समाज


विमान दुर्घटनामा बुढेसकालको सहारा खोसिएपछि...

विमान दुर्घटनामा बुढेसकालको सहारा खोसिएपछि...

आइतबार यतीको विमान दुर्घटना भएको स्थल सेती खोँच।


नेपालखबर
माघ ३, २०७९ मंगलबार ६:१६, रुपन्देही

बुढेसकालको एकमात्र सहारा पोखरा विमान दुर्घटनामा गुमाउनुपरेपछि तिलोत्तमा–४ डिङ्गरनगरका पदमबहादुर बुचामगर र सूर्यकुमारी बुचा सम्हालिन सकेका छैनन्। 

पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत छोरा ३६ वर्षीय डा गणेश थापाको आइतबार विमान दुर्घटनामा निधन भएपछि डिङ्गरनगरस्थित बुचा दम्पतीको घर र सिङ्गो तिलोत्तमा शोकमा छ। आफ्नी श्रीमती र छोरीलाई भेटेर आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यती एयरलाइन्सको जहाजबाट उडेका डा थापा पोखरा विमानस्थलमा ओर्लन नपाउँदै दुर्घटनामा परे।

चिकित्सकसमेत रहेकी श्रीमती रोनी महर्जन र दुई वर्षीय छोरीलाई काठमाडौँमा भटेर फर्किएका थापाको यो नै परिवारसँगको अन्तिम भेट भयो। बिदाको समयमा श्रीमती र छोरीलाई भेटेर आइतबार पोखरा फर्किँदै गरेको अवस्थामा थापा दुर्घटनामा परेका थिए। विमान दुर्घटनामा छोरा परेको खबर सुन्नासाथ पदमबहादुर र सूर्यकुमारीका आँसु रोकिएको छैन। 

बुचा दम्पतीका दुई सन्तानमध्ये डा थापा कान्छो सन्तान हुन्। थापाकी दिदी काठमाडौँमै छिन्। तिलोत्तमा–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीका अनुसार सोही वडाकै सिद्धार्थ बोर्डिङ स्कुलबाट एसएलसी गरेका थापाले बुटवलस्थित ग्लोरियस कलेजबाट प्लस टुसम्म अध्ययन गरेका थिए। 

प्लस टु अध्ययनपछि चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस र  अस्ट्रेलियाबाट एमपीएच अध्ययन पूरा गरेका थिए। केही वर्ष मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा काम गरेपछि उनी पछिल्लो केही वर्षयता ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत थिए।

बुबा पदमबहादुर र आमा सूर्यकुमारीले छोरालाई डाक्टर बनाउने सपना पूरा भएको खुसी धेरै वर्ष टिक्न पाएन। छोरालाई डाक्टर बनाउन सानो खर्चले नपुग्ने भएपछि थापाका बुबा पदम वैदेशिक रोजगारीका लागि जर्मनीसमेत गएका थिए। छोरा चिकित्सक बनेपछि भने उनी वैदेशिक रोजगारीबाट फर्किएर घरमै बसेका थिए। छोराको कमाइ खाएर आराम गर्ने समयमा बुचा दम्पतीको परिवारमा बज्रपात परेको छ। एकमात्र छोरा गुमाउनुपर्दाको खबर आमा सूर्यकुमारीले अझै पत्याउन सकेकी छैनन्।

डा थापाकी धर्मपत्नी र दुई वर्षीया छोरी काठमाडौँमै रहेकाले बुबा पदम र आमा सूर्यकुमारी आफन्तीसँग काठमाडौँ पुगेका छन्। विमान दुर्घटनामा निधन भएकाहरूको शव साेमबार काठमाडौँ ल्याइने भएकाले उनीहरू काठमाडौँ गएको वडाध्यक्ष क्षेत्रीले बताए। उनका अनुसार डा थापाको शव अन्तिम संस्कारका लागि तिलोत्तमा ल्याउने तयारी छ। 

माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाइन एन–एनएसी’ ६९१ उडानको एटीआर ७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटना भएको थियो। विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad