दैनिक नौ घण्टाभन्दा बढी निदाउने र दिउँसो पनि लामो समय सुत्ने व्यक्तिलाई स्ट्रोकको सम्भावना बढी हुने एक नयाँ अध्ययनले देखाएको छ।
चीनमा गरिएको यो अध्ययन न्युरोलोजी नामक जर्नलमा प्रकाशित छ। ३१ हजार ७ सय ५० जना स्वस्थ वयष्क व्यक्तिमा ६ वर्ष लगाएर यो परीक्षण गरिएको थियो। अध्ययनमा सहभागी मानिसको औसत उमेर करिब ६१.७ वर्ष थियो।
६ वर्षको अवधिमा तीमध्ये १ हजार ४ सय ३८ जनामा स्ट्रोक भएको थियो।
९ घण्टा र सोभन्दा बढी सुत्ने व्यक्तिमा ७ घण्टादेखि ८ घण्टासम्म सुत्ने व्यक्तिको तुलनामा स्ट्रोकको सम्भावना २३ प्रतिशतले बढी भएको अध्ययनमा देखिएको छ।
त्यस्तै, दिउँसो डेढ घण्टाभन्दा बढी नियमित सुत्ने व्यक्तिमा स्ट्रोकको सम्भावना २५ प्रतिशतले बढ्ने पनि अध्ययनले देखाएको छ।
अझ, राति पनि ९ घण्टाभन्दा बढी र दिउँसो पनि नियमित सुन्ते व्यक्तिमा स्ट्रोकको सम्भावना ८५ प्रतिशतले बढी हुने देखिएको छ।
राम्ररी निदाउन नसक्नेहरुमा पनि स्ट्रोकको सम्भावना अन्यको तुलनामा २९ प्रतिशत बढी छ।
अध्ययनका लेखक तथा वुहानस्थित हुवाजोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका अध्येता स्याओमिन च्याङ भन्छन्, ‘दिउँसोका सुताइ र रातिको ९ घण्टाभन्दा बढीको निद्रा स्ट्रोकसँग कसरी सम्बन्धित छ भन्नेबारे स्पष्ट हुन थप अध्ययन आवश्यक छ।
यसअघिका अध्ययनले भने लामो समय सुत्ने व्यक्तिमा कोलेस्ट्रोलको मात्रा परिवर्तन हुनुका साथै पेटमा बोसो लाग्छ। यी दुवैले स्ट्रोकको जोखिम बढाउँछन्।’
यसका साथै लामो समय सुत्नु र दिउँसो पनि निदाउनुको अर्थ हो, निष्क्रिय जीवनशैली। यसले पनि स्ट्रोकको खतरा बढाउँछ। एजेन्सी
प्रतिक्रिया