ad ad

समाज


काठमाडौं विश्वविद्यालयबाट १८६ विदेशीसहित १ हजार ६९९ विद्यार्थी दीक्षित

विश्वविद्यालयहरु राजनीतिबाट मुक्त हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौं विश्वविद्यालयबाट १८६ विदेशीसहित १ हजार ६९९ विद्यार्थी दीक्षित

नेपालखबर
मंसिर २९, २०७९ बिहिबार १६:११, काठमाडौँ

प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन्।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौं विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशिल, सिर्जनशील र क्षमतावान जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउँदै आएको बताए।

‘विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उनहरुमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पुर्याउने पवित्र शैक्षिक केन्द्र हो’, उनले भने, ‘विश्वविद्यालयहरु राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्दछ।’

नेपालका उच्च शिक्षाको क्षेत्रमा काठमाडौं विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको बताउँदै उनले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभइ विदेशमा पनि महत्वपूर्ण संस्थामा आवद्ध भई उत्कृष्ट सेवा पुर्याउँदै आउनु सबैका लागि गर्वको विषय भएको उनले बताए। 

उनले काठमाडौँ विश्वविद्यालयका विभिन्न सङ्कायमा दीक्षित भएका विद्यार्थीलाई बधाई व्यक्त गरेका छन्। भविष्वयमा भौतिक तथा प्राज्ञिक विकासका लागि निरन्तर सहयोग प्राप्त हुने उनले अपेक्षा व्यक्त गरेका हुन्।

सो क्रममा उनले काठमाडौं विश्वविद्यालयबाट पहिलो पटक ‘मास्टर्स अफ इन्जिनियरिङ इन सेनिटेसन टेक्नोलोजीमा छ जना र मास्टर्स अफ साइन्स सेटिटेसन टेक्नोलोजीमा एक जना गरी सात जनालाई उपाधि प्रदान गरेका छन्।

एक हजार ६९९ विद्यार्थी दीक्षित
काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विभिन्न सङ्कायका स्नातक, स्नातकोत्तर र विद्यावारीधिका गरी एक हजार छ सय ९९ जना विद्यार्थी दीक्षित भएका छन्। 

प्रधानमन्त्री तथा कूलपति शेरबहादुर देउवाको अध्यक्षता तथा वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्य एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकूलपति देवेन्द्र पौडेलको उपस्थितिमा पहिलो चरणको समारोहमा मानविकी, शिक्षा, इन्जिनियरिङ, कानून, व्यवस्थापन, स्वास्थ्य विज्ञान र विज्ञान विधाका ८ जना विद्यावारिधि, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका गरी एक हजार छ सय ६ जनासहित एक हजार छ सय ९९ जना विद्यार्थी दीक्षित भएको काठमाडौं विश्वविद्यालयले जनाएको छ। 

विश्वविद्यालयका अनुसार मानविकीका दुई सय २०, शिक्षाका दुई सय दुई, इञ्जिनियरिङका २६, कानूनका ४० जना, व्यवस्थापनका चार सय ५२, स्वास्थ्य विज्ञानका सात सय १२ जना र विज्ञान संकायका ३७ जना विद्यार्थी दीक्षित भएका छन्। 

दीक्षित हुने विद्यार्थीमध्ये सात सय ३४ जना पुरुष र नौ सय ६५ जना महिला छन्। दीक्षित हुनेमा अस्ट्रिया, क्यानडा, चीन, जर्मनी, भारत, इटाली, माल्दिभ्स पोर्चुगल, रूस, सिङ्गापुर, स्पेन, श्रीलङ्गा, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका एक सय ८६ जना विदेशी विद्यार्थी समेत रहेको विश्वविद्यालयले जनाएको छ। यस विश्वविद्यालयबाट ४० हजार ३५ जना उत्तीर्ण भइसकेका छन्। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .