समाज


पुरानो ढाँचाका पुरानै घर खोज्दै पोखरा महानगर

पुरानो ढाँचाका पुरानै घर खोज्दै पोखरा महानगर

वाशुदेव मिश्र
असार १०, २०७६ मंगलबार १४:११,

कुनै बेला पोखराको रामकृष्णटोलदेखि विन्ध्यवासिनीसम्म पुराना शैलीका कलात्मक घरहरु थिए। पोखरा आउने पर्यटकहरु लेकसाइड बस्थे। बिहान उनीहरु र यहाँको सृजनाचोक, बगालेटोलहुँदे विन्ध्यवासिनीतिर पैदलै उक्लन्थे।

जब पुराना घर आउँथे, उनीहरु क्यामेरा खिचिक्क खिचिक्क पार्थे। तर, समय बदलियो। रामकृष्णटोल, गणेशटोल, भैरवटोल, मोहोरियाटोल क्षेत्रमा भएका रैथानेहरुले आफ्नो पुरानो घर भत्काएर नयाँ बनाउन थाले। नेवारहरुको त्यो बस्तीबाट व्यापार पनि शहरको अरु भागमा स-यो। पुरानो टोललाई जिवन्त राख्ने अभियान सुरु गर्ने भनिए पनि कार्यान्वयमा आउन सकेन।

पुराना घरहरु संरक्षण्मा कसैले चासो दिएनन्। न त तालुकदार पोखरा महानगरले नै ति सम्पदा संरक्षण गर्नुपर्छ भन्ने सोच्यो। अहिले सो क्षेत्रमा मुस्किलले केही पुराना घर बचेका छन्। नेपालीको उखानै छ नि,........ दैलो देख्यो!

pokhara2

साँस्कृतिक सम्पदा र पुरातात्विक संरचनाको महत्व कति हुन्छ भन्ने पोखरा महानगरले बुझ्न थालेको छ। महानगरले मंगलबार आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै कसैले पुरातात्विक महत्वका पुराना घर पुरानै शैलीमा बनाए ५० प्रतिशत राजश्व छुट दिने घोषणा गरेको छ। तर, स्थानीय बासिन्दा महानगरको यो घोषणाबाट खुसी छैनन्।

‘हामीले बढो जतनले पुराना घर संरक्षण गरेर महानगरको इज्जत जोगाइदिएका छौँ, अब त्यस्ता घरहरुलाई सहुलियत र संरक्षणमा योगदान दिनुको सट्टा राजश्व छुटको कुरा गर्नु भनेको झारा टार्ने काम हो’, पोखराको गणेशटोलका कैलाश पालिखेले भने,‘ महानगरले यहाँको सम्पदा संरक्षण गर्न धेरै ढिला गरिसक्यो, कर छुटले मात्र सम्पदा संरक्षण हुँदैन।’

अहिले पोखरा महानगर क्षेत्रमा आधुनिक र अग्ला घर बनाउने लहर चलेको छ। ती घरहरु मापडण्ड अनुसारका पनि छैनन्। न त ती घरहरुको कुनै साँस्कृतिक महत्व नै छ। मापडण्ड विपरित बनेका घरहरुलाई भने महानगरले घुमाउरो बाटोबाट वैधानिकता दिन खोजेको छ।

महानगरका मेयर मानबहादुर जिसीले पर्यटकीय क्षेत्रमा बन्ने भवनको नक्सापासमा ५० प्रतिशत राजश्व छुट, महानगरका केही निश्चित क्षेत्रमा अण्डरग्राउण्ड पार्किङसहित घर बनाए एकतला सम्मको कर छुटलगायतका केही योजना समेत अगाडि सारेका छन्।

महानगरले आउँदो आर्थिक वर्षको लागि ७ अर्व ५४ लाख रुपैयाँको बजेट प्रश्तुत गरेको छ। चालूतर्फ २ अर्व १५ करोड ५४ लाख र पूँजीगत तर्फ ४ अर्व ७० करोड ९९ लाख तथा सांसद विकास कोष मार्फत १४ करोड र विभिन्न कोषहरुमा ४० करोड रुपैयाँ विनियोजन गरेको छ।

महानगरले खर्चको स्रोततर्फ संघ सरकारबाट ३ अर्व ३३ करोड ७८ लाख, गण्डकी प्रदेश सरकारको ४७ करोड ९६ लाख रुपैयाँ अनुदान पाएको छ भने २ अर्व ५० करोड रुपैयाँ आन्तरीक आम्दानी गर्ने अनुमान छ।

यसबाहेक, १० करोड रुपैयाँ वैदेशिक अनुदान लिने, ३६ करोड रुपैयाँ जनसहभागिताबाट उठाउने र चालू बर्षको २२ करोड रुपैयाँ अख्तियारी सारेर लैजाने महानगरले जनाएको छ। महानगरले सबै वडाहहरुलाई सडक संजालले जोड्न बढी बजेट विनियोजन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .