ad ad

समाज


अर्घाखाँचीका तीन पालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू

अर्घाखाँचीका तीन पालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू

प्रकाश न्यौपाने
पुस २, २०७६ बुधबार ११:५,

प्रदेश ५ को अर्घाखाँची जिल्लाका तीनवटा गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ। जिल्लामा ६ स्थानीय तहमध्ये तीन वटा गाउँपालिका छन्। यी तीन वटै पालिकामा प्रदेश सरकारले ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू गरेको हो। कार्यक्रमका लागि प्रत्येक गाउँपालिकामा प्रदेश सरकारले ५२ लाखका दरले १ करोड ५६ लाख बजेट बिनियोजन गरेको छ।

‘विशेषगरी अतिविपन्न, दलित तथा पछाडी परेका समुदाय एवम् वर्गलाई समेट्ने गरी कार्यक्रम लागू गरिएको हो’, प्रदेशसभा सदस्य चेतनारायण आचार्यले भने। पाणिनी, छत्रदेब र मालारानी गाउँपालिकामा कार्यक्रम लागू गरिएको हो। आर्थिक तथा सामाजिक सूचकका आधारमा यी पालिकामा कार्यक्रम कार्यान्वयन गरिएको छ।

‘समुदाय, घरपरिवार तथा व्यक्तिको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनका अवसर तथा सामाजिक संरक्षणका कार्यक्रममार्फत जीवनस्तर सुधार गरी गरीबी निवारण गर्ने गरि कार्यक्रमहरु तय गरिएको छ’, कार्यक्रम सहजकर्ता भरत न्यौपानेले भने।

कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले तीन शीर्षकअन्तर्गत रहेर कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान बनाइएको छ। कार्यक्रमले लक्षित वर्गका रूपमा गरीबीको समस्याबाट गुज्रिएका घरपरिवार, असहाय, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिका घरपरिवार, दलित, पिछडिएका समुदाय तथा सुरक्षित बसोबास नभएका परिवार, कुनै प्रकोप तथा घटनाबाट घरबारविहीन बनेका परिवारलाई समेटिने छ।

शिक्षा, स्वास्थ्य तथा क्षमता विकासअन्तर्गत विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराउने, लक्षित समूहका विद्यालय भर्ना भएका बालबालिकालाई विद्यालय छोड्नबाट रोक्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने, प्राविधिक शिक्षा तथा सीपमूलक तालिम सञ्चालन गर्ने, निःशुल्क बीमा तथा निःशुल्क स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिने छ। यसैगरी रोजगारी तथा स्वरोजगार सिर्जना तथा आयआर्जन अभिवृद्धिका कार्यक्रमअन्तर्गत कृषि तथा पशुपालनसम्बन्धी कार्यक्रम, घरेलु उद्योग सञ्चालनसम्बन्धी कार्यक्रम र अन्य आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने छ।

यस्तै, राहत पुनस्र्थापना र सामाजिक संरक्षणसम्बन्धी कार्यक्रममा असहाय, अशक्त, अपाङ्गता भएका व्यक्तिको पुनस्र्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, प्रकोप तथा घटनाबाट घरबारविहीन बनेका परिवारलाई सहयोग गर्ने र सामाजिक संरक्षणसम्बन्धी अन्य कार्यक्रमहरू सञ्चालन हुनेछन्। कार्यक्रम सञ्चालन गर्न जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा जिल्ला व्यवस्थापन तथा समन्वय समिति र सम्बन्धित गाउँपालिकामा गाउँपालिका प्रमुखको संयोजकत्वमा कार्यक्रम सिफारिस तथा कार्यान्वयन समिति गठन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .