वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताएका छन्।
बुधवार तिलगंगा आँखा अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो जीवनकै ठूलो कमाइका रुपमा इसा अवार्डलाई हेरेको बताएका हुन्।
उनले राज्यले यो अवार्डलाई कसरी लिन्छ भन्ने बारेमा आफूले ध्यान दिइरहेको पनि बताए। उनले नेपालमा आँखा उपचारको क्षेत्रलाई सबैतिर विस्तार गर्न आवश्यक रहेको पनि बताए।
सन्दुक रुइतले भने : राष्ट्रपतिमा इच्छा छैन, त्यो पद मेरा लागि होइन
‘यस्तो ग्लोबल अवार्ड नेपालीलाई दिनु गर्वको कुरा हो। संसारको मानचित्रमा नेपालले पनि यस्तो गर्दोरहेछ भन्ने थाहा भयो। नेपालीहरुको आत्मसम्मान, प्रतिष्ठा जुन अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा गिर्दो अवस्थामा छ। त्यसलाई बचाउन धेरै ठूलो सहयोग गरेको छ', उनले भने, 'जीवनकै कमाइ हो। यो जिन्दगीको तपस्याको फल हो। यही कुरा विदेशीलेभन्दा नेपालीले दुई, तीन गुणा बढी मिहिनेत गर्नुपर्छ। मैले पहिला पनि पाउँथे होला यस्तो तर नेपाली भएकाले समय लाग्यो। यो राज्यले बुझ्नुपर्ने कुरा हो। यो अवार्डले नेपालको आत्मसम्मान र चिनारीलाई कति माथि लगेको छ ।'
उनले यो अवार्डपछि राज्यले आफूलाई कसरी रेस्पोन्स गर्छ भनेर कुरिरहेको बताए। 'हामीले अझै पनि नेपालमा पहुँच नपुगेका धेरै ठाउँमा छ, आँखाको सेवा विस्तार गर्नुपर्छ', उनले भने, 'राज्यले स्वास्थ्यको क्षेत्रलाई धेरै विस्तार गर्न आवश्यक छ। तिलगंगा आँखा प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय इन्स्टिच्युसन बनाउनुपर्छ।’
डा. रुइतले आफ्नो उपलब्धीलाई सरकारले कसरी लिन्छ भन्ने नियालिरहेको पनि बताए।
Shares

प्रतिक्रिया