समाज


दिउँसो ज्याला मजदुरी, राति अध्ययन

दिउँसो ज्याला मजदुरी, राति अध्ययन

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार ७:२२, काठमाडौँ

विराटनगर–२ मा रहेको श्री विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा सम्भ्रान्त परिवारका विद्यार्थी अध्ययन गर्दैनन्। दिउँसो ज्याला मजदुरी गरेर पेट पाल्ने, घरमा घरेलु कामदारका रूपमा काम गर्ने र उद्योगमा मजदुरका रूपमा काम गर्नेहरू नै यस विद्यालयका विद्यार्थी हुन्। विद्यालयमा साँझ ५ बजेदेखि रातिको ९ बजेसम्म पठनपाठन हुने गरेको छ। 

कक्षा ५ देखि १० सम्म पढाइ हुने यो रात्रि विद्यालयमा अधिकतर विद्यार्थी १६ वर्षदेखि माथि ५५ वर्षसम्मका छन्। चौहत्तर जना विद्यार्थी रहेको यो विद्यालयमा ४६ वर्षीया रीना लिम्बू कक्षा १० अध्ययनरत छन्। 

लिम्बूका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा कतारमा छन्। लिम्बूले दिउँसो सानोतिनो काम गर्छिन् भने छोराछोरीको स्याहारसुसार गर्नुपर्ने बाध्यता पनि छ। विराटनगर–४ खारजी बस्ने लिम्बूको पढ्ने सोखमा भने कुनै कमी आएन। सङ्खुवासभाको चैनपुरबाट विवाह भई २०५२ सालमा बसाइँसराइ गरी विराटनगर आएपछि लिम्बूले अध्ययनलाई अगाडि बढाउन पाइनन्। 

तर दुई वर्षअघि लिम्बूलाई पुनः पढ्ने रहर चढ्यो र यस रात्रि विद्यालयमा कक्षा ८ मा भर्ना भइन्। लिम्बुले उच्च शिक्षा हासिल गर्ने मन बनाएकी छन्। 

रात्रि विद्यालयमा कतिपयले भर्ना लिए पनि विभिन्न समस्या र बाध्यताका कारण बीचैमा अध्ययन छाड्ने गरेको विद्यालयकी प्राचार्य दुर्गा निरौलाले बताइन्। उनका अनुसार फुर्सद पाएपछि श्रमिक महिला र पुरूषहरू रातको समयमा विद्यालयमा पढ्न आउने गर्छन्। रात्रि विद्यालयमा पढेका विद्यार्थी कोही सरकारी कर्मचारी भएको र कोही सशस्त्र प्रहरीमा भर्ना भई कैयौँका लागि प्रेरणाको स्रोत बनेको प्राचार्य निरौलाले बताइन्। 

रात्रि विद्यालयका समस्या पनि प्रशस्तै छन्। विद्यालयमा चौकीदारको व्यवस्था नहुँदा रातको समयमा असामाजिक तत्वले बाधा पुर्‍याउने खतरा उत्तिकै छ। एक त विद्यालयमा बत्ती पुगेको छैन, त्यसमाथि भएको इन्भर्टर पनि बिग्रिँदा विद्युत् अवरोध भए असमयमा नै बिदा दिनुपर्ने अवस्था छ। विद्यालयसँग आफ्नै सवारीसाधन नहुँदा महिला विद्यार्थी र शिक्षक कर्मचारीलाई रातको समयमा रात्रि विद्यालय आउजाउ गर्न सकस छ। 

सहायक प्राचार्य खुसीराज गौतमले दिउँसो कामका कारण पढ्न नपाएकाहरूका लागि विद्यालयले रातको समयमा पढ्ने अवसर जुराइदिएको बताए। खाने मुखलाई जुँगाले छेक्न सक्दैन भनेझैँ इच्छा भए रातको समयमा पनि विद्या प्रदान गर्न यो विद्यालय २०१५ सालदेखि अडिग छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad