सुदूरपश्चिमको राजधानी रहेको सबैभन्दा ठूलो जिल्ला कैलालीमा सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सिट बाँडफाँडमा सहमति भएको छ।
तीन दलबीचको सहमती अनुसार ६ पालिका प्रमुख र ६ पालिका उपप्रमुख नेपाली काँग्रेसको भागमा परेको छ। ४ पालिका प्रमुख र ५ पालिका उपप्रमुख माओवादी केन्द्रले पाउने र २ पालिका प्रमुख र एक पालिका उपप्रमुख एकीकृत समाजवादीले पाउने सहमती तीन दलले गरेका छन्।
गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसले उम्मेदवार उठाउने छ। अन्य दलले कांग्रेस उम्मेदवारलाई सहयोग गर्नेछन्।
काँग्रेसले प्रमुख पाएका गोदावरी नगरपालिकामा एकीकृत समाजवादी र अन्यमा माओवादी केन्द्रले उपप्रमुख पाएको छ।
यस्तै गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, कैलारी र मोहन्याल गाउँपालिकाको प्रमुख माओवादी केन्द्रले पाएको छ।
चुरे गाउँपालिका र घोडाघोडी नगरपालिका एकीकृत समाजवादीले पाएको छ । यी सबै पालिकामा उपप्रमुख नेपाली काँग्रेसको भागमा परेको छ।
केन्द्रको सहमति अनुसार धनगढी उपमहानगरको मेयर काँग्रेस र उपमेयर माओवादी केन्द्रको भागमा परेको छ।
Shares
प्रतिक्रिया