ad ad

समाज


भारतमा बलात्कृत युवतीलाई अदालत जाँदै गर्दा बाटैमा जलाइयो

भारतमा बलात्कृत युवतीलाई अदालत जाँदै गर्दा बाटैमा जलाइयो

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार ३:२५,

भारतमा बलात्कारमा परेकी एक युवतीलाई अदालतमा बयान दिन जाँदै गर्दा पीडक समूहले बाटैमा समातेर आगो लगाएका छन्।

भारतको उत्तरप्रदेशको रायबरेलीस्थित अदालतमा बयान दिन जाँदै गरेका बेला उन्नाओ जिल्लाकी २३ वर्षीया युवतीलाई जिउँदै जलाइएको हो।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार ती युवतीले गत मार्चमा आफू बलात्कृत भएको भन्दै स्थानीय दुई पुरुषविरुद्ध जाहेरी दिएकी थिइन्।

स्थानीय पत्रकारले बीबीसीलाई बताएअनुसार पीडित युवती उक्त मुद्दा सुनुवाइका लागि बिहीबार अदालत जाँदै गर्दा उनलाई बाटोमा पर्ने रेल स्टेसनमा पाँच पुरुषले पक्रेर नजिकैको खेतमा लगी शरीरमा पेट्रोल छर्किँदै आगो लगाएका हुन्। 

शरीरमा आगो लागेकी ती महिला हारगुहार गर्दै नजिकैको गाउँ पुगेकी थिइन्। उनको शरीरको ९० प्रतिशत भाग जलेको छ।

लखनऊको सिभिल अस्पतालमा उपचार हुन नसकेपछि उनलाई दिल्ली सफदरगन्ज अस्पताल लगिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

उनको अवस्था अत्यन्त नाजुक रहेको चिकित्सकले बताएका छन्।

यस घटनामा संलग्न चार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार रहेको स्थानीय प्रहरीले जनाएको छ।

घटनामा बलात्कारका अभियुक्त समूहकै संलग्नता रहेको प्रहरीको अनुमान छ।

यसबीच भारत उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले पीडित युवतीको उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्।

उपचारमा लाग्ने सबै खर्च सरकारले बेहोर्ने उनले बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .