ad ad

समाज


द्वारिकलाल आफैँले बेचेको जग्गा कब्जा गरेपछि...

न्याय खोज्दै पीडित, चौधरी भन्छन् : म अर्कै काममा छु, के को कचकच
द्वारिकलाल आफैँले बेचेको जग्गा कब्जा गरेपछि...

नेपालखबर
असोज ३१, २०७९ सोमबार १७:९, विराटनगर

नेकपा एमाले छाडेर माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका इटहरी उपमहानगरका निवर्तमान मेयर द्वारिकलाल चौधरीलाई अर्काको जग्गा हडपेको आरोप लागेको छ। 

आफूले बेचेको जग्गा हडपेर माछा पोखरी बनाएको भन्दै पीडितहरुले न्याय दिलाइदिन आग्रह गरेका छन्। 

चौधरीलाई पटक पटक माछा पोखरी पुरेर जग्गा फिर्ता गरिदिन आग्रह गर्दा पनि नटेरेपछि पीडित प्रदीपकुमार खतिवडाले पत्रकार गुहारेका छन्। 

सोमबार पत्रकार सम्मेलन गर्दै खतिवडा परिवारले जग्गा फिर्ता गरिदिन माग गरेका छन्। 

इटहरी १७ बालग्राममा रहेको ८ 'घ' नक्साको कित्ता नम्बर ६०६ को जग्गा चौधरीले दुई महिनादेखि हडपेर माछापालन गरेका हुन्।

धनीपूर्जाको प्रतिलिपि देखाउँदै पीडित पक्ष

'घडेरी भएकाले हामी बेलाबेला मात्रै जग्गा हेर्न जान्थ्यौं,’ जग्गाधनी प्रदीपका छोरा अनमोलले भने, '२०६३ सालमा द्वारिकालालका बुबा नानुराम चौधरीको नाममा रहेको एक कट्ठा जग्गा किनेका थियौँ।’ 

पूर्जाअनुसार १ जेठ २०६३ मा नानुरामको नाममा रहेको जग्गा प्रदीपको नाममा पास भएको देखिन्छ।

खतिवडा परिवारले इटहरी उप महानगरलाई निवेदन दिएपनि जग्गा भोग चलन गर्न नपाएको गुनासो गरेका छन्। 

चौधरीले लबीपुर चौकमास्थित घरनजिकै प्रदीपको एक कट्ठा जग्गा घेराबार गरी माछा पालिरहेका छन्। 

जग्गाधनी खतिवडालाई थाहै नदिई गत असारमा डोजरले खनेर पोखरी बनाएका थिए। 

जग्गाधनी खतिवडा इटहरी–४ मा बस्दै आएका छन्। जग्गा लबीपुरमा भए पनि उनको आउजाउ कम हुने गरेको थियो। 

त्यही मौका छोपी चौधरीले आफ्नो जग्गामा जथाभावी डोजर चलाएको अनमोलले आरोप लगाए। 

'पटक पटक द्वारिक सरलाई सम्पर्क गरेँ, उहाँले एक हप्ताको समय दिनु भयो। तर ४ महिना बित्यो, आजसम्म पोखरी पुर्नु भएन', उनले भने। 

लामो समयदेखि पोखरी पुर्न आग्रह गरे पनि अहिले आफ्नो मोबाइल नम्बर नै ब्ल्याकमा लिस्टमा राखेको अनमोलले बताए। 

चौधरीले बेवास्ता गरेपछि खतिवडाले इटहरी उपमहानगरमा निवेदन दिएका थिए। 

गत असोज २७ गते नगर प्रमुख हेमकर्ण पौडेलले तोकआदेश दिएर प्रशासनमा उक्त पत्र पेस गर्न भएका थिए। 

प्रशासनले चौधरीलाई के कति कारणले उक्त जग्गामा पोखरी बनाइएको कारण खुलाएर प्रमाण पेस गर्न भनेको थियो। 

तर चौधरीले उक्त पत्र लिएका छैनन् । उनले हुलाकबाट आएको पत्रसमेत बुझ्न मानेका छैनन्। 

आफ्नै बुवाको नाममा रहेको धनीपुर्जाको फोटोकपी लिएर भौतारिइरहेका अनमोलले कानुनी प्रक्रिया जाने पत्रकार सम्मेलनमा बताए। 

इटहरी–१७ लबीपुरमा रहेको उक्त जग्गा ८ 'घ' नक्सा कित्ता नम्बर ६०६ को जग्गा २०६३ साल जेठ १ गते द्वारिकलालका बुवा नानुरामले खतिवडालाई बिक्री गरेका थिए। 

चौधरीको घर र उक्त जग्गा एकै ठाउँमा पर्छ। खतिवडाले उक्त जग्गा बैङ्कमा धितो राखेर कर्जा समेत लिएका छन्। 

बैंकलाई मासिक किस्ता र ब्याज तिर्दै आएका खतिवडाले एक उपमहानगरलेसमेत जग्गा फिर्ता गराउने बिषयमा उदाशीनता देखाएको आरोप लगाए।

निवर्तमात मेयर चौधरीले अमिनी ल्याएर जग्गा छुट्याएर लैजान आग्रह गरे। उनले भने, 'मैले जग्गा मिचेको भए नापेर लगे हुन्छ।' 

आफ्नो आठदश फुट जग्गा छिमेकीतिर गएको उनले बताए।

‘जग्गा सबै उक्काएर लगेको छैन, उसैको जग्गाको हो गर्नु नि के–के गर्न मन छ,’ चौधरीले भने, 'अहिले म आफ्नैँ काममा व्यस्त छु, सहज हुनेबित्तिकै पोखरी पुर्दिन्छु भनेकै छु, के को कचकच?' 

खतिवडाको नाममा रहेको धनीपूर्जाको प्रतिलिपि

चौधरी २०७४ सालको स्थानीय निर्वाचनमा इटहरी नगरप्रमुख भएका थिए।

नगरप्रमुख रहँदा पत्रकारलाई गालीलगौज, सेवाग्राहीलाई कार्यालयमा थुन्नेदेखि महिलालाई अभद्र व्यवहार गर्ने जस्ता घटनाले विवादित थिए। 

उनी मेयर हुँदा व्यक्तिको जग्गा हडपेर आँखा अस्पताल शिलान्यास गरेका थिए। 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शिलान्यास गरेको जग्गामा अझै आँखा अस्पताल बन्न सकेको छैन। 

विराटनगरका व्यासायी घरना बगेडियाको जग्गामा उनले अस्पतालको शिलान्यास गरेका थिए। तर जग्गा नदिएपछि अस्पताल निर्माण अलपत्र छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .