आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम आंशिक बदली रहनेछ। यस क्रममा प्रदेश १ र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बुलेटिनअनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। यस क्रममा प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
दसैँको नवमी अर्थात् असोज १८ गतेदेखि भने वर्षाको मात्रा बढ्दै जाने प्रक्षेपण गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि मंगलबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै मंगलबार राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
यसैगरी असोज १९ गते बुधबार (विजया दशमी) का दिन दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने भारीदेखि धेरै भारी वर्षा तथा प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाको बुलेटिनअनुसार बुधबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ।
प्रतिक्रिया