सम्पदा क्षेत्र अवलोकन गर्न 'विशेष बस' चलाइने भएको छ। काठमाडौँ उपत्यकाका सम्पदा क्षेत्रको अवलोकन गर्न आउने पर्यटकका लागि ‘होप अन होप अफ’ सिटी बस सञ्चालन गर्न लागिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अघि सारेको पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत सिटी बस सञ्चालन तयारी गरिएको हो।
पहिलो चरणमा साझा यातायातका पाँचवटा विजुली बस हरेक आधा घण्टामा पाटन, काठमाडौं दरबार, पशुपति, बौद्ध र स्वयम्भू पुग्नेछन्।
भविष्यमा भक्तपुर दरबार क्षेत्र र चाँगुनारायणसम्म लैजाने योजना छ। पर्यटकले बसको एउटा टिकट लिएपछि दिनभर होप अन होप अफका जुनसुकै बस चढ्न पाउनेछन्।
करिब ३० किलोमिटर लामो पूरा यात्रा गर्न तीन घण्टा लाग्नेछ। आगामी अंग्रेजी नयाँ वर्षदेखि सिटी बस सञ्चालन गरिने मन्त्री श्रेष्ठले बताए।
सिटी बस प्रभावकारी रुपमा सञ्चालनबारे सरोकारवालासँग आइतवार मन्त्रालयमा छलफल भएको छ।
छलफलमा साझा यातायातका संचालक, व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरी लगायत सरोकारवालाको उपस्थिति थियो।
मन्त्री श्रेष्ठले काठमाडौँका सांस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरूलाई सम्पदा क्षेत्र अवलोकनमा सार्वजनिक सवारी सहज बनाउन ‘होप अन हप अफ’ बस सञ्चालनको अवधारणा ल्याएका हुन्।
पर्यटकलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुँदा हैरानी खेप्नुपरेको गुनासो आउने गरेको छ।
काठमाडौँका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा बस सञ्चालन भएपछि पर्यटकहरू केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन्।
Shares

प्रतिक्रिया