ad ad

समाज


ब्ल्याकलेबलको फरक स्वादले पुर्‍यायो नक्कली रक्सीको भट्टीमा

प्रहरीलाई नै नक्कली रक्सी बेच्न खोज्दा ५ जना फन्दामा
ब्ल्याकलेबलको फरक स्वादले पुर्‍यायो नक्कली रक्सीको भट्टीमा

उजिर कार्की
भदौ १०, २०७९ शुक्रबार २१:४४, काठमाडौँ

एकसाता पहिले दरबारमार्गको नाइट क्लबमा ब्ल्याक लेबल खाएका एक ग्राहकले त्यसको स्वादमाथि प्रश्न उठाए। क्लबमा हल्लाखल्ला मच्चियो। नाइट क्लबका सञ्चालकले त्यो रात त घटना सामसुम पारे। ग्राहकलाई सम्झाइबुझाइ गरे। 

तर, ग्राहकको यो प्रश्नले उनलाई झस्कायो। क्लबले ग्राहकलाई नक्कली रक्सी बेचेको आरोप लाग्यो। यसअघि पनि ती सञ्चालकले यस्तै रक्सी किनेका थिए। अहिलेसम्म गुनासो आएको थिएन। 

उनलाई रक्सी बेच्ने व्यक्तिले पुरानो रक्सी स्टकमा रहेको भनेका थिए। बजार मूल्यभन्दा एक हजारदेखि १५ सयसम्म सस्तो दिएका थिए। 

त्यही रक्सीमाथि प्रश्न उठेपछि उनले सुरुमा आफ्नै स्टाफसँग सोधीखोजी गरे। स्टाफको कुनै बदमासी पत्ता लागेन, स्वाद फरक परे पनि बोतल सही थियो। 

आफ्नो व्यवसायको प्रतिष्ठामै प्रश्न उठेपछि उनले प्रहरीलाई जानकारी दिए। काठमाडौँ परिसरले सूचना पाएसँगै अनुसन्धान सुरु गर्यो। रक्सी आपूर्ति गर्ने व्यक्तिको फोन नम्बर पनि प्रहरीले पायो। त्यसपछि ती सप्लायर्ससँग प्रहरीले ग्राहक बनेर रक्सी माग गर्यो। 

रक्सीको डिल फाइनल भयो। कोटेश्वरसम्म लिन जाने र त्यहाँसम्म सप्लायर्सले ल्याइदिने भए। महादेवस्थानको गल्लीमा ग्राहक र सप्लायर्सको भेट भयो। रक्सी भने ती व्यक्तिले आफ्नो डेरामा राखेका रहेछन्। उनको डेरा पनि कोटेश्वरमै थियो। रक्सीको डिल फाइनल भएर गएको टोली उनको डेरामा पस्यो। भित्र चार काटन रक्सी थियो। उनले कारखानाबाट त्यहाँसम्म ट्याक्सीमा ल्याएर राखेका थिए। चार काटन रक्सी बेचेँ भनेका बेला प्रहरीले उनलाई हतकडी लगायो। 

‘त्यसपछि यसको जरो पत्ता लगाउन केन्द्रित भयौँ। हामीलाई थाहा थियो उसले एक्लै यो धन्दा गरिरहेको छैन भन्ने। यसमा संलग्नहरु पत्ता लगायौँ र उनीहरुलाई पनि पक्राउ गर्यौँ,’ अनुसन्धानमा संलग्न अधिकारीले भने। 

उनीहरुले भक्तपुरमा कारखाना नै सञ्चालन गरेर नक्कली रक्सी बनाउने गरेको खुलेको छ। 

पाँच जना पक्राउ
कोटेश्वरमा ग्राहक बनेर पुगेका प्रहरीलाई रक्सी बेच्न आएका थिए हरि ओली। दोलखाको कालिञ्चोक गाउँपालिका ९ घर भएका उनी हाल कोटेश्वर बस्छन्। उनलाई पक्राउ गरेसँगै अन्य व्यक्तिको पनि पहिचान भयो। ओलीकै सहयोगमा प्रहरीले अरु चार जनालाई पक्राउ गर्यो। 

पक्राउ पर्नेमध्ये तीन जना दोलखा र दुई जना रामेछापका छन्। दोलखाको भीमेश्वर गाउँपालिका ८ का ३९ वर्षीय भगवान बस्नेत, कालिञ्चोक ४ का २० वर्षीय पिशाल ओली पक्राउ परेका छन्। 

यस्तै रामेछापको खाँडादेवी गाउँपालिका २ का २७ वर्षीय मनोज खत्री पनि पक्राउ परेका छन्। उनी मूलपानी बस्दै आएका थिए। खाँडादेवी ९ का २७ वर्षीय गोपी श्रेष्ठ पनि पक्राउ परेका छन्। 

नक्कली रक्सी उत्पादन तथा बिक्रीवितरण गर्ने घटनामा संलग्न एक जना फरार छन्। पक्राउ परेकाविरुद्ध ७ दिन थुनामा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। 

विभिन्न ब्रान्डका रक्सी र खाली बोतल बरामद 
हरि वलीको कोठाबाट प्रहरीले नक्कली रक्सी बनाउन प्रयोग गरिएका सामग्री समेत बरामद गरेको छ। डबल ब्ल्याक लेबल ८ बोतल, ब्ल्याक लेबल ११ बोतल, ज्याक ड्यानियल्स ह्विस्की ११ बोतल बरामद भएको परिसरका प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए। 

यस्तै, गोल्डेन ओकका बोतल ७५० एमएलका ९६, ज्याक ड्यानियल्सको २० वटा खाली बोतल, आन्तरिक राजश्व विभागको स्टिकर ९२ थान, पेचकस एउटा पनि वलीको कोठाबाट बरामद भएको छ। 

भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट पनि ठूलो परिमाणमा समान बरामद भएको छ। २ बोतल डबल ब्ल्याक लेब, रेड लेवब ३ बोतल, खुकुरी रम ३ बोतल, ८८४८ भोड्का ९० बोतल, विभिन्न ब्रान्डका रक्सीका ५ सय वटा जति खाली बोतल, राजश्व विभागको स्टिकर, रुडार लेखिएका बोतल, क्ल्याप लेखिएका बोतल, बिर्को खोल्न प्रयोग गरिने फलामको कब्जा, मार्तोल र ४० थान कुर्तासुरुवाल पनि बरामद भएको छ। 

उनीहरुसँग राजश्व विभागको स्टिकर पनि फेला परेपछि यस बारेमा थप अनुसन्धान हुने भएको छ। उनीहरुले अन्य रक्सीको स्टिकर उप्काएर नक्कली रक्सीको बोतलमा टाँस्ने गरेको बताए पनि ठूलो मात्रामा प्रयोग नभएको स्टिकर बरामद भएको छ। 

यस बारेमा थप अनुसन्धान हुने एसएसपी बोहराले बताए। स्टिकर र सिलप्याक बोतल भएकै कारण ग्राहकले शंका गर्न नसकेको प्रहरीको अनुमान छ। 

सस्ता रक्सी मिसाउने गरेको खुलासा
उनीहरुले विभिन्न ब्रान्डका रक्सी बनाउँदा सस्ता रक्सी मिसाउने गरेको खुलेको छ। रेड लेबलमा थोरै रेड लेबल राख्ने र धेरैजसो ओल्ड दरबारलगायत सस्ता रक्सी मिसाउने गरेको उनीहरुले प्रारम्भिक सोधपुछमा बताएका छन्। 

सस्ता रक्सी अन्य पसलबाट लगेर महंगा ब्राण्डका नक्कली रक्सी उत्पादन गर्ने गरेको पाइएको छ। जडिबुटीमा भगवानले रक्सी पसल समेत सञ्चालन गरेका छन्। 

यस्तै अन्य ब्ल्याक लेबल र डबल ब्ल्याक बनाउँदा पनि अरु रक्सी मिसाउने गरेका छन्।

भक्तपुरमा यसरी मिसाएर बनाएको रक्सी कबाडीबाट ल्याएका बोतलमा लगाउने गरेको खुलेको छ। बोतलको बिर्को खोल्न समेत उनीहरुले नयाँ प्रविधि अपनाउने गरेको पाइएको छ। 

डिमान्ड आइसकेपछि मात्रै यस्ता रक्सी बनाउने गरेको खुलेको छ। उनीहरुले डिमान्ड गरेको केही दिनपछि मात्रै रक्सी लगिदिने गरेका थिए। नक्कली रक्सी भए पनि मेसिनको प्रयोग गरेर सिल प्याक गर्ने र आन्तरिक राजश्व अनुसन्धान विभागको सक्कली स्टिकर नै प्रयोग गर्ने गरेको खुलेको छ। 

यसरी रक्सी बनाउने उपाय भने मनोज खत्रीको भएको र उनकै योजनाअनुसार उत्पादन गर्न थालेको उनीहरुले बताएका छन्। मनोज पहिले भारत बसेर आएका हुन्। उनले भारतमै यस्तो सिकेर फर्किएपछि भगवानसँग सल्लाह गरेर फ्याक्ट्री नै सञ्चालन गरेको खुलेको छ। मनोज सवारी चालक हुन्। भगवान र फरार व्यक्तिको लगानीमा ५ महिनादेखि फ्याक्ट्री नै खोलेर उनीहरुले नक्कली रक्सी उत्पादन गर्ने गरेका थिए। 

नक्कली रक्सीका ग्राहक नाइट क्लब र दोहोरी साँझ 
उनीहरुले उत्पादन गरेका नक्कली रक्सी राजधानीका नाइट क्लब र दोहोरी साँझले किन्ने गरेको खुलेको छ। बजार मूल्यभन्दा सस्तोमा पाइने भएपछि उनीहरुले यस्ता रक्सी बढी मात्रामा माग गरेको अभियुक्तहरुले बताएका छन्। 

‘रक्सी बढी खपत हुने ठाउँ उनीहरुले टार्गेट गर्दा रहेछन्। जहाँ नसाको तालमा थाहा नहुने र धेरै खपत हुने भएपछि कमाइ पनि राम्रो हुने भन्दै उनीहरुको निसानामा परेको पाइयो,’ परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले भने। 

डान्सबार, मदिरा डिलर र पार्टी प्यालेसहरुमा पनि यस्तो रक्सी बिक्री गरेको पाइएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .