ad ad

समाज


एसपी घिमिरे २ महिनामै चार ठाउँ सरुवा, आईजीपीको ‘इगो’ कि सहानुभूति?

एसपी घिमिरे २ महिनामै चार ठाउँ सरुवा, आईजीपीको ‘इगो’ कि सहानुभूति?

उजिर कार्की
साउन १८, २०७९ बुधबार २०:२८, काठमाडौँ

नेपाल प्रहरीका अधिकृतहरुको सरुवा सामान्यतः एक वर्षमा मात्रै हुन्छ। इन्चार्ज टु इन्चार्ज अझै हुँदैन। प्रहरीमा इन्चार्ज नपाएकालाई इन्चार्जमा पठाउने चलन नै छ।

तर, नेपाल प्रहरीका स्ट्राइकर (आईजीपी) धीरजप्रताप सिंहले एकजना एसपीलाई लगातार सारेका छन्। उनले एक अधिकृतलाई दुई महिनाबीचमा चार ठाउँमा सरुवा गरिसकेका छन्। 

आईजीपीको निशानामा परेका ती अधिकृत हुन् एसपी दिलिप घिमिरे। जो धीरजप्रताप आईजीपी भएपछि चार ठाउँ सरुवा सूचीमा परे। अघिल्लो दिन एक ठाउँ सरुवा भएर सुतेका उनको भोलिपल्ट उठ्दा अर्कै ठाउँ सरुवा भइसक्छ।

शैलेश थापाले ११ महिना पहिले कर्मचारी प्रशासनमा लगेका एसपी घिमिरे धीरजप्रताप आईजीपी भएको केही समयमै सरुवा भए। 

२ महिना पहिले उनलाई कर्मचारी प्रशासन शाखाबाट उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरियो। त्यहाँ दुई महिना पनि बस्न दिइएन। २ महिनामै उनलाई जिल्ला प्रहरी कार्यालय डोटीमा काज सरुवा गर्ने निर्णय भयो। 

घिमिरेलाई सरुवा गरेपछि कप्र पुगेका बेलबहादुर पाण्डे भने अहिले पनि त्यहीँ छन्। तर घिमिरे दुई महिनामै रानीपोखरीबाट काजमै डोटी खटाउने निर्णय भयो। 

तर अघिल्लो दिन काजमा डोटी खटाउने निर्णय भएका उनको भोलिपल्ट भने दुई नम्बर गणमा सरुवा निस्कियो। साउन १२ गतेको सूचीमा जिल्ला प्रहरी कार्यालय डोटीमा भने राजेन्द्र प्रसाद धमलाको नाम आयो। 

एसपी भएपछि एउटा पनि जिल्ला गएका थिएनन् घिमिरे। यसपटक उनलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं २ महाराजगञ्ज सरुवा गरियो। यसअघि दुई ठाउँमा काज खटाइए पनि उनको दरबन्दी भने कर्मचारी प्रशासन शाखा नक्सालमै थियो। 

कप्रबाट उपत्यका प्रहरी कार्यालय गए पनि उनी जिप्रका डोटी जान पाएनन्। भोलिपल्टको सरुवामा सशस्त्र प्रहरी गण नं २ मा दरबन्दी कायम भयो। 

तर त्यहाँ पनि उनी हाजिर हुनै पाएका थिएनन्। त्यसको ३ दिनपछि साउन १५ गते फेरि १३ एसपीको काज सरुवा निकालियो। त्यो सूचीको ३ नम्बरमा दिलीप घिमिरेको पनि नाम थियो। 

यस पटक भने उनलाई इन्चार्ज बनाउँदै जिल्ला प्रहरी कार्यालय इलाम सरुवा गरिएको छ। आगामी साता उनी इलाम जाने तयारीमा रहेको स्रोतले जानकारी दिएको छ। यसरी २ महिनामा ४ ठाउँ सरुवा हुने घिमिरे मात्रै हुन्। 

आईजीपीको इगो कि, सहानुभूति? 
धीरजप्रताप सिंह आईजीपी भएसँगै उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्यो। एआईजी विश्वराज पोखरेलले आफूभन्दा कनिष्ठलाई आईजी बनाएको भन्दै रिट दायर गरेका थिए। 

तर, पोखरेलले सर्वोच्चमा मुद्दा हारे। उनको रिट खारेज गर्दै सिंहलाई आईजीपी बनाउने सरकारको निर्णय सदर भयो। सर्वोच्चले आईजीपीमा सदर गरेसँगै सिंहले विगतमा पोखरेलनिकट अधिकृतहरूलाई पेलेको प्रहरी अधिकारीहरु गुनासो गर्छन्।

एआईजी पोखरेल मानव श्रोत विभाग प्रमुख थिए। कर्मचारी प्रशासन शाखा त्यही विभाग मातहत पर्छ। 

‘यसअघि विश्वराजनिकट भनिएकाहरुलाई अहिले प्रहरीमा फरक व्यवहार गर्न थालिएको छ। बढुवामा छुटाइन्छ। सरुवामा पनि राम्रो ठाउँ दिइन्न, लखेटिँदैछ’, ती अधिकारीले नेपालखबरसँग भने, ‘हामी अहिले त्यसैको मारमा परिरहेका छौँ।’

एसपी घिमिरेकी पत्नी वसुन्धरा खड्का पनि नेपाल प्रहरीमै डीएसपी छन्। उनी यसअघि ५ नम्बरमा भए पनि एसपी बढुवामा छुटिन्।

बालुवाटार, गृहमन्त्रालय र आईजीपी सिंहले अहिले आफ्नालाई बढुवा गर्दै अन्यलाई अन्याय गर्न थालेको प्रहरीभित्र गुनासो छ। यसैको उदाहरण हो घिमिरेको लगातार सरुवा। 

एक पूर्व एआईजीले भने, ‘नेताले के भन्छन्, आईजीपीले त्यही गर्नुपर्छ भन्ने छैन। आईजीपी गृहमन्त्रीको पिए होइन। उसले त संगठनको हितमा काम गर्नुपर्छ। हिजो कसले कसलाई सहयोग गरे भन्ने आधारमा होइन, संगठनमा सबैलाई समान व्यवहार गर्नुपर्छ। दलका नेता कार्यकर्ताले जस्तो गुटबन्दी गर्ने हो भने भोलि संगठनमा ठूलो संकट आउँछ।’

नेता र मन्त्रीको दबाब नै आए पनि आईजीपीले संगठन प्रणालीबारे जानकारी गराएर सहमतिमा ल्याउन सक्नुपर्ने उनी बताउँछन्। कार्यन्वयन गर्न नसक्ने हो भने निर्णय नै गर्न नहुने र निर्णय गरिसकेपछि आईजीपीले कार्यन्वयन गराउन सक्नुपर्ने पनि उनले बताए। 

तर, घिमिरेको हकमा भएका सरुवाका निर्णय कार्यान्वयन गराउन आईजीपी असफल भए। डोटी र २ नं. गणमा घिमिरे हाजिर नै भएनन्।आईजीपी सिंह आफ्नै निर्णय कार्यन्वयनमा चुके।

तर आईजीपी सिंह भने घिमिरेमाथि असल नियतले नै लगातार सरुवा गरिएको बताउँछन्। नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘घिमिरेले यसअघि एक पटक पनि जिल्ला इन्चार्ज पाएका थिएनन्। उनका ब्याचका अरु २ पटकसम्म जिल्ला गइसके। सुरुमा उसलाई डोटी हालेको त्यहाँ जान मन गरेनन्। पछि मेट्रोभन्दा २ नं गण पठाउँ भनेर त्यहाँ सरुवा गरियो। त्यहाँ भए इन्चार्ज हुन्छ भनेर। तर पछि गणभन्दा राम्रो भनेर जिल्ला प्रहरी कार्यालय इलाम पठाएको हो।’

मेट्रोभन्दा गण राम्रो भएको र अहिले इलाम त्यो भन्दा पनि राम्रो ठाउँमा पठाएको आईजीपी सिंहले बताए। पहिले कप्रमा पनि काम गरेको र जिल्ला इन्चार्ज पनि नपाएकाले इलाम पठाइएको सिंहको भनाई छ। विभागले सबै प्रहरीलाई उस्तै व्यवहार गर्ने पनि उनले दाबी गरे। 

   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .