समाज


राष्ट्रिय मुद्रा संग्रहालयमा प्रर्दशनी कक्ष निर्माण, पर्यटनमन्त्री श्रेष्ठद्वारा उद्घाटन

राष्ट्रिय मुद्रा संग्रहालयमा प्रर्दशनी कक्ष निर्माण, पर्यटनमन्त्री श्रेष्ठद्वारा उद्घाटन

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १५:४१, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको छाउनीस्थित राष्ट्रिय मुद्रा संग्रहालयको नवनिर्मित प्रर्दशनी कक्षको उद्घाटन गरेका छन्।

राष्ट्रिय संग्रहालयको दक्षिणपट्टि रहेको पुलघरमा पुनः निर्मित भवनमा स्थापना गरिएको प्रर्दशनी कक्ष उद्घाटन गर्दै मन्त्री श्रेष्ठले मुलुकको इतिहासलाई क्रमबद्ध रुपमा झल्काउने प्रमुख स्रोत ‘मुद्रा संग्रहालय’ पर्यटनका लागि समेत आकर्षणको केन्द्र रहेको बताए। 

देशको इतिहास, संस्कृति तथा सभ्यतालाई प्रमाणित गर्न मुद्राले महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्दै उनले नेपालको इतिहास दर्शाउने मुद्राहरुको संकलन गरी संग्रहालयको रुपमा विकास गरिनु महत्वपुर्ण उपलब्धी भएको बताए।

नेपालमा आउने पर्यटकका लागि मात्र नभएर इतिहास, संस्कृति तथा पुरातत्त्वका अध्येता र शोधकर्ताका लागि समेत संग्रहालय महत्त्वपूर्ण सन्दर्भ स्रोत बन्न सक्ने मन्त्री श्रेष्ठको भनाइ छ।

मुलुकको इतिहास संग्रहालयमा देखिने भएकोले यसलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले संग्रहालयका लागि निश्चित मापदण्ड बनाउने सरकारको तयारी रहेको बताए।

संग्रहालयमा संकलित मुद्राहरुलाई नेपालको ऐतिहासिक कालखण्ड अनुसार प्रदर्शन गरिएको छ। नेपालको अत्यन्त दुर्लभ मानिने ईसापूर्व पाँचौं शताब्दीदेखि ईसाको पहिलो शताब्दीसम्मका विभिन्न सिक्काहरु संग्रहालयमा राखिएको छ।

संग्रहालयमा भारतमा बेलायतको औपनिवेशकालका चाँदीका मोहरहरुको माला तथा औंठीहरु पनि प्रदर्शनमा राखिएको छ। छाला तथा माटोका मुद्राहरु संग्रहालयको आकर्षणको रुपमा रहेको छ।

संग्रहालयमा राखिएका मुद्राहरु सुन, चाँदी, तामा, पित्तल, निकल, आल्मुनियम आदी धातुबाट बनेका छन्।

संग्रहालयमा रहेको फुकादाम विश्वकै सबैभन्दा सानो मुद्राको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत सुचिकृत भएको राष्ट्रिय मुद्रा संग्रहालय प्रमुख प्रतिमा रञ्जितले बताइन्।

कार्यक्रममा राष्ट्रिय मुद्रा संग्रहालयले प्रकाशन गरेको नेपालको मुद्रा इतिहास सम्बन्धी पुस्तक मन्त्री श्रेष्ठले विमोचन गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad