सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ स्थित भुमहीबाट करिब सात लाख २५ हजार रुपैयाँ बराबरको चौपायासहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ५ बस्ने ४१ वर्षिय सुनिल भुजेल छन् ।
सशस्त्र प्रहरी जिल्ला कमाण्ड पोष्ट परासीबाट खटिएको एपीएफ टोलीले ना ५ ख १३४१ नम्वरको ट्रकमा जाँच गर्दा बिना कागजपत्र उल्लेखित मुल्य बराबरको २९ वटा गोरु ल्याउदै गरेको फेला परेपछि उनलाई पक्राउ गरिएको हो।
एपीएफ टोलीले त्यसबेला उक्त ट्रकसमेत बरामद गरेको छ। एपीएफ टोलीले भुजेललाई बरामद गोरु तथा ट्रकसहित आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाएको।
यता, सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ५ सखुवाबाट मंसीर ५ गते एपीएफ टोलीले अवैध रुपमा बालुवा बोकेको ट्याक्टर सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षिय अर्जुन राय छन्। ज १ त ९३७२ नम्वरको ट्याक्टरमा नेपालबाट भारततर्फ अवैध रुपले बालुवा लैजादै गरेको अवस्थामा निज रायलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका निज रायलाई बरामद बालुवा तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाईएको छ। उक्त ट्याक्टरको भन्सार दाखिला मुल्य आठ लाख तीन हजार रुपैयाँ रहेको छ।
यस्तै, सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ उल्ली स्थित सिमा ईलाकाबाट मंसीर ५ गते एपीएफ टोलीले करीव एक लाख ४६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ। भारतबाट अवैध रुपले नेपालतर्फ दुई वटा मोटरसाईकलमा राखेर ल्याउदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। त्यसबेला उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल समेत बरामद गरिएको हो।
बरामद लत्ताकपडा तथा मोटरसाईकल सेतुबन्ध भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ।
यसैगरि, सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले मंसीर ५ गते करीव एक लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ। भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त सामान एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित ईनरुवाबाट बरामद गरेको हो।
बरामद सामान बीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ।

प्रतिक्रिया