ad ad

समाज


माघे संक्रान्ती पर्व मनाइयो, थारु र मगर समुदायमा विशेष रौनक

माघे संक्रान्ती पर्व मनाइयो, थारु र मगर समुदायमा विशेष रौनक

तस्बिर : रासस


नेपालखबर
माघ १, २०७९ आइतबार १७:११, काठमाडौँ

आज देशभर माघे संक्रान्ती पर्व मनाइएको छ।
मगर समुदायको मुख्य पर्व माघे संक्रान्ती पर्व आज देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाइएको हो। यस पर्वलाई मगरहरुले आफ्नो नयाँ वर्षको रुपमा मनाउने गरेका छन्।

मगर समुदायले आफ्ना पितृहरुलाई सम्मान गर्ने, प्रकृतिलाई पुज्ने र आफ्ना चेलीहरुलाई पुज्दै पारिवारिक रुपमा हर्षोल्लासका साथ यो पर्व मनाउने गरेका छन्। काठमाडौंमा नेपाल मगर संघ केन्द्रिय समितिको आयोजनामा ३ दिने राष्ट्रिय सांस्कृतिक महोत्सवको आयोजना गरि माघे संक्रान्ती पर्व मनाइँदै छ।

काठमाडौंको टुँडिखेलमा भएको सो महोत्सवमा देशभरबाट मगर समुदायको प्रतिनिधित्व रहेको छ। आ–आफ्नो भेषभुषा तथा गरगहनामा सजिएका व्यक्तिहरुले महोत्सवमा रौनकता थपेका छन्। साथै महोत्सवमा मगर समुदायको आ–आफ्नो मौलिक परिकारहरुको प्रदर्शनी तथा बिक्री वितरण भएको छ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपाल मगर संघ महासचिव टेकबहादुर मगरले मगर समुदायको मौलिक संस्कार तथा संस्कृतिहरुको संरक्षण र संवद्र्धन गर्दै पुस्तान्तरण गर्नका लागि महोत्सवको आयोजना गरिएको बताए।

उनले सरकारले देशका सबै जातजातिहरुको संस्कृतिलाई राष्ट्रिय संस्कृतिको रुपमा सूचिकृत गर्नुपर्ने बताए। सम्बन्धित समुदायले मात्रै संरक्षण गर्न चाहेर सम्भव नहुने भन्दै उनले संस्कृतिहरुको संरक्षणका लागि राज्यको ध्यानाकर्षण गराए।

उनले देशलाई आर्थिक रुपमा समृद्ध बनाउना लागि पनि मगर लागयत देशका सबै जातजातिको संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिए। माघे सक्रान्तीको अवसरमा मगर समुदाय लगायत अन्य समुदायले पनि एक–आपसमा शुभकामना साटासाट गरेर सो पर्व मनाइरहेका छन्।

थारु समुदायले मनाए माघी पर्व 
आज देशभरका थारु समुदायले माघी पर्व मनाएका छन्। थारु समुदायले आजको दिनलाई नयाँ वर्षको दिनको रुपमा पनि मनाउने गरेको छ। 

यस दिनमा ठूलाबडासँग आशिर्वाद लिने, मुखिया चुन्ने र नयाँ सोचका साथमा आगामी दिन बिताउने कामनासहित मिठोमसिनो खाँदै मनाउने गरिन्छ। पुस मसान्तको दिन सुँगुर/बँगुर जिता मार्ने, आगोको धुनि बाल्दै डफ र मादल सँगै धुमरी गाउँदै रातभर जाग्राम बस्ने चलन छ भने माघी पर्वको दिनमा बिहान सबेरै नजिकैको नदी तथा तालतलैयामा स्थान गरिन्छ। 

स्नानपश्चात पूजा र भाकल गरे सन्तान सुख प्राप्ति र मनोकांक्षा पूरा हुने विश्वास छ। यस दिनमा थारु समुदायले ढिक्री, अण्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, अन्डी जाँडको झोल, सखरखण्ड, खरिया, सुँगुर/बँगुरको मासु, परेवाको मासु, माछा, घोंघी, गंगटो आदि परिकारहरु खाएर रमाइलो गरिन्छ। 

माघी पर्वको अवसरमा काठमाडौंको टुडिखेलमा थारु राष्ट्रिय माघी महोत्सवको आयोजना गरी मनाइएको छ। पुस मसान्तदेखि शुरु भएको सो महोत्सवमा थारुहरुको मौलिक पहिचान झल्कने भेषभुषासहित सो समुदाय उपस्थित भएको देख्न सकिन्छ भने मौलिक नाचगान पनि देख्न सकिन्छ। साथै महोत्सवमा मौलिक प्रकारका परिकारहरुको प्रदर्शनी तथा बिक्री वितरण पनि भइरहेको छ। 

थारु राष्ट्रिय माघी महोत्सव मुल आयोजक समितिका सदस्य तथा आर्थिक विभाग प्रमुख चन्द्रप्रसाद चौधरीले माघी महोत्सव उत्साहपूर्ण रुपमा चलिरहेको बताए। उनले थारु समुदायले थारु सम्वत २६४६ नयाँ वर्षको रुपमा यस पर्वलाई मनाएको बताए।

उनले पछिल्लो पुस्ताहरुलाई पनि थारु समुदायको संस्कार, संस्कृति र रितिरिवाजहरुलाई पुस्तान्तरण गर्नु आवश्यक रहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .