हाल (मंगलबार बिहान) देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला देशको तराई क्षेत्रका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आकाशमा बादल लागेका बेला हुस्सु/कुहिरो धेरै बेर रहँदैन। ‘आंशिकदेखि सामान्य बदलीको अवस्था भएकाले हुस्सु/कुहिरो दिनभर रहने सम्भावना छैन’, उनले भनिन्।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
बुलेटिनअनुसार राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : देशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात तथा तराईका भूभागमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
तापक्रम
आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस रहेको मौसमविद् मानन्धरले जानकारी दिइन्। तर यो तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गरिनेछ।
Shares
प्रतिक्रिया