ad ad

समाज


एमाले नेताले दिए पत्रकारलाई भौतिक कारबाही गर्ने धम्की

एमाले नेताले दिए पत्रकारलाई भौतिक कारबाही गर्ने धम्की

नेपालखबर
भदौ २१, २०७९ मंगलबार १५:८, काठमाडौँ

नेपाल पत्रकार महासंघ कालिकोट शाखाका पूर्वअध्यक्ष कालिबहादुर मल्ललाई समाचारको विषयलाई लिएर नेकपा एमाले कालिकोटका कार्यालय सचिव दानबहादुर शाहीले भौतिक कारबाहीको धम्की दिएका छन्।

महासंघले मंगलबार विज्ञप्ति प्रकाशित गरी धम्कीको विरोध गरेको छ।

पत्रकार मल्ल कार्यरत नेपाल समाचारपत्र दैनिक र इन्सेक अनलाइनमा निज शाहीको समाचार प्रकाशित भएपछि २०७९ भदौ १९ गते शाहीले पत्रकार मल्ललाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरी घाँटी छिनाली मार्ने धम्की दिएको महासंघ कर्णाली प्रदेश समितिले जनाएको छ।

महासंघले विज्ञप्तिमा ‘प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जान सकिने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै एउटा जिम्मेवार पार्टीका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई मार्ने धम्की दिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो’ भनेको छ।

‘प्रेसविरोधी यस्ता कार्यमा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ पत्रकारलाई सुरक्षित र स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दै महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र यस किसिमका घटना नदोहोरिने वातावरण बनाउन सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउँदछ’ महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसैगरी, महासंघले महासंघ झापा शाखाका सदस्य एवं ग्यालेक्सी ४के टेलिभिजन प्रदेश १ का ब्यूरो प्रमुख राजु पौडेल र झापा सदस्य एवं ४के टेलिभिजनका सम्वाददाता नारायण अर्याललाई झापास्थित बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले विभिन्न समयमा विभिन्न सञ्चारमाध्यम र युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा पत्रकारद्वयलाई अपमानित हुने किसिमले विभिन्न लाञ्छना लगाउँदै गालीगलौज गरेको भनी महासंघमा जानकारी प्राप्त भएको जनाएको छ।

‘कुनै पनि बहानामा पत्रकारलाई अपमानित हुने कार्य हुनु प्रेस स्वतन्त्रताविरोधी काम हो’ महासंघले भनेको छ, ‘महासंघ अस्पतालजस्तो संवेदनशील निकायका सञ्चालकबाट यस किसिमका कार्य हुनु दुःखद् र निन्दनीय काम हो। महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी यस्ता घटना नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .