ad ad

समाज


१० बजेर ५८ मिनेटसम्म उत्सवको मोबाइलमा घन्टी लागिरह्‍यो

१० बजेर ५८ मिनेटसम्म उत्सवको मोबाइलमा घन्टी लागिरह्‍यो

सागर न्यौपाने
जेठ १६, २०७९ सोमबार १३:३२, काठमाडौँ

आइतवार बिहान एघार बज्न २ मिनेट बाँकी हुँदासम्म जब उत्सव पोखरेलको मोबाइलमा  घन्टी गइरह्यो तर उठेन।

जहाज बेपत्ता भएपछि बिहान ११ बजेसम्म त्यसमा सवार यात्रुको अवस्थाबारे अनेक किसिमका अड्कलबाजीसहित समाचार सार्वजनिक भइसकेका थिए।

त्यही बेलामा आफैंले हुर्काएका उत्सवको खोजीमा लगातार फोन गरिरहेका थिए उनका फूपुदिदीका छोरा मदनकुमार गौतमले।

मदनले भाइ (उत्सव) लाई निरन्तर फोन गरिरहँदा नउठेको कुरा मामामाइजूलाई बताइरहेका थिए। 

त्यसपछि पनि उनले उत्सवलाई म्यासेज गरिरहे। तर कुनै जवाफ आएन। उनी चाहन्थे उत्सव सकुशल रहून्। तर सोमबार बिहान जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो।

तारा एयरको विमानमा परेका को–पाइलट उत्सव पोखरेल रुकुम चौरजाहारीका पहिलो पाइलट हुन्।

फिलिपिन्सको रोयल एभिएसन एकेडमीबाट पाइलट कोर्स पूरा गरेका उनले एक वर्षअघि तारा एयरको फस्ट अफिसर बनेर जागिर सुरु गरेका हुन्।

एक हप्तादेखि पोखरामै रहेर त्यस आसपास लुक्ला, जोमसोम उडान भरिरहेका उनी आइतबार पनि क्याप्टेन प्रभाकरसँगै तारा एयरकै विमानमा जोमसोम जाने टिममा थिए।

शनिबार अलि बढी व्यस्त भएको उनले काठमाडौंमा रहेका दाई मदनकुमार गौतमलाई जानकारी पठाएका थिए।

गौतमका सहोदर मामाका छोरा हुन् उत्सव। घरका कान्छा छोरा हुन् उनी।

काठमाडौं रहेका गौतमसँग उनको निरन्तर संवाद भइरहन्थ्यो।

शनिबार कुरा हुँदा आइतबार साप्ताहिक विदा मनाउन काठमाडौं फर्कने बताएका थिए।

एक हप्ता नियमित काम गरेपछि ४ दिन विदा मनाउन पाउने भएकोले उनी आइतबार विहानको फ्लाइटमा काठमाडौं आउँदै थिए।

उनको पोखरा– जोमसोम अन्तिम फ्लाइट थियो।

जोमसोम पुगेर फर्किएपछि सिधै काठमाडौं आउने तयारीमा थिए।

फ्लाइट सकाएर काठमाडौं आउने तयारीमा थियो,’ दाई गौतमले भने, ‘तर, विहान ऊ चढेको विमान वेपत्ता भएको समाचार फैलियो, अनि मैले हत्तपत्त कल गरेँ फोन लाग्यो तर उठेन।’

‘प्लेनको कलसाइन मिलेको, रुट पनि मिलेकोले म धेरै अत्तालिए, मैले फेरि फोन गरेँ, १० : ५८ सम्म लाग्यो,’ गौतमले नेपालखबरसँग भने, ‘ अनि म्यासेज गरेँ तैँले नै विमान उडाएको होस् कि क्या हो ?’

‘मेसेजको जवाफ नआएपछि आफ्नो शरीरले कामै गर्न छोडेको उनले बताए । जब फोन लागेर उठेन, म्यासेजको जवाफ आएन अनि मेरो शरीरले काम गर्न सकेन, म लल्याक लुलुक भएर गरेँ,’ उनले भने।

पाइलट कोर्स सकाएर पनि उत्सव एकवर्ष त्यसै बस्नुपरेको थियो।

‘नाम त निकालेको हो तर कोभिड लगायतका कारण जागिर सुरु गर्न ढिला बोलायो,’ गौतमले भने, ऊ मिहिनेती थियो।’

कोभिडका कारण उसले पाइलट कोर्स पूरा गर्नेबित्तिकै काम गर्न पाएन।

२५ वर्षीय उत्सवका बुबा शिक्षण पेशामा छन्। रुकुम चौरजहारी नगरपालिका वडा नम्बर ३ का उत्सव सिनियर पाइलट प्रभाकर प्रसाद घिमिरेसँग उडान भरिरहेका थिए।

एक वर्षअघिदेखि उनले सिनियर पाइलटसँग विमान उडाएका थिए।

घरका कान्छा छोरा वेपत्ता भएको सुनेपछि परिवारका सदस्य मुर्छित छन्। उनीहरु बेलुकै पोखरा पुग्नेगरी हिडेँका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .