समाज


डा. सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको प्रतिष्ठित इसा अवार्ड

डा. सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको प्रतिष्ठित इसा अवार्ड

डा. सन्दुक रुइत।


नेपालखबर
माघ ४, २०७९ बुधबार १५:५०, काठमाडौँ

नेपालका प्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले मानव सेवामा समर्पित बहरेनको प्रतिष्ठित इसा अवार्ड पाउने भएका छन्। 

मंगलबार ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले डा. रुइतलाई १० लाख अमेरिकी डलर (नेपाली १३ करोड रुपैयाँबराबर)को अवार्ड प्रदान गर्ने घोषणा गरेको हो।

डा. रुइत नेपाललगायत अन्य देशका एक लाख ८० हजारभन्दा बढीको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरेर ज्योति दिन सफल नेत्र विशेषज्ञका रुपमा विश्वमाझ परिचित छन्। 

उक्त अवार्डका लागि यस वर्ष १३९ व्यक्ति तथा संस्था छनोटमा परेका थिए। तीमध्ये निर्णायकहरूले डा. रुइतलाई अवार्डका लागि योग्य छनोट गरेका हुन्। 

अवार्डका लागि अमेरिकास्थित मर्सी शिप, बंगलादेशको फ्रेन्ड्सशिप एनजीओ, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी, स्विट्जरल्यान्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउन्डेसनहरुमध्ये डा. रुइत छानिएका हुन्। 

इसा कस्तो अवार्ड हो?
बहरेनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड सन् २००९ मा स्थापना गरिएको हो। तर वितरण भने सन् २०१३ देखि सुरु भएको हो। उक्त अवार्ड हरेक दुई वर्षमा प्रदान गरिँदै आइरहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ले जनाएको छ। 

संस्थाका अनुसार यसअघि इसा अवार्ड मलेसियन मेडिकल रिलिफ सोसाइटी (मर्सी मलेसिया)का संस्थापक जेमिलाह महमद, भारतको कलिङ्गा इन्स्टिच्युट अफ सोसल साइन्सेज र कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीका संस्थापक डा अच्युता सामन्ता, बाल क्यान्सर अस्पताल फाउन्डेसनलाई प्रदान गरिएको संस्थाले जनाएको छ। 

उक्त अवार्ड डा. रुइतलाई आगामी फेब्रुअरीमा प्रदान गरिनेछ। अवार्डसँगै उनलाई  १० करोड अमेरिकी डलर, स्वर्णपदक र प्रमाणपत्र समेत प्रदान गरिने संस्थाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ। 

डा. सन्दुक रुइत (local buddhist association)

को हुन् डा. सन्दुक रुइत?
डा. रुइत तिलगंगा अस्पतालका संस्थापक समेत हुन्। नेपालको दुर्गम क्षेत्रमा जन्मिएका रुइतले भारतमा छात्रवृत्ति पाएर चिकित्सा शिक्षा हासिल गरेका थिए । 

रुइत अनुसन्धानको लागि अष्ट्रेलिया गएका थिए। त्यहाँ उनले प्रत्यारोपण गरिएको इन्ट्राओकुलर लेन्स प्रयोग गरी मोतीयाविन्दु माइक्रोसर्जरीमा नवीनतम प्रविधिहरूमा पूर्ण ज्ञान र सीप हासिल गरे।

३० वर्षभन्दा बढी नेज्ञ विशेषज्ञका रुपमा काम गरिसकेका उनले कम रकममै शल्यक्रिया र प्रतिगोटा तीन डलरभन्दा कम मूल्यमै पाउन सकिने उच्च गुणस्तरको इन्ट्राओकुलर लेन्सहरू निर्माण गर्ने केन्द्रहरू स्थापना गरे।

वर्षौँदेखि डा. रुइतले चीन, भारत, बंगलादेश, कम्बोडिया, उत्तर कोरियालगायत अन्य ठाउँमा आँखाशिविर सञ्चालन गरिसकेका छन्। 

डा. रुइतले ५० हजारभन्दा बढी विपन्न नागरिकका आँखाको निःशुल्क शल्यक्रिया गरिसकेका छन्।

डा. रुइतले यसअघि सन् २००६ मा रोमन म्यागसेसे पुरस्कार, सन् २०१८ मा भारत सरकारले दिने पद्मश्री सम्मानबाट सम्मान, २०७५ मा नेपालमा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र २०७७ मा सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक पाइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .