ad ad

समाज


जसले मर्स्याङ्दीमा फाल हानेकी युवतीलाई १० मिनेटमै बचाए

जसले मर्स्याङ्दीमा फाल हानेकी युवतीलाई १० मिनेटमै बचाए

सागर न्यौपाने
मंसिर २२, २०७६ आइतबार १४:४२,

मुग्लिन बजारबाट पोखरा जाने राजमार्गमा भर्खरै सञ्चालनमा आएको नयाँ पुल। गाडीहरु सधैँ झैं ओहोरदोहोर गरिरहेका थिए।

आइतबार दिउँसोको करिब २ बजे। अन्दाजी २० वर्षकी पहेँलो रंगको ज्याकेट, खैरो रंगको कपडाको पाइन्ट लगाएकी एक युवती मुग्लिन–तनहुँ जोड्ने राजमार्गको त्यही नयाँ पुलको रेलिङमा अस्वाभाविकरुपमा यताउता गरिरहेकी थिइन्।

ती युवतीलाई झट्ट देखेको सम्झँदै सन्तोष गुरुङले भने, ‘एकैछिनमा ती दिदी त रेलिङबाट सुतेर एकैपटक तल मर्स्याङ्दीमा पो फाल हानिन्।’

करिब २ सय मिटर पर रहेको ‘मर्स्याङ्दी फ्रेस फिस कर्नर’ मा काम गरिरहेका सन्तोष गुरुङले यो दृश्य देखेपछि १० मिनेटभित्रै कसरी बचाए ती युवतीको ज्यान?

त्यहि होटलका वेटर सन्तोष सदा झैं आइतबार पनि ग्राहकहरुको सेवामा तल्लिन थिए। पसलबाटै देखिन्थ्यो नयाँ बनेको मुग्लिन पुल।

जब युवती नदीमा झरेको दृश्य उनको आँखामा पर्यो, उनी दौडँदै नदीमा पुगे। २ सय मिटर माथिबाट नदीकिनार पुग्नासाथ ‘डाइभ’ गरे। युवतीलाई मर्स्याङ्दीले बगाएर ५ सय मिटर तल पुर्याइसकेको थियो।

एक त मर्स्याङ्दी नदी त्यसै पनि चिसो, त्यसमाथि हिउँद। नदीभित्र ५ सय मिटरको दुरी पुग्ने काम सजिलो थिएन। तर सन्तोषलाई कुन साहसले काम गर्यो, तुरुन्तै युवतीलाई भेटाउन सफल भए उनी।

युवतीलाई उद्दार गरेको दुई घण्टापछि सन्तोषले भने, ‘जब मैले ती युवती पुलबाट झरिरहेको देखेँ, त्यस्तै २ मिनेट जतिमा नदीमा पुगेँ।’

थप केही मिनेटमा युवतीलाई तानेर किनारसम्म ल्याउन सफल भएको सन्तोषले बताए। त्यतिबेलासम्म उनले यो सबै एक्लै गरेका थिए।

हतारहतार नदी किनारामा ल्याएपछि युवतीको अवस्था हेरे सन्तोषले।

‘ती दिदीले त टन्नै पानी खाइसकेकी रहिछिन्’, युवतीको अवस्था दर्शाउँदै सन्तोषले मुग्लिनबाट नेपालखबरसँग फोनमा भने।

नौ कक्षामा अध्ययनरत सन्तोषलाई नदीमा डुबेका मानिसलाई कसरी बचाउने भन्ने सामान्य ज्ञान पनि थियो। पेट थिचे। केही पानी निकाले। यतिबेलासम्म थुप्रै मानिसहरु जम्मा भए। कसैले प्रहरी, कसैले एम्बुलेन्स बोलाए।

अनि युवतीले एक युवाको नाम लिइन्। र, सन्तोषले ती युवतीले आवाज निकालेको सुने।

‘एक जना केटाको नाम लिइरहेको जस्तो सुनियो तर नाम प्रष्ट बुझिएन’, सन्तोषले भने।

त्यसो त उनी कसरी ती युवतीलाई बचाउने भन्ने मैँ बढि केन्द्रित भए।

बेला बेलामा सोही मर्स्याङ्दीमा पौडी खेल्ने गरेका सन्तोषले जीवनमै सोचेका थिएनन्, यसरी मानिसको ज्यान जोगाउनु पर्ला भनेर। धादिङको हिलेखर्कका २० वर्षे सन्तोष मस्र्याङ्दी फ्रेस फिस कर्नरमा काम गर्न थालेको ३ वर्ष भयो।

घटना घटेको केही बेरमै त्यहाँ हेर्नेको भीड लागेको थियो। धेरैले सन्तोषलाई स्यावासी दिए।

छोरी बनाउने चाहना
मर्स्याङ्दीमा फाल हान्ने युवतीको उद्दार गरेपछि मुग्लिनमा व्यवसाय गर्दै आएका विजय गुरुङले ती युवतीलाई छोरी बनाएर पाल्ने चाहना व्यक्त गरेका छन्।

उद्दार गरेलगत्तै अस्पताल लगिएकी युवती आफ्नी छोरीकै उमेरकी भएको भन्दै उनले ‘घरायसी वा कोही केटाहरुको कारण खोलामा फाल हान्न बाध्य भएको भए’ आफूले छोरी बनाएर पाल्ने बताए।

‘मेरी छोरीको विहे भइसकेको छ। त्यो नानी देख्दा मलाई मेरै छोरी जस्तै लाग्यो। यदि कोही केटा र घरपरिवारको कारणले गर्दा उसले खोलामा फाल हानेको हो भने उनलाई म छोरी बनाएर पाल्न तयार छु’, नेपालखबरसँग विजय गुरुङले भने, ‘प्रहरीले सहयोग गरोस्, उनको उपचार खर्च पनि मै व्यहोर्छु।’

मुग्लिनस्थित ‘पुरानो मर्स्याङ्दी फ्रेस फिस’ का सञ्चालक विजय गुरुङ सडक विभाग अन्तर्गत गोरखा, तनहुँ र लमजुङ क्षेत्रको सुपरभाइजरका रुपमा काम गरिरहेका छन्।

उनले ती युवतीलाई जेजस्तो सहयोग गर्नुपर्ने हो, त्यसका लागि तयार रहेको बताए। मर्स्याङ्दीमा फाल हान्ने युवतीको विस्तृत विवरण आइसकेको छैन। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .