काठमाडौं महानगरका वडाबाट अहिले वरिष्ठ जेष्ठ नागरिकलाई महानगर बिशेष भत्ता वितरण भइरहेको छ।
यस प्रकारको भत्ता ७५ वर्ष उमेर पूरा भएका महिला र ८० वर्ष उमेर पूरा भएका पुरुष जेष्ठ नागरिकलाई जनही १२ हजार रुपैयाँ प्रदान गरिँदै आएको छ। महानगरभित्र स्थायी बसोबास गर्ने नागरिकलाई प्रदान गरिने यो भत्ता यस वर्ष १ हजार ९ सय ३६ पुरुष र ५ हजार ६ सय २१ जना महिलाले प्राप्त गर्दै आएक छन्।
यसमध्ये सबैभन्दा बढी वडा नंं २७ मा ७६ पुरुष र ३१५ महिला गरी ३९१ जना रहेका छन्। त्यसपछि वडा ४ मा ९७ पुरुष र २५७ महिला गरी ३५४ जना नागरिक छन्। तेश्रोमा वडा १४ र २५ मा बराबरी ३४० जना रहेका छन्। त्यहाँ क्रमश महिला २४४ र २७० तथा पुरुष ९६ र ७० जना रहेका छन्।
सबैभन्दा कम जेष्ठ नागरिक हुने वडा १६ हो। यस वडामा ४५ जना पुरुष र ८७ जना महिला गरि १३२ जना जेष्ठ नागरिक छन्। त्यसपछि कम हुनेमा वडा २० र २२ पर्छन् । यी वडामा क्रमश १४१ जना महानगरबाट भत्ता पाउने नागरिक छन्। यी वडामा पुरुषको संख्या क्रमशः ३० र २८ छ भने महिलाको संख्या १११ र ११३ छ। तेश्रो कम हुने वडा ८ हो। यस वडामा ४४ जना पुरुष र १०७ जना महिला गरि १५१ जना महानगर भत्ताको हकदार छन्। महानगर भत्तावापत यसरी वितरण हुने भत्ता रकम ९ करोड ६ लाख ८४ हजार रुपैयाँ हुन्छ।
जेष्ठ नागरिकले समाजलाई पुर्याएको योगदानको सम्मान स्वरुप यो भत्ता वितरण गरिएको हो। महानगरका प्रमुख बिद्यासुन्दर शाक्य कोही पनि जेष्ठ नागरिकले मेरो कोही पनि छैन भन्ने महसुस गर्नु नपरोस् भनेर भत्ता दिइएको बताए। मेयर शाक्यले भने ‘जेष्ठ नागरिकले जीवनको उर्वर समय समाज र परिवारका लागि विताए। पाको उमेरमा बेसहारा भएँ भन्नु नपरोस्। हामीले जेष्ठ नागरिक मनोरञ्जन केन्द्र स्थापना गरिरहेका छौं। सहरका कोही पनि जेष्ठ नागरिकले अब एक्लो महसुस गर्नुपर्दैन।’
Shares

प्रतिक्रिया