समाज


मेलम्चीको पानी यही महिना काठमाडौँ ल्याउने तयारी

मेलम्चीको पानी यही महिना काठमाडौँ ल्याउने तयारी

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १४:४०, काठमाडौँ

मेलम्ची खानेपानी विकास समितिले यही महिनाभित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ। पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ।

आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए। 

स्थायी समाधान नहुँदासम्म वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेरै ल्याउनुपर्ने अवस्था छ। गत वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा असारदेखि रोकिएको थियो। उनले भने, ‘यो वर्ष आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिनेछ।’

वर्षा सकिएकाले अस्थायी रुपमा पानी चलाउन सडक र पुल मर्मत भइरहेको छ। यस वर्ष हेडवर्कको डाइभर्सन सुरुङ, अम्बाथान अडिट सुरुङमा नदीजन्य कुरा जान नदिन पहिले नै फलामको ढोका लगाएर बन्द गरियो। यो वर्ष सुरुङमा समस्या नभएको अनुमान छ।

उनले भने, ‘सुरुङ सफा गर्न पर्दैन र हेडवर्कसम्म सडक पुगेमा चाँडै पानी ल्याउन सकिन्छ भन्ने लागेको छ।”

गत वर्ष वर्षाले आयोजना, आयोजनासम्म पुग्ने सडक र पुलमा ठूलो क्षति पुर्‍यायो। तुलनात्मक रुपमा यो वर्ष संरचनामा कम क्षति पुगेको अनुमान छ। गेट नम्बर १ सफा गरेर चाँडै पानी पथान्तरण गर्न सकिने उनले बताए। 

त्यहाँका संरचना सफा गर्नु पर्दैन भन्ने अनुमान गरेपनि त्यहाँ पुगेपछि संरचनाको अवस्था थाहा हुने प्रवक्ता पन्तले बताए।

गत वर्ष नदीको तिरैतिर डोजरले सम्याएर सडक बनाइएपनि बाढीले त्यसलाई बगाएको छ। अब त्यसरी नै नदी नजिकैबाटै अस्थायी रुपमा भए पनि पहुँच सडक बनाइने छ। 

कार्ययोजनामा सुरुङ चलाएपछि हरेक वर्ष साधारण निरीक्षण गर्ने र पाँचपाँच वर्षमा मर्मत गर्नुपर्ने हुनसक्छ भन्ने उल्लेख छ। सोहीअनुसार नै अहिले निरीक्षण गरिएको र त्यसमा सामान्य सुधार आवश्यक रहेको पाइएकाले त्यसलाई सुरु गरिएको छ।

आयोजनाको दीर्घकालीन रुपमा मर्मत गर्न एसियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो। त्यसको अन्तिम प्रतिवेदन डिसेम्बरसम्ममा आएपछि नै योजनाबद्ध रुपमा मर्मत र सुधारको काम अघि बढाउन सकिनेछ। अन्तिम प्रतिवेदनका आधारमा कसरी गर्ने भनेर योजना बनाइनेछ। उनले भने, ‘पुल, सडक र संरचना बनाउँदा कसकसले कसरी बनाउने भनी निर्णय हुनेछ र त्यसअनुसार काम अघि बढाइनेछ।”

दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाबाट विसं २०७७ फागुनमा पहिलोपटक पानी काठमाडौँ ल्याइएको थियो। पानी पथान्तरण गरेको केही महिनामा नै अर्थात् विसं २०७८ असार १ गते आएको वर्षाले आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो। आयोजना निरीक्षणका क्रममा आयोजनाका दुई कर्मचारीको मृत्यु भएको थियो। 

सोही वर्ष कात्तिकमा आएको वर्षाले आयोजनामा थप क्षति पुर्‍यायो। सरकारले अस्थायीरुपमा पहुँचमार्ग निर्माण गरेर गत वैशाखमा पुनः पानी पथान्तरण गरेको थियो। झण्डै दुई महिना पानी उपत्यकामा ल्याइएको भए पनि वर्षाले थप क्षति हुन नदिन त्यसभन्दा पहिले नै पानी ल्याउन रोकेको थियो।

काठमाडौँ उपत्यकावासीको लामो प्रतिक्षापछि मेलम्चीको पानी ल्याएर वितरण सुरु भए पनि अझै बाह्रै महिना वितरण गर्नसक्ने अवस्था छैन। विसं २०७७ असारमा आयोजनाको माथिल्लो भागमा बाढी र पहिरो आउँदा त्यस क्षेत्रमा नै ठूलो असर पुगेको छ। त्यहाँको भौगर्भिक अध्ययन सकिएपछि मात्रै त्यहाँको स्थायी समाधानमा लाग्न सकिने अवस्था छ।

आयोजनाका जम्माजम्मी कामलाई हेडवर्क, सुरुङमार्ग र प्रशोधन केन्द्र गरी तीन भागमा विभाजन गरिएको छ। यसमध्ये हेडवर्क र सुरुङमार्गको निर्माण एउटै कम्पनी र प्रशोधन केन्द्र निर्माण दुई कम्पनीले गरेका हुन्। सुरुङमार्ग र पानी प्रशोधन केन्द्र सम्पन्न भइसकेको छ। ‘हेडवर्क’ सम्पन्न नहुँदै बाढीले क्षति पुर्‍याएको थियो।

सरकारले विसं २०५६ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेको थियो। आयोजना निर्माणका लागि एडिबीले सन् २००१ मा सम्झौता गरेको थियो। इटालियाली कम्पनी सिएमसी फिर्ता भएको झण्डै पाँच महिनापछि चिनियाँ कम्पनी सिनो हाइड्रोले बाँकी निर्माणका काम सुरु गर्‍यो। दुई वर्ष कोभिडले निर्माणमा अवरोध पुग्यो भने वर्षाले बनिसकेका संरचनामा क्षति पुर्‍यायो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad