विवाह मण्डपमा बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि झापामा बेहुला पक्षले बेहुलीको परिवारलाई ४ लाख रुपैयाँ जरिबाना तिरेका छन्।
बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका ७ का सुवेदी थरका एक युवकबीच वैवाहिक कार्यक्रम चल्दै थियो। यो मंसिर २९ गते दिउँसोको घटना हो।
वैवाहिक कार्यक्रमअनुसार बेहुलाले बेहुलीलाई सिन्दुर हाल्ने बेलामा बेहुलाको हात नचलेपछि बेहुली पक्षले विवाह अस्वीकार गरेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार सिन्दुर हाल्नेबेलामा बेहुलाको हात नचलेपछि विवाह मण्डपमै खैलाबैला मच्चिएको थियो।
बेहुली पक्षले जन्ती चढेर आएको गाडी नै तोडफोड गर्न खोजेपछि विवाह घरमै पुगेर प्रहरीले सुरक्षा दिएको थियो।
बेहुला पक्षले बेहुली पक्षलाई झुक्याएर विवाह गरेको भन्दै विवाद उत्पन्न भयो। बेहुलाको हात नचलेपछि उनी शारीरिक अपाङ्गता भएको व्यक्ति रहेको भन्दै बेहुली पक्षले बेहुलाबाट ४ लाख रुपैयाँ जरिबाना लिएका छन्।
जसका लागि बुद्धशान्ति गाउँपालिकाकी उपप्रमुख मीर भुर्तेलसहितको टोलीले विवाद समाधानका लागि पहल गरेको प्रहरीले जनाएको छ।
बेहुलाले आफू डाक्टर भएको भन्दै बेलुही पक्षलाई विवाहका लागि प्रस्ताव राखेको र उनी डाक्टर नभइ निजी अस्पतालमा कार्यरत कर्मचारी रहेको खुलेको छ।
बेहुली पक्षले विवाहका लागि गरेको खर्चको माग बेहुला पक्षसँग गरेपछि उपाध्यक्ष भुर्तेलले सहजीकरण गरेकी थिइन्।
छलफलपछि बेहुली पक्षले बेहुला पक्षसँग ४ लाख रुपैयाँ क्षतिपुर्ती लिएका हुन्।
‘समाज बसेर विवाहमा भएको खर्चको हिसाब गरेको हो, यसमा गाउँपालिकाको कुनै हात छैन। विवाहको कुरा छिनेपछि बेहुला र बेहुली दुवै पक्षले सहमतिमै टीकाटाला नगरी एकै पटक विवाहका लागि राजी भएको देखिन्छ,’ उपाध्यक्ष भुर्तेलले भनिन्।
यसअघि पनि बुद्धशान्ति गाउँपालिकामा एक व्यक्तिको विवाह हुँदा यस्तै घटना घटेको थियो। विवाहलगत्तै बेहुलीलाई छाडेर बेहुला भाग्दा समाजले बेहुलीको परिवारलाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको थियो।
Shares

प्रतिक्रिया