समाज


चाडमा संकटपूर्ण अवस्थामा रहेका शरणार्थीलाई सहयोग अभाव

चाडमा संकटपूर्ण अवस्थामा रहेका शरणार्थीलाई सहयोग अभाव

नेपालखबर
कात्तिक १०, २०७९ बिहिबार १८:२३, काठमाडौँ

संयुक्त राष्ट्रसंघले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ। पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका संकटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै संकटपूर्ण रहेको जनाइएको छ।

चाडमा पाँच लाख ७५ हजारभन्दा बढी शरणार्थी रहेका र उनीहरुलाई सहयोग नपुगेको संयुक्त राष्ट्रसंघीय प्रवक्ताले जनाएका छन्। उनका अनुसार यहाँ हरेक दिन शरणार्थीहरु बढ्ने क्रम जारी रहेको छ।   

संयुक्त राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले चाडमा रहेका शरणार्थीको अवस्था नाजुक रहेको भन्दै सहयोगका लागि सबैसँग अपिल गरेका हुन्। उनले चाडमा सन् २०२० को तुलनामा यसवर्ष शरणार्थी बढेर दोब्बर पुगेका पनि बताएका छन्।

संयुक्त राष्ट्रसंघले हालैमात्र सरकारहरुले राखेका तथ्यांकमा भन्दा पनि बढी शरणार्थीहरु अफ्रिकी देशहरुमा रहेका र उनीहरुको समस्या समाधानका लागि ठोस पहल हुन नसकेको बताएको एक दिनपछि आज प्रवक्ता डुजारिकको सो प्रतिक्रिया आएको हो।

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता डुजारिकले यहाँ पछिल्ला दिनहरुमा शरणार्थी बढ्दै गएका भए पनि संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमले आवश्यकताको १० प्रतिशत मात्र सहयोगको तयारी गरेको बताएका हुन्।

उता हाल देखा परिरहेका शरणार्थीहरुमा पनि आगामी दिनमा उक्त संख्या थप बढ्ने चेतावनी पनि संयुक्त राष्ट्रसंघले दिएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले अफ्रिकी देशहरुमा शरणार्थीहरुको संख्या बढ्दै गएसँगै कतिपय स्थानमा उनीहरुको अवस्था थप अज्ञात तथा नाजुक बन्दै गएको बताएका छन्।

सोमालियमा मात्र यसवर्ष कम्तीमा दश लाख नागरिक खडेरीका कारण विस्थापित भएका तथ्यांक संयुक्त राष्ट्रसंघसँग रहेको छ। सोमालियामा नै आन्तरिक राजनीतिक विवाद र हिंसाका कारण विस्थापित भएकाहरुको संख्या कम्तीमा पनि पाँच लाख रहेको छ।

पछिल्ला केही वर्षयतादेखि चाड बाढी र पहिरोबाट बढी मात्रामा पीडित भएको छ। केही वर्षयताको बाढीबाट चाड प्रभावित भएको र यहाँका नागरिक लाखौँको संख्यामा विस्थापित भएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad