राजनीति


‘स्वतन्त्र तिब्बत’ कार्यक्रममा सहभागी सा‌ंसद यादव पार्टीबाट निलम्बित

‘स्वतन्त्र तिब्बत’ कार्यक्रममा सहभागी सा‌ंसद यादव पार्टीबाट निलम्बित

नेपालखबर
असार १०, २०७६ मंगलबार १४:२,

स्वतन्त्र तिब्बत पक्षधरहरुले आयोजना गरेको कार्यक्रममा भाग लिन गएका समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादव पार्टीबाट निलम्बनमा परेका छन्।

पर्सा–१ बाट तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित सांसद गत बैशाख अन्तिम साता लाटभियामा भएको कार्यक्रमका लागि त्यहाँ पुगेका थिए।

राजधानी रिगामा बैशाख २४–२७ मा आयोजना गरिएको इन्टरनेसनल पार्लियामेन्टेरियन प्रोग्राम (आइपीपी) मा भाग लिन गएका सांसद यादवलाई फर्केपछि पार्टीले स्पष्टिकरण सोधेको थियो।

सांसद यादवका साथमा अर्काे मधेशवादी दल राष्ट्रिय जनता पार्टीका सांसद एकवाल मियाँपनि सहभागी थिए।

फर्केपछि यादवले सो कार्यक्रमबारे पर्याप्त जानकारी विना नै रिगा पुगेको र वास्तविकताबारे जानकारी पाएपछि कार्यक्रममा सहभागी नभई फर्केको दावी गरेका थिए।

‘एक चीन नीति’ अँगाल्दै आएको नेपालको सत्तारुढ दलका सांसद स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी हुन रिगा गएको सार्वजनिक भएपछि चीन असन्तुष्ट बन्न सक्ने मध्यनजर गर्दै उपप्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष उपेन्द्र यादवले १ जेठमा विज्ञप्ती जारी गरी फोरम ‘एक चीन नीतिप्रति प्रतिबद्ध रहेको’ प्रष्टिकरण दिएका थिए। साथै, चीनविरोधी गतिविधिको विपक्षमा रहेको पनि बताएका थिए।

स्रोतका अनुसार, फोरम–नयाँशक्तिसँग एकता भएपछि बनेको समाजवादी पार्टी नेपालको आइतबारको बैठकमा पनि यस विषयले प्रवेश पाएको थियो। सो बैठकले पार्टी सदस्यताबाट सांसद यादवलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो।

सांसद यादवले भने पार्टीले गरेकाे कारबाहीबारे अनभिज्ञता प्रकट गरे। आफूले कारबाहीकाे पत्र नपाएकाले त्यसबारे केही भन्न नसक्ने उनकाे प्रतिकृया थियाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .