पाँचथर र सुनसरीमा गएराति एका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
पाँचथरको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो।
निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा२क २९२० नम्बरको टिपर सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुवै जनाको घटनास्थलमै मृत्यु भएको र शवलाई परीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
यसैगरी सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटान क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा झापा पृथ्वीनगर–४ का २९ वर्षीय दिपेश मुखिया रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
स १ झ २६८ नम्बरको गाडीले को ३० प ५३०१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार मुखियाको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दमक–१० का ३० वर्षीय योगेशकुमार धिमालको विराटनगरमा उपचार भइरहेको छ।
ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया