समाज


समाजवादी पार्टीको भोजभतेर प्रहरीले रोक्यो

समाजवादी पार्टीको भोजभतेर प्रहरीले रोक्यो

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार ६:५७,

मंसिर १४ गते हुने उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ मा भइरहेको भोजभतेरलाई सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोकेको छ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ मा हुने वडाअध्यक्ष पदको उपनिर्वाचनमा उम्मेदवारलाई आचारसंहिताको पूर्णपालना गर्न÷गराउन निर्वाचन आचारसंहिता जारी गरे पनि सोको विरोधमा त्यहाँ समाजवादी पार्टीको समर्थकले भोजभतेर गर्न तयारी गरिरहेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक राजकुमार महतको कमाण्डमा गएको प्रहरी टोलीले सो भोजभतेर रोकेको हो।

सो वडामा समाजवादी पार्टीका समर्थक असेश्वर साह कानुको घर अगाडि टेन्ट गाडेर भोजभतेरको आयोजना गर्न लागेको समयमा रोकिएको जानकारी दिँदै सशस्त्र प्रहरी निरीक्षक महतले भने, ‘आचारसंहिताविपरीत गर्न लागिएको सो भोजभतेर रोकिएको हो।’

उम्मेदवार तथा दलहरुलाई आचारसंहिताको पूर्णपालना गर्न आफैँ टोलीसँग अनुगमन गर्ने गरेको अनुगमनकर्ता तथा जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख रञ्जिता झाले बताए। निर्वाचन कार्यालयले यसअघि आचारसंहिताविपरीत सो वडामा लगाइएको झण्डा तथा तुलहरु हटाइएको छ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा समाजवादी पार्टीबाट निर्वाचित भएका वडाध्यक्ष बृजमोहन राय यादवको मृत्युपश्चात सखुवाप्रसौनी गाउँपालिका–५ मा वडाअध्यक्षको उपनिर्वाचन हुन लागेको छ। महुवन, बलुवा र सोलकपुर गरी तीन गाउँ सखुवाप्रसौनी वडा नं ५ मा पर्ने र त्यहाँ दुई हजार ६०२ मतदाता रहेका छन्। महुवनस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मंसिर १४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने उपनिर्वाचनको लागि मतदान केन्द्र एक र मतदानस्थल तीन रहने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतदाताले वडामा सडक सञ्जालको विस्तारलाई प्रमुख समस्याको रुपमा लिएका छन् भने उम्मेदवारहरुले भने आफूले जितेमा वडाको मुहार फेर्ने सपना बाँड्दै मत मागिरहेका छन। मतदाता भन्छन्, ‘वडाको विकास गर्ने, बाटोघाटो, स्वास्थ्य सेवा र गरीबी प्रमुख समस्या रहेकाले उक्त समस्या समाधान गर्ने उम्मेदवार नै हाम्रो प्राथमिकतामा रहनेछन्। सबै उम्मेदवारले आफू जित्ने दाबी गरिरहे पनि नतिजा थाहा पाउन मंसिर १४ गतेको उपनिर्वाचनलाई कुरिरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad