नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तीकारीनिकट ट्रेड युनियन महासंघले मजदुरको हकहीतका लागि २२ बुँदे माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले मजदुरको हकहितका लागि २२ बुँदे माग राखि सम्बधित निकायहरुको ध्यानाकर्षण गराएको हो।
महासंघले श्रम ऐनको धारा १०२ मा उल्लेखित सिण्डकेट प्रणाली खारेज गरी सर्वपक्षिय श्रमीकको प्रतिनिधित्व सुनिश्चित गर्न, श्रमीक, मजदुरविरोधी ठेकेदारी, ज्यालादारी र करार प्रथाको अन्त्य गर्न लगायतका २२ वटा माग पूरा गर्न सम्बन्धित सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको हो।
पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापाले फुटपाथहरुलाई अमानवीय ढंगले दमन गर्दासमेत ठूला भनिएका दल र सरकार मौन बस्नु मजदुरप्रतिको अवहेलना भएको बताए।
उनले ठूला राजनीतिक दलहरु थोत्रा प्रतिवद्धता लिएर जनतामाझ गइरहेको भन्दै आफ्ना माग पूरा नगरुन्जेल भोट दिनु नहुने बताए।
उनले मजदुरलाई उचित व्यवस्थापन नभएसम्म नेताहरुलाई भोट नदिन आग्रह गरे।
थापाले ठेलागाडा खोसेर महिला रोइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पाश्चात्य संगीतमा परिवारसँग रमाइरहनु दुःखद् कुरा भएको बताए।
उनले नेपालको संविधानमा नो भोटिङ राइट्सको व्यवस्था भएपनि अहिलेका शासक वर्गले त्यसलाई जनतामाझ लैजन नसकेको बताए।
‘कुनै पनि शहरका ठेला मजदुर, फुटपाथलाई अमानवीय ढंगले निर्मम दमन गरेर विस्थापित गरिँदा पनि ती दलहरु मौन छन्। तिनलाई चुनावको सरगर्मी लागेको छ। चुनावको हावा लागेको छ। उनीहरु थोत्रा कमिटमेण्ट गरेर गएका छन्। उधारो प्रतिवद्धता लिएर गएका छन्', उनले भने, 'जबसम्म यो २२ बुँदालाई अक्षरशः पालना गर्दैन। हामीले ८ घण्टे ड्यूटी कार्यावधिलाई घटाउ, मजदुरका छोराछोरीलाई निःशुल्क शिक्षा देउ, ७० प्रतिशत शुल्कलाई पुनःविचार गर भन्यौँ, मजदुरलाई आवासको व्यवस्थापन गर भन्दापनि छलछाम भएको छ। छलछाम र मनोरञ्जन जस्तो गरेर अहिले एउटा साइरन बजाएर एउटा महिला गाडामा बसेर रोइरहँदा पाश्चात्य संगीतमा बसेर आफ्ना घरपरिवार लिएर नाच्ने बालेन साहजस्ता प्रवृत्तिहरु यतिखेर अन्त्य हुन जरुरी छ।'
कार्यक्रममा फुटपाथ व्यवसायी विमला चौलागाईंले बिहान कमाएर बेलुका खानेलाई धेरै समस्या हुनेहरुको उचित व्यवस्थापन नगरी व्यवसाय नै खोस्नु उचित नभएको बताइन्।
उनले अरुको रोजीरोटी खोसेर महानगरको समस्या समाधान नहुने भन्दै मेयर साह मजदुरका लागि सही पात्र नभएको बताइन्।
त्यस्तै अर्की फुटपाथ व्यापारी सुनिता कार्कीले मेयर साहले फुटपाथमा व्यापार गर्नेहरुलाई विचल्ली पारिदिएको बताएकी छन्।
उनले महानगरले फुटपाथ व्यवसायीको उचित व्यवस्थापन वा बेच्न दिने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरे। त्यस्तै फुटपाथ व्यवसायी सर्मिला तामाङले आफूजस्ता मजदुरका लागि गरिखाने एउटै साधन भएका ठेलागाडा भएकाले मजदुरको सही व्यवस्थापन नभइ महानगरले ज्यादती गर्न नहुने बताइन्।
महासंघले भने दैनिक ज्याला प्रणाली खारेज गरी घण्टा अवधिको १५० रुपैयाँ र श्रमीकको न्युनतम मासिक तलव ३० हजार रुपैयाँ कायम गर्न माग गरेको छ।
त्यस्तै ८ घण्टा कार्यावधि घटाइ ५ घण्टा बनाउन, श्रमीकको लागि सहुलियत कार्डको व्यवस्था गर्न, औद्योगिक सुरक्षालगायत श्रमिकविरोधी विधेयकहरु खारेज गर्न, उद्योग, कलकारखाना, प्रतिष्ठानमा हुने उत्पीडन र ज्यादतीको अन्त्य गर्न, फुटपाथ, सडक तथा स्वरोजगार मजदुरलाई न्यायोचित व्यवस्थापन गर्न लगायतका २२ वटा माग राखेको छ।
Shares

प्रतिक्रिया