ad ad

समाज


बिरामीलाई बलात्कार प्रयास गर्ने चिकित्सकविरुद्ध मुद्दा, अस्पतालबाट हटाइए

बिरामीलाई बलात्कार प्रयास गर्ने चिकित्सकविरुद्ध मुद्दा, अस्पतालबाट हटाइए

दीपक खरेल
मंसिर १०, २०७६ मंगलबार १४:१७,

उनी नियमित स्वास्थ्य जाँचका लागि आइतबार साढे ३ बजे ललितपुरको भैंसेपाटिस्थित मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल पुगिन्।

सम्पूर्ण स्वास्थ्य जाँच (होलबडी चेकअप) गर्न उनी अस्पताल पुगेकी थिइन्। अन्य सबै जाँच भइसकेको थियो। आइतबार मेडिसिटीका जनरल मेडिसिनका डा रोहितकुमार झाले जाँच गरेर अन्तिम प्रतिवेदन दिनुपर्ने थियो।

ती महिला कार्यालयका अर्का एकजना कर्मचारीसँगै अस्पताल गएकी थिइन्।

झाको कक्षमा प्रवेश गरेपछि उनीसँग केही मिनेट अनौपचारिक कुराकानी भयो। उनले आफ्नो परिवारका सदस्यबारे पनि बताइन्। झाले उनले भनेका व्यक्तिलाई आफुले चिनेको जवाफ फर्काए। महिलाले राम्रो उपचार पाउने आशामा सो परिचय समेत खुलाएकी थिइन्।

तर झाले उपचारका लागि आएकी ती ३३ वर्षीय महिलासँगको विषय प्रसंग बदले। केही समय उनले ती महिलाको सौन्दर्यको चर्चा गरे।

त्यसपछि उनले नियमित जाँच सुरु गरे। चिकित्सक झाले स्टेथेस्कोपले उनलाई जाँच्न थाले। स्टेथेस्कोपले महिलाको छातीमा जाँच गर्दागर्दै स्तन समाउन पुगे तर, महिलाले असहज महसुस गर्दै प्रतिक्रिया जनाएपछि पछि हटे।

त्यसअघिको घटना ‘झुक्किएर भएको होला’ भनी युवती थप जाँचका लागि तयार भइन्। चिकित्सक कक्षको जाँच पलङमा पल्टिइन्। त्यसपछि झाले पेटको जाँच गर्न सुरु गरे।

झाले त्यसलगत्तै उनको तल्लो पेट जाँच गर्न थाले। तर, उनी आवश्यक जाँचमा मात्रै सीमित भएनन्, महिलाको संवेदनशिल अंगतर्फ हात लग्नथाले।

त्यसपछि महिला अत्तालिँदै बाहिर निस्किइन्। उनी निस्कँदै गर्दा झाले ‘गल्ती भयो, दाइलाई केही नभन्नु है’ भन्न भ्याए।

‘जाँचमात्र होइन भन्ने हेक्का हुनासाथै पीडित दौडँदै बाहिर निस्कनुभयो’, घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी परिसरका डीएसपी सन्तोष तामाङले भने, ‘जर्बजस्तीकरणी उद्योगको जाहेरीअनुसार कारबाही अघि बढेको छ।’

अनुसन्धान अधिकारीहरुका अनुसार महिला दौडिँदै आफुसँगै अस्पताल गएका अर्का कर्मचारीलाई भेटन पुगिन्। उनी ती कर्मचारीका अघि रुन थालिन। उनले कारण सोधे, महिलाले झाको हर्कतबारे सुनाइन्।

‘पीडितसँगै अस्पताल गएका कर्मचारीले भिडियो रेकर्ड गर्दै आरोपीलाई घटनाको विषयमा सोधेका छन्’, ती अनुसन्धान अधिकारीले भने, ‘झाले आफुबाट गल्ती भएको स्वीकारेका छन्।’

आइतबार यो घटनापछि पीडित र उनको परिवार प्रहरी सम्पर्कमा पुगेका थिए। परिसरमा सोमबार औपचारिक जाहेरीपछि प्रहरीले नियन्त्रणमा लिएर मंगलबार चिकित्सक झाबिरुद्ध करणी उद्योगमा ललितपुर जिल्ला अदालतबाट चार दिनको अनुसन्धान म्याद लिएको छ।

काउन्सिलले पनि अनुसन्धान गर्ने
मेडिसिटी अस्पतालमा आइतबार भएको सो घटनाको नेपाल मेडिकल काउन्सिलले पनि अनुसन्धान गर्ने भएको छ।

काउन्सिलले घटनाका विषयमा मंगलबार मेडिसिटी अस्पताल र परिसर ललितपुरलाई पत्राचार गर्दै घटनाको यथार्थ जानकारी लेखिपठाउन आग्रह गरेको छ।

काउन्सिलको व्यवसायिक स्वास्थ्य आचरणसम्बन्धी समितिका संयोजक डाक्टर विश्व दुवाडीले सो घटनालाई आफुहरुले गंभिररुपमा लिएको र काउन्सिलले त्यसको विस्तृत अनुसन्धान गर्ने बताए।

‘यो गंभिर घटना हो, यस विषयमा काउन्सिलले मेडिसिटी र प्रहरीलाई पत्र काटेको छ’, नेपालखबरसँग डा. दुवाडीले भने, ‘घटनाबारे विवरण प्राप्त हुनासाथ कारवाही प्रक्रिया अघि बढनेछ।’

मेडिसिटी पछि हट्यो
आफ्ना चिकित्सकबाट गम्भिर घटना भएपछि मेडिसिटी अस्पताल प्रशासन भने पछि हटेको छ। अस्पताल व्यवस्थापनको सोमबार बसेको बैठकले चिकित्सक झा सम्वद्ध घटना उनी आफैंले सामना गर्ने भन्दै उनलाई कामबाट निकालेको छ।

व्यवस्थापन बैठकमा सहभागी रहेका चिकित्सक झालाई त्यहाँबाट निस्कनासाथ परिसर ललितपुरको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।

विश्व मान्यताको उल्लंघन 
काउन्सिलको अनुशासन समितीका संयोजक डा. दुवाडीका अनुसार फरक लिंगका व्यक्तिको स्वास्थ्य जाँच गर्दा सोही लिंगका एकजना स्वास्थ्य सहायक वा परिवारका सदस्यको अनिवार्य उपस्थिति हुनुपर्छ।

उनका अनुसार शरिर जाँच गर्दाको अवस्थामा चिकित्सक पुरुष र बिरामी महिला भए त्यहाँ महिला स्वास्थ्य सहायक वा बिरामीको परिवारका सदस्य उपस्थित रहनुपर्छ। विश्वव्यापी मान्यताअनुसार बिरामीका साथमा कोही नभए अस्पताल वा चिकित्सकले एकजनाको उपस्थितिमा स्वास्थ्य जाँच गर्नुपर्छ। तर, आइतबारको घटनामा यी दुबै गरेको पाइएन।

‘चिकित्सकबाट यस्ता व्यवहारको कल्पनासम्म पनि गर्न सकिंदैन’, डा दुवाडीले भने, ‘आइतबार मेडिसिटी अस्पतालमा भएको घटनामा यो कमजोरी देखिएको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .