ad ad

समाज


घर र माइतीको इज्जतका लागि छोरीहरू कहिलेसम्म मरिरहने?

घर र माइतीको इज्जतका लागि छोरीहरू कहिलेसम्म मरिरहने?

राधिका अधिकारी
बैशाख ४, २०७९ आइतबार १५:४६, काठमाडौँ

२०७७ असारमा २२ वर्षीया सुस्मिता थापा आफ्नै घरमा झुण्डिरहेको अवस्थामा फेला परिन्। एक वर्षअघि सवारी दुर्घटनामा श्रीमान गुमाएर बसेकी सुस्मिताको मृत्युमा उनका सासु ससुराले पनि शोक मनाए।

परिवारले उनको आत्महत्या बतायो। ​सुस्मिताका माइती भने आफ्नी छोरीले आत्महत्या गरेको मान्न तयार थिएनन्। उनीहरुले प्रहरीमा उजुरी गरे। त्यसपछि अनुसन्धान सुरु गरेको प्रहरीले सुस्मिताको मृत्युको दुई सातापछि उनको आत्महत्या नभएर हत्या भएको पत्ता लगायो। 

सुस्मिताको हत्या सामान्य तरिकाबाट गरिएको थिएन। उनलाई आफ्नै ससुराले बलात्कार गरि हत्या गरेको पुष्टि भयो। सुस्मिताको बलात्कार र हत्यामा उनका नन्द र सासुले साथ दिएको प्रहरीले अनुसन्धानपछि तथ्य सार्वजनिक गर्यो।

महिनावारी भएर बसेकी सुस्मितालाई बलात्कारपछि उनका ससुरा प्रकाश, सासू तुलसाकुमारी र नन्द सिताले काठको लौराले कुटेर हत्या गरेका थिए। सुस्मिताको हत्याको आरोपमा उनका सासु, ससुरा र नन्द पक्राउ परे। 

सुस्मिताको हत्या अगावै उनको परिवारले थुप्रै क्रुर मानसिक यातना दिएको थियो। सवारी दुर्घटनामा ज्यान गुमाएका उनका श्रीमानको मृत्युको दोषी ठानेर सुस्मिता माथि भएका ज्यादतीलाई लिएर सुस्मिताले बारम्बार माइती गुहारेकी थिइन्।

उनका माइतीले आफ्नी छोरीका लागि माइतीको दैलो खुल्ला राख्न सकेनन्। २२ वर्षकी छोरीले भोगेको यातना भन्दा ठूलो भइदियो माइतीको इज्जत। त्यही इज्जत धान्दा धान्दा सुस्मिताले मृत्युवरण गर्नु पर्यो। 

सुस्मिता हत्याको दुई वर्षपछि उस्तै प्रकृतिबाट रुपन्देही तिलोत्तमाकी २९ वर्षीया अमृता टन्डन खत्रीको मृत्यु भयो। ९ वर्षअघि प्रेम विवाह गरेकी अमृताले घरमा हिंसा भोग्न थालेको लामो समय भैसकेको थियो। अमृताले बारम्बार आफूमाथि भएको मानसिक तथा शारीरिक हिंसाका बारेमा माइतीलाई जानकारी गराएकी थिइन्। 

अमृता हिंसामा परेको खबर पाएर बहिनीको घर आउने दाजु भाउजूले पनि उनलाई बारम्बार ‘केही परे खबर गर्नु’ भनेर छोडेर गएको देखिन्छ। मृत्युको अघिल्लो दिन पनि उनी माइती गएकी थिइन्।

गत बुधबार दिउँसो माइतीबाट फर्किएकी अमृता त्यही राती ९ बजे विष सेवन गरेर छटपटाइरहेको अवस्थामा फेला परिन्। उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगियो। तर उनको मृत्यु भैसकेको थियो। 

अमृताले विष सेवन गर्नुअघि आफ्ना दाजुसँग सहयोग मागेकी छिन्। उनले दाजुलाई ‘म मर्न चाहन्नँ, म यहाँ बस्न नि सक्दिनँ। प्लिज दाइ हजुरको बोझ नि हुन चाहन्नँ। दाइ मलाई यहाँबाट निकालिहाल्नु। हेल्प गर्नु म निस्कन्छु।’ 

यसअघि अमृताले आफ्ना माइती पक्षसँग कति पटक गुहार मागिन् होला। वर्षौंदेखि मानसिक र शारीरिक हिंसा सहँदै आएकी छोरीले आफूले सहेको पीडा भन्दै गर्दा बाबु आमाले ‘तिम्रो लागि माइतीको ढोका खुल्ला छ।

त्यो अन्याय सहन त्यहाँ नजाउ’ भन्न सकेको भए उनको अकाल मृत्यु टर्ने सम्भावना थियो। तर विवाहित छोरीले माइती र घरको इज्जतका लागि आफ्नो ज्यान फाल्नु पर्ने प्रवृत्तिलाई निरन्तरता दिन अमृता बाध्य बनेकी छन्। 

अमृताको मृत्युपछि उनको आत्महत्या नभएर हत्या भएको भन्दै माइती पक्षले उजुरी गरेको छ। अमृताले विष सेवन गरेको उनको घरमा दिनहुँजसो नारा भैरहेका छन्। तिलोत्तमा अशान्त  बनेको छ। तर माइतीको आक्रोश, आफन्तको नारा–जुलुस र प्रहरीको अनुसन्धानले २९ वर्षको अल्पायुमा मृत्यु वरण गरेकी अमृताको जीवन पुनः फर्किएर आउँदैन्। 

१२ पढ्दा पढ्दै प्रेम विवाह गरेकी अमृताले भारतमा गएर ब्युटीपार्लर सिकेकी थिइन्। नेपाल आएर सोही व्यवसाय गर्न खोज्दा सासुले नदिएपछि उनले फर्निचर उद्योगमा काम गर्न थालिन्।

उनको काम परिवारलाई मन परेको थिएन। एक छोराकी आमा अमृतालाई उनीहरुले खर्च समेत दिने गरेका थिएनन्। छोराको पढाइमा पनि आफैँले खर्च गर्नुपर्ने भएपछि उनले परिवारले मन नपराए पनि कामलाई निरन्तरता दिँदै आएकी थिइन्।

परिवारमा कयौँ पटक झगडा भएको, माइती र घरका मानिस बसेर मिलापत्र गराएका ‘केस’हरु पनि सार्वजनिक भैरहेका छन्। मृत्युपछि उनले भोगेका यातनाको लामो फेहरिस्त निकाल्ने समाज र परिवारले अमृताले ज्यूँदै हुँदा बाँच्नका लागि गरेको याचना किन सुन्न सकेन? अमृताको न्यायको माग गर्दै जम्मा भएको भीडमा प्रश्न चिच्याइरहेको भान हुन्छ। 

यी दुई सामान्य उदाहरण मात्रै हुन् लामो हिंसा र यातनापछि हत्या र आत्महत्याको खबर बनेर आएका छोरी–बुहारीको। 

अधिकांश बुहारी हत्या तथा आत्महत्याका घटनाका पछाडी घरेलु हिंसा जोडिएर आएका छन्। छोरीहरुका लागि हाम्रो समाजमा विवाह, परिवार र सम्बन्ध आज पनि निक्कै कठोर देखिँदै आएको छ। हिजो त कठोर छँदै थियो। नेपाली समाज विवाहित छोरीहरुका लागि उद्धार हुन सकेको देखिँदैन। घरेलु हिंसा सहेर बस्न बाध्य छोरीलाई माइती पनि तिम्रो घर हो भनेर व्यवहार गरिँदैन। 

कमला भसिनले भनेकी थिइन् ‘छोरीहरूले जब विवाह भएर गएको घरमा असुरक्षा महसुश गर्छन्, उनीहरु निर्धक्क आफ्नो जन्म घरमा फर्कने र विवाह अगाडि जस्तै रहने वातावरण नहुँदासम्म उनीहरुमाथि हिंसाको थप उग्र रुप निम्तिई रहन्छ। छोरीलाई घरेलु हिंसाबाट जोगाउने पहिलो शर्त भनेकै पीडकबाट टाढा राख्ने हो।’

तर जन्मघरदेखि नै सुरु भएको बहुआयामिक विभेदले छोरीलाई हिंसा सहन बाध्य बनाएको छ। नेपाली महिलाको न त सम्पती माथिको अधिकार सुनिश्चित छ नत उनीहरुको सुरक्षित बासस्थान नै छ। कानूनमा उल्लेख भएका महिलाका अधिकार पनि कागजमै सिमित भएको अवस्था छ।

राज्यको प्राथमिकतामा हिंसामा परेका महिलाहरु कहिल्यै पर्न सकेका छैनन्। विवाह गरेको घरबाट लत्याइएका महिला अधिकांश अहिले पनि घर न घाटका हुने गरेका छन्। उनीहरुलाई राख्ने  पुनर्स्थापना गृह छैनन्। 

घर बस्न नसकेर माइती आएकी छोरीलाई बुझ्न सक्ने गरी समाजको चेतना विकास भएको छैन। घर छोडेर बाबु आमासँग बस्न आएकी छोरीको पीडा आमा–बाबुले मात्रै बुझिदिने र बिनासर्त माइतमा बस्ने अनुमति दिने हो भने कम्तीमा अमृता, सुस्मिताहरुले झैँ कलिलै उमेका छोरीहरूले आत्महत्याको बाटो समात्नु पर्दैनथ्यो।

सम्मानित जीवनभन्दा धेरै  पर गएर बाँच्नकै लागि विभिन्न लडाईं लड्नु पर्ने छोरीहरुको सुरक्षाका लागि सरकारले पुनर्स्थापना केन्द्र खोल्ने हो भने पनि छोरी–बुहारी हत्या र आत्महत्याको कहालीलाग्दो तथ्यांक घट्ने देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .