुन थालेको छ।

प्रहरीले काठमाडौं र ललितपुरका ७० बढी घरबाट चिनियाँ नागरिकले चलाइरहेको साईबर अपराधविरुद्ध एकसाथ कारबाहीको सूची बनाएपनि पुस ७ मा जम्मा नौ घरमा मात्र छापा मारेको थियो। अझ, प्रहरीलाई ४ अर्ब लगानीमा वैधानिक रुपमा खुलेका २१ बढी सफ्टवेयर कम्पनीहरु मार्फत चिनियाँ नागरिकहरुले चीनकै अर्थतन्त्र धरासायी बनाउन साईबर अपराध गरिरहेको जानकारी भएपनि उसले त्यो महत्वपूर्ण सूचनालाई बेवास्ता गरेको पाइएको छ।

नेपालखबरलाई प्राप्त प्रहरी टोलीले गरेको गोप्य अनुसन्धान रिपोर्ट अनुसार पहिलो चरणमा पत्ता लागेका कम्तीमा ७० घरहरुमा छापा मारेर एकहजार बढी चिनियाँ नागरिक नियन्त्रणमा लिने योजना एकाएक तुहिएको छ। यतिमात्र होइन, प्रहरीले छापा मारेका घरहरुमध्ये महाराजगञ्ज क्षेत्रको एउटा घरमा प्रहरी पुग्नुअघि नै त्यहाँ रहेका चिनियाँ नागरिक र उनीहरुका विद्युतीय सामाग्री गायब भएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए।

नेपालमा व्यवसाय र विभिन्न आवरणमा बसेर चिनियाँ युवाहरुको सहयोगमा चीनका प्रमुख बैंकहरुको रकम निकाल्ने, अनलाईन जुवा खेलाउने, व्यक्तिगत सूचना चोरेर धम्क्याउने तथा फिरौती उठाउने र अश्लिल सामाग्री देखाएर रकम लिने यो धन्धामा संलग्न मुख्य अभियुक्तहरुको पहिचान भएपनि प्रहरीले उनीहरुलाई पक्राउ नगर्नुको कारण पत्ता लगाउन यतिबेला चीन र नेपाल सरकारका वरिष्ठ अधिकारीहरु अनुसन्धानमा जुटेका छन्।

ChinesePassport3

अनुसन्धान ब्युरोलाई पंगु बनाइयो
प्रहरीले पुस ७ मा काठमाडौंका ९ घरमा छापा मारेर एकसय २२ चिनियाँ नागरिकलाई नियन्त्रणमा लियो। यसको नेतृत्व केन्द्रीय अनुसन्धान ब्युरोले गरेको थियो। जसमा महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको सहभागिता थियो।

यो घटनाको दुई दिनपछि केन्द्रीय अनुसन्धान ब्युरोले घटना विवरण सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गर्यो। जहाँ ब्युरो प्रमुख डीअइजी नीरजबहादुर शाहीले प्रहरीले नियन्त्रणमा लिएका चिनियाँ नागरिकको कसुर खुलाउन सकेनन्। उनी संचारकर्मीले सोधेका प्रश्नहरूको जवाफ दिन असमर्थ भए।

कारण थियो, उनी यो ¥याकेटका अनुसन्धानकर्ता थिएनन्। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट उनलाई जे भनियो, त्यही गर्न पत्रकार सम्मेलनमा उभिएका थिए।

ब्युरोले पत्रकार सम्मेलनमा बाँडेको विज्ञप्ती पत्रमा इन्टरपोलको ८८औं महासभामा भाग लिन चिली गएका महानिरीक्षक खनाल र चीनका प्रहरी प्रमुखबीच भएको सूचना आदानप्रदान र वार्तालापपछि यो घटना विकास भएको उल्लेख छ। यो महासभा असोज २८ मा भएको थियो।

तर, नेपालमा बसेर चीनविरुद्ध साईबर अपराधको जालो फैलँदै गरेको सूचनालाई विकसित गर्न प्रहरीको एउटा समूह साउनदेखि नै सक्रिय थियो। यो समूहलाई वैदेशिक लगानीको नाममा चिनियाँहरुले एकपछि अर्को सफ्टवेयर कम्पनी दर्ता गरिरहेको सूचनामात्र थिएन, यस्ता कम्पनीका लागि भन्दै विमानस्थलबाट दैनिक सयौं थान मोबाईल र ल्यापटप भित्रिएको जानकारी पनि थियो।

यसरी भित्रिने विद्युतीय उपकरण भन्सार पास गराउन पार्टीका नेता–कार्यकर्ताहरू समेतले कर्मचारीलाई दबाब दिएका प्रहरी स्रोतको भनाइ छ। स्थानीय राजनीतिक शक्तिको समेत आड लिने चिनियाँहरूको व्यवहार सुनेर नेपाली सेनाको गुप्तचर विभाग पनि सशंकित बनेको थियो।

ChinesePassport

४ अर्बका सफ्टवेयर कम्पनीको आवरणमा अपराध
चिनियाँहरुले एक महिनाको अवधीमा साढे दुई अर्बभन्दा बढी लगानीमा सफ्टवेयर कम्पनी चलाउने भन्दै भिसा आवेदन दिएपछि यसमाथि अनुसन्धान भइरहेको थियो। काठमाडौं र ललितपुरमा यसरी चिनियाँ नागरिकहरुको एकल लगानीमा एक वर्षमा ४ अर्ब रुपैयाँ बराबरका सफ्टवेयर कम्पनी खोलिएपछि सरकारी अधिकारीहरुले अनुसन्धान थालेका थिए।

नेपालखबरलाई प्राप्त विवरण अनुसार २०७५ चैत १२ मा झाङ याङ, वु हाईसेङ, सुन लिङ, सुन जी र झु जियाङले नेपालमा सफ्टवेयर निर्माण गर्ने कम्पनी दर्ता गरे। यो कम्पनी २०७५ मंसिर पछिको पहिलो थियो।

यही आधारमा प्रक्रिया पूरा गरेर अध्यागमन विभागले उनीहरूलाई बिजनेश भिसा उपलब्ध गरायो। ललितपुरमा कार्यालय रहेको यो कम्पनीको अधिकृत पूँजी साढे दुई करोड रुपैयाँ छ। शतप्रतिशत वैदेशिक लगानी रहेको यो कम्पनीले ३ सय सफ्टवेयर प्याकेज बनाउने शर्त नेपाल सरकारसँग राखेर कानुनी प्रक्रिया पूरा गरेको थियो।

यसपछि केही समय चिनियाँ लगानीका सफ्टवेयर कम्पनी दर्ता प्रक्रिया भएन। तर २०७६ जेठ १७ मा वाङ यु फेङ, झु वो, सी गुआङ फू, झाङ यायो यायो र वु हई लिनले २५ करोड लगानीको सफ्टवेयर कम्पनी दर्ता गरे। ३ सय सफ्टवेयर प्याकेज बनाउने शर्त सहित खोलिएको यो कम्पनीमा शतप्रतिशत वैदेशिक लगानी छ।

२०७६ असार २९ मा गाङ वाङ र जुन झाङले १० करोड लगानीमा अर्को सफ्टवेयर कम्पनी खोले। २०७६ भदौ १२ मा सुन याजुन, झाङ कन्डी, हुआङ जिङगडे, लिआ अलि, आओ सिङपिङ, झाङ सुजुनको संयुक्त लगानीमा खोलिएको २५ करोड लागतको कम्पनीको मुख्य उद्देश्य समेत सफ्टवेयर निर्माण राखियो।

यस्तै सोही दिन ली युआन्सु, वाङ यिरान, दाई बिनबिन, लिआओ सिनपिङ र गुओकानको २५ करोड लागतकै अर्को सफ्टवेयर कम्पनीले बैद्यता पायो।

२०७६ भदौ १६ मा देङ मन, देङ या हुई, लिओ सुई, चेन होङ लिआङ र मा जिङ मेइको २५ करोड, वाङ पेनगेफी, लिआङ जिआन, लिन गेनचुन, मा क्वानछिन् र केन जिआननको २५ करोड लगानी भएका बेग्लाबेग्लै सफ्टवेयर कम्पनी नेपाल सरकारमा दर्ता भए।

२०७६ असोज ५ मा लू जिन, लियु काइफेङ, जिआ क्वान, गुओ सिलेइ र ली डोङडोङको २५ करोड, २०७६ कात्तिक ७ मा वाङ सेनबो, यु हुईफेङ, हुआङ जोङमेइ, छेन लियाङ र झाङ बिनबिनको २५ करोड, २०७६ कात्तिक १८ मा झुवाओ के, सू वेइको १० करोड, २०७६ कात्तिक २१ मा होङ क्युइनसानको ५ करोडको एकल कम्पनी दर्ता भए।

यस्तै २०७६ कात्तिक २१ मा के बिङडिङको ५ करोडको एकल कम्पनी, २०७६ कात्तिक २५ मा फेङ जुआन, झान वेइजुइ, जिआङ यिङ विङ, वाङ जिआसिङ र हुआङ जोङ जिआओको २५ करोड, २०७६ कात्तिक २५ मा हुआङ गोनसेङ, हुआङ जोङपिङ लि गुआङ जिआ, फूताओ र झाओ सेङ जिआङको २५ करोडको कम्पनी, २०७६ कात्तिक २५ मा लु योङ क्विङ, तु जिआङ झाओ, छिई फुकाई, वु रोङघुआ र वेई लीको २५ करोडको कम्पनी, २०७६ कात्तिक २५ मा हुआङ छुमिनको ५ करोडको एकल कम्पनी दर्ता छन्।

२०७६ मसिर ५ मा ली युनजिआओ, हुआङ जेङलिङ, पाङ सानलिङ, याङ जियाबाओ, ली आईपिङको २५ करोड, छेन लूजुन, छेन यिङगुआओ, छु फुजिङ, हुआङ रोङझेङ र छेन जिआको २५ करोड, वाङ जिआगङ, झाङ गुनमिन, ली क्विङ फेङ, झेङ छेनफेइ र काओ लियुआनको लागतमा २५ करोडको कम्पनी दर्ता भएका छन्।

गोप्य प्रतिवेदन अनुसार २०७५ मंसिर १ देखि २०७६ मंसिर ५ सम्म मुख्यभूमी चीनका नागरिकबाट भएको देखिएको लगानीभित्र माथि उल्लेखित कम्पनीहरु साईबर अपराध गर्ने उद्देश्यले स्थापना भएका हुन्।

यसरी खोलिने कम्पनीका लगानीकर्ताले एकैदिन दर्ता प्रक्रिया टुङ्ग्याएर अध्यागमनबाट भिसा समेत लिएका छन्। यो अवधिमा स्थापना भएका एकसय ८९ कम्पनीमध्ये यी कम्पनीको लगानी र लगानीकर्ता शंकास्पद देखिएपछि विस्तृत अनुसन्धान भएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .