NepalKhabar NepalKhabar

समाज


आत्महत्याको चरणमा पुगेको मान्छेलाई उपेक्षा होइन, सहयोग गरौं

आत्महत्याको चरणमा पुगेको मान्छेलाई उपेक्षा होइन, सहयोग गरौं

राधिका अधिकारी
जेठ १८ , काठमाडौँ

गत बैशाख १७ गते तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण पदक दिलाउने भारोत्तोलन खेलाडी सञ्जु चौधरीले आत्महत्या गरिन्। उनले आफ्नै कोठाभित्र आफ्नै सलको पासो लगाएर आफ्नो जीवन समाप्त पारेकी हुन्। 

सात महिनाअघि नेपाल प्रहरीको जागीर छाडेर बसेकी सञ्जु एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीमा समेत छानिएकी थिइन्। एसियाली खेलकुदमा शीर्ष पाँचभित्र पर्ने लक्ष्यसहित दौडिरहेकी सञ्जुले जीवनसँग हार खाएका बेला उनका नजिकका साथीसँग सहयोग मागेको देखिन्छ। तर, उनले मागेको सहयोगलाई उनका नजिकका साथीले मजाक मानिदिए ।

सञ्जुको मृत्युपछि भने उनका साथीहरुले उसले आत्महत्या गर्छु त भनेको, तर मजाकमा भनेको होला भनेर खासै ध्यान दिन नसकेको बताए। उनले साँच्चिकै भनेको हो भन्ने लागेको भए सहयोग गर्थ्यौँ भन्नेखालका उनका साथीहरुका याचना सार्वजनिक भैरहे। तथापि उनीहरुको याचनाले सञ्जुको जिन्दगी फर्किने सम्भावना रहेन।

नेपाली खेल क्षेत्रमा ठूलो सम्भावना बोकेकी सञ्जुको अवसानले देशको खेल क्षेत्रमा ठूलो क्षति पुग्यो। सञ्जुले सहयोग मागिरहेका बेला नजिकका साथीले उनलाई बुझिदिएको भए यो क्षति टरेर जान सक्थ्यो।

गत वर्ष असार २४ मा अभिनेत्री जेनी कुँवरले आत्महत्या गरिन्। उनी थापागाउँस्थित सनसाइज अपार्टमेन्टको आफ्नै कोठामा झुण्डिरहेको अवस्थामा फेला परिन्।

आत्महत्या गर्नुभन्दा अगाडि जेनीले पनि थुप्रै अनौठा व्यवहार देखाएकी थिइन्। उनी कहिले पशुपतिका बाबाहरुसँग भेटिन्थिन् त कहिले आफैं माता बनेर हिँडिरहेकी हुन्थिन्।

जेनीको सवालमा पनि सहयोग गर्नुपर्नेले असहयोग गरेको देखिन्छ। उनको अवस्था बुझेर उनलाई सहयोग गर्नुपर्ने ठाउँमा उनका अनौठा व्यवहारलाई मिडियाले पनि कन्टेन्ट बनाएर फालेको देखिन्छ।

जेनीले देखिने गरी मलाई सहयोग गर नभने पनि उनको व्यवहारले सहयोग मागिरहेको देखिन्थ्यो। तथापि जेनीले जीवनसँग हार मानेको बेला सहयोग पाइनन्। उनले अन्ततः मृत्युको बाटो समातिन्।

मर्नुअघि जेनीले आफू डिप्रेसनको सिकार भएको र मृत्युको बाटो अंगालेको सुसाइट नोट लेखेर पासो लागिन्। त्यसपछि बल्ल उनले देखाएका अनौठो व्यवहारको समीक्षा भयो। उनले चलचित्रमा गरेको लगानी र खेलेका फिल्मको सबैले सम्झना गरे।

जेनीले अनौठो व्यवहार देखाएकै बेला उनको योगदान सम्झना गरेर उनलाई सहायता दिइएको थियो भने उनको अकाल मृत्य टर्न सक्थ्यो कि?

युवा तथा वयस्कले मात्रै होइन, आफू आत्महत्याको चरणमा पुगेका बेला बालबालिका तथा किशोर÷किशोरीले पनि सहयोग माग्ने गरेको मनोपरामर्शकर्ता सुनिता खड्का बताउँछिन्।
अर्को एउटा घटना हेरौं ।

घटना चार वर्षअघिको हो, एकजना १७ वर्षका किशोरले उनका साथीहरुसँग आफूले आत्महत्या गर्ने बताएका थिए। उनले आफ्नै उमेर समुहका साथीसँग आफूले आत्महत्या गरेपछि आफ्नो परिवारमा परेको अप्ठ्यारोमा साथ दिन भनेका थिए। तर, उनका साथीहरुले यो कुरालाई गम्भीर रुपमा लिएनन्।

भोलिपल्ट ती किशोर आफ्नै कोठामा मृत अवस्थामा भेटिए। उनको आत्महत्या पुष्टि भयो।

त्यसपछि बल्ल उनको साथी सर्कलले उनले जीवनको आखिरी बिन्दुमा आफूहरुसँग सहयोग मागिरहेको सम्झिए। ढिलो गरी बुझेको बुझाइले उनको जीवन फर्काउन सकेन।

मानिसहरु चार अवस्थामा आत्महत्याको स्टेजमा पुग्ने गरेको मनोविद् सुनिता खड्काको बुझाइ छ। मानिस किन आत्महत्या गर्छन् त? 

हालसम्मको खोज तथा अनुसन्धानले मानिस डिप्रेसन, मानसिक आघात, बायोपोरल डिसअर्डर र साइकोसिसका कारण आत्महत्याको स्टेजमा पुग्ने गरेको उनी बताउँछिन्। 

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रत्येक वर्ष ८ लाख मानिसहरुले आत्महत्या गर्ने गरेका छन्। जसमध्ये ७७ प्रतिशतभन्दा बढी आत्महत्याका घटना नेपाल जस्ता कम तथा मध्यम आय भएका देशहरूमा हुने उल्लेख गरिएको छ। 

विश्वमा प्रत्येक वर्ष ८ लाख मानिसले आत्महत्या गर्ने गरेको विभिन्न तथ्यांकहरुले देखाउँछ। नेपालमा पनि बितेको एक वर्षमा ४ हजार ७३६ मानिसले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।
यो वर्ष आत्महत्या गर्नेमध्ये सबैभन्दा धेरै ३ हजार ९६६ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। विष सेवन गरेर आत्महत्या गर्नेको संख्या ६९३ रहेको छ भने बाँकीले आफ्नै ज्यानमा आगो लगाएर, हातहतियार प्रयोग गरेर, आफैंले आफैंलाई करेन्ट लगाएर तथा हामफालेर आत्महत्या गरेका छन्।  

नेपालको तथ्यांकले हरेक वर्ष आत्महत्या दर बढेर गएको देखाउँछ। आर्थिक वर्ष २०७६/७७ मा ६ हजार २५२ जनाले आत्महत्या गरेका थिए। जसमध्ये ३ हजार ४०७ पुरुष र २ हजार १८४ महिला छन्। आर्थिक वर्ष २०७७/७८ मा यो तथ्यांक बढेर ७ हजार १४१ पुगेको छ। 

मनोविद सुनिता खड्का अनुसार मानिसले आत्महत्या गर्नुअघि विभिन्न लक्षण देखाउँछन्।  आत्महत्याको चरणमा पुगेका मानिसहरु राम्रोसँग ननिदाउने, उदास देखिने र एकान्तमा बस्न रुचाउने हुन्छन्। गरिरहेको काममा उनीहरुको रुची हराउने, आफूले आफैंलाई घृणा गर्ने र आफ्नो जीवन अर्थहीन भएको महसुस गर्नुका साथै उनीहरुको मनमा नकारात्मक सोचको मात्रा बढ्छ । यस्तो सोचका कारण घरपरिवार, साथीभाइ कसैले पनि उसलाई माया र हेरचाह गर्दैनन् भनेर सोच्ने गरेको खड्का सुनाउँछिन्। 

यस्तो चरणमा पुगेकाले आफ्नो सोचाइमा आएको परिवर्तनका कारण अरुले आफ्नो भावना वा चाहना नबुझेको र आफ्नो भावनाको कसैले कदर नगरेको जस्ता अभिव्यक्ति दिने गरेको खड्काको अनुभव छ। उनी भन्छिन् ‘उनीहरुले मर्न मन लाग्छ भन्ने गरेका छन्। मर्नका लागि विभिन्न प्रयोग गर्नेदेखि विभिन्न तरिकाको खोजी गर्ने गरेको पनि पाइन्छ। कतिपय मानिसहरुले कहिले, कहाँ, कसरी र कुन समयमा मर्ने भनेर योजनासमेत बनाउने गरेको बताउँदै खड्का भन्छिन्, ‘यीमध्ये कतिले आफूमा आएको परिवर्तन आफ्नालाई सुनाउने गरेका छन्।’

उनीहरुले आफूमा आएको मानसिक परिवर्तन आफ्ना नजिकका मानिसहरुलाई मात्रै भन्ने गरेको बताउँदै खड्का भन्छिन् ‘कुनै व्यक्तिको भावना, विचार र व्यवहारमा अचानक परिवर्तन देखिन्छ र उसका गतिविधिले उसकै जीवनमा असर गरेको देख्नुभयो भने उनीहरुलाई साथ दिउँ। उनीहरुको ख्याल गरौं।’

खड्का अगाडि थप्छिन् ‘सामाजिक सञ्जालमा आफ्ना नजिकका साथीहरुले म एक्लो महसुस गरिरहेको छु, म टाढा जान चाहान्छु, मलाई अब बाँच्न पुग्यो भन्ने आशय बोकेका भनाइ देखेको खण्डमा उनीहरुलाई वेवास्ता नगरौं।’

कसैमा पनि यस्ता किसिमका व्यवहार देखेको खण्डमा उनीहरुलाई नडराई ‘के तिमी आत्महत्या गर्ने बारेमा सोच्दैछौ?’ भनेर प्रश्न गर्न खड्का सुझाव दिन्छिन्।

योबेला प्रश्नकर्ता आफैं आत्तिएको भावमा प्रस्तुत हुन नहुने खड्काको भनाइ छ। उनी भन्छिन् ‘उसका कुरालाई गम्भीररुपमा लिएको जस्तो नगर्नुहोस्। तर, समान अनुभूति र सहयोगको भावना भने देखाउनुहोस्। त्यसपछि उसका कुराले तपाईलाई अत्यन्तै दुःखी, चिन्तित र पीडित बनाएको र ऊ तपाईंका लागि महत्वपूर्ण व्यक्ति भएको महसुस गराउनुहोस्। उनीहरुलाई सम्बन्धित मानिसहरुलाई भेट्न सहयोग गर्नुहोस्। यस्तो अवस्थामा उनीहरुलाई भेटेर, समय दिएर आफूसँगै रहेको महसुस गराउनुहोस्। यसो गर्नाले उनीहरुको मानसिक अवस्था फर्किन्छ र सम्भावित दुर्घटना टरेर जान्छ।’

मनोविश्लेषक बासु आचार्य आत्महत्याको स्टेजमा पुगेका मानिसलाई परिवार र समाजको उचित सहयोग चाहिने बताउँछन्।

आचार्यका अनुसार धेरै मानिसले मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेका छन्। धेरैले मानसिक समस्यालाई पारिवारिक र सामाजिक प्रतिष्ठासँग जोडेर घरभित्रै लुकाएर राख्ने अनि उनीहरुलाई वेवास्था गर्नाले पनि आत्महत्याको दर बढेर गएको हो।

आचार्य भन्छन् ‘आत्महत्याको चरणमा पुगेका मानिसले कुनै न कुनै बेला आफूलाई आत्महत्या गर्न मन लागेको कुरा व्यक्त गरेका हुन्छन्। उनीहरुले यस्ता कुरा अभिव्यक्त गरेको समयमा उनीहरुलाई ख्याल गर्नुपर्छ। उनीहरुसँग खुलेर कुरा गर्नुपर्छ। उनीहरुभित्र आएका समस्याका कुरा सुनिदिनुपर्छ। उनीहरुका कुरा सुन्ने वातावरण सिर्जना गरिदिनु पर्छ। जसका कारण उनीहरु आफूलाई हलुका भएको महसुस गर्छन्, र आत्महत्याको विचार परित्याग गर्न सक्छन्।’

मनोविश्लेषक आचार्यका अनुसार आत्महत्याको सोच बनाएका ९५ प्रतिशत मानिसले योजनावद्ध रुपमा आत्महत्या गर्ने गरेका छन्।

विनाकारण आफ्ना नजिकका मानिसमा भावनात्मक उतारचढाव आएको खण्डमा उनीहरुलाई आत्मियताको महसुस गराउन आचार्यको सुझाव छ। उनी भन्छन् ‘यो समय उनीहरु एकदमै रिसाउने, झर्किने, छिटो हतोत्साहित हुने, अस्वाभाविकरुपमा दुःखी तथा खुसी लक्षण देखाउँछन्। उनीहरु कतिपय कुराको प्रतिकृया दिँदैनन्।, आफ्नो सरसफाइमा वास्ता नगर्ने, कुनै कुरामा पनि रुचि नदेखाउने जस्ता नैराश्यता झल्काउने लक्षणहरु देखाउन थाल्छन्।’ 

आचार्यको सुझाव छ, ‘कसैमा पनि आएका यस्ता प्रकारका बदलाव आफ्ना नजिकका मानिसले बाहेक अरुले महसुस गर्न सक्दैनन्। त्यसैले उनीहरुमा आएको बदलाव हेरेर साथ दिनुपर्छ।’
आचार्यका अनुसार आत्महत्याको स्टेजमा पुगेको मानिसले आफूलाई आफूले आफैंलाई हानी नोक्सानी तथा शारीरिक असर पार्ने व्यवहार र आफू मर्ने कुरा गरिरहन्छन्। त्यहीअनुसार मर्न गोप्य रुपमा तयारी समेत गरेका हुन्छन्।

उनीहरुले मेरो कोही छैन, मलाई कसैले हेर्दैनन्, म केको लागि बाँच्ने भन्ने शब्दहरु व्यक्त गरिरहेको पाइने मनोविश्लेषक आचार्यको भनाइ छ।

त्यस्तै गम्भीर तनाव र डिप्रेसनका बीच पनि कुनै व्यक्ति अचानक शान्त हुन थाल्यो भने त्यो व्यक्ति कुनै गलत निर्णयमा पुगिसकेको हुने भन्दै यो समय उनीहरुलाई एक्लै नछोड्न आचार्यको सुझाव छ। 

के गर्ने यस्तो अवस्थामा ?
यस्तो अवस्थामा पुगेको मानिसले मनोचिकित्सकको सहयोग लिनुपर्ने मनोपरामर्शदाता सुनिता खड्का बताउँछिन्। यस्तो अवस्थामा मनोचिकित्सकको सम्पर्कमा गएर उनीहरुको सुझाव, सल्लाह र मार्गनिर्देशनअनुसार आफूलाई व्यवस्थापन गर्न सकिने खड्काको भनाइ छ। उनीहरुमा ‘सुसाइकल थर्ट’ के कारणले आइरहेको छ बुझेर मनोचिकित्सकहरुले सहयोग गर्न सक्ने उनको भनाइ छ। 

यस्तो अवस्थामा नजिकका मानिसले सक्रिय सहयोगीको भूमिका खेलिदिनुपर्ने खड्का बताउँछिन्। उनी भन्छिन् ‘यस्तो अवस्थामा सक्रिय रूपमा सहयोगी बन्ने र समय समयमा के चाहिन्छ, कस्तो छ भनेर अन्तरक्रिया गरिरहने। अन्तरक्रियाको क्रममा जीवनका बारेमा सकारात्मक परिवर्तन ल्याउने कुरा गर्ने। स्वास्थ्य र सरसफाईका बारेमा छलफल गर्ने र सँगै बस्न प्रेरित गर्नुपर्छ। उसका लागि हानिकारक हुने खालका वस्तु उनीहरुको पहुँच नपुग्ने ठाउँमा राख्ने र धैर्यताका साथ उनीहरुको सहयोगी बनिदिने किनकी उसलाई तपाईंको सहयोग र साथ लामो समयसम्म आवश्यक पर्नसक्छ।’ 

मनोचिकित्ससँगको परामर्शपछि योग अभ्यास, ध्यान र प्रणायामले पनि उनीहरुमा सकारात्मक भावनाको विकास गराउने मनोविश्लेशक वासु आर्चाय बताउँछन्। उनी भन्छन् ‘दैनिक अभ्यास गरेको खण्डमा मानसिक अवस्थामा आएको उच्च र कम दबावलाई नियन्त्रण गर्छ। माइन्डफुलनेस  बेस कगनेटिभी थेरापीले नकारात्मक सोचाइलाई कसरी हटाउने भन्ने सिकाउँछ।

यसको नियमितरूपमा अभ्यास गरेमा डिप्रेसनमा सुधार हुँदै जान्छ। किनभने योग अभ्यास, ध्यान र प्रणायामले मानसिक स्वास्थ्यका लागि चाहिने हर्मोन उत्पादन गर्न थाल्छ।’ 

अर्का मनोसामाजिक परामर्शदाता जितेन राई आत्महत्या गर्न लागेको मान्छेलाई बुझ्ने र सहयोग गर्नाले सम्भावित दुर्घटना टर्नसक्छ भन्ने बुझाइ कम भएको बताउँछन्।

पछिल्लो समय चासो बढेपछि श्रोत साधन र सेवाहरू पर्याप्त नभएको उनको तर्क छ। परिवार तथा नजिकका साथी चनाखो हुन सकेको खण्डमा आत्महत्याको चरणमा पुगेको मानिसलाई फर्काउन सकिने राईको धारणा छ। उनी भन्छन् ‘आत्महत्या अत्यन्तै संवेदनशील विषय भएकाले मनोचिकित्सक या मनोवैज्ञानिकको सल्लाहअनुसार सहयोग गर्नुपर्छ।’

जेठ १८, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.