समाज


११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाइँदै

११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाइँदै

नेपालखबर
असार ५, २०७९ आइतबार १७:३६, ललितपुर

ललितपुरमा ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको फाइजर बायोएनटेकको पहिलो खोप लगाइने भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि १५ गतेसम्म सो खोप कार्यक्रम सञ्चालन गर्न लागको हो।

 स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. सतिश विष्टका अनुसार जिल्लाका ६ वटै पालिकामा खोप कार्यक्रम एकैदिन सुरु हुनेछ।

आइतबार पत्रकार सम्मेलन गर्दै उनले साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्राको खोप कार्यक्रम सन्चालन गर्ने जानकारी दिए। 

खोप कार्यक्रमको लागि खोप केन्द्र र स्थान निर्धारण गर्ने, लक्षित सङ्ख्या निर्धारण गर्ने, जनशक्ति परिचालन गर्नेलगायत तयारी भइरहेको उनले बताए।  

‘जिल्लाका ६ स्थानीय तहमा ८० हजार ४९५ पाँचदेखि ११ वर्षसम्मका बालबालिका रहेको हामीले रेकर्ड पाएका छौँ,’ स्वास्थ्य कार्यालय प्रमुख डा. विष्टले भने, ‘यो सङ्ख्या विद्यालयमा सूचीकृत भएका आधारमा तय गरिएको हो। यसबाहेक तथ्यांक घटबढ हुन सक्नेछ।'

ललितपुर महानगरपालिका बाहेक अन्य पालिकामा एक–एक दिनको समय तोकेर कार्यक्रम अघि बढाइने  तयारी छ।

इँटाभट्टामा काम गर्ने र विद्यालयको पहुँचमा नरहेका बालबालिकालाई पनि सम्बन्धित पालिकाबाट खोप दिइने व्यवस्था मिलाइएको छ। 

बालबालिकालाई दिइने फाइजर खोपको अनुगमन समेत गरिने उनले बताए। ‘यो खोपको रंग फरक छ, जसका कारण प्रयोग गर्न र चिन्न थाहा हुनेछ,’ उनले थपे, ‘यो खोपको प्याकेट सुन्तला रंगको छ।’

बालबालिकालाई दिने खोपको प्रयोग ९१ प्रतिशत प्रभावकारी  मानिएको छ भने अन्य मुलुकमा पनि यसको प्रयोग भइसकेको छ। 

यो खोप ५–११ उमेर समुहका बालबालिकाबाहेक अन्य उमेर समुहकालाई भने दिन नमिल्ने डा. विष्टले प्रष्ट पारे। 
ललितपुरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पहिलो र दोस्रो मात्रा खोप लगाइसकिएको छ। उनीहरूलाई छिट्टै बुस्टर डोज खोप लगाउने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad