ad ad

समाज


काठमाडौंका केही निजी विद्यालय अझै बन्द नभएपछि महानगरले दियो कारबाहीको चेतावनी

काठमाडौंका केही निजी विद्यालय अझै बन्द नभएपछि महानगरले दियो कारबाहीको चेतावनी

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०७८ शुक्रबार १०:१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाकाले कोरोना संक्रमणको महामारी तीव्ररूपमा बढिरहेका बेला पनि केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत काठमाडौंँ महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन्।

कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गत पुस २७ गतेदेखि सबै विद्यालय भौतिक उपस्तिथिमा सञ्चालन नगरी वैकल्पिक माध्ययमबाट सञ्चालन गर्न निर्देशन दिएको थियो।

सरकारले दिएको निर्देशनको बेवास्ता गरी महानगरपालिकाका १५ र १८ का  केही निजी विद्यालय सञ्चालन भइरहेका पाइएपछि महानगरपालिकाले यस्तो चेतावनी दिएको हो। 

कामपा–१५ मा सञ्चालित फ्युचरस्टार बोर्डिङ स्कुलले बिहान र दिउँसो दुई समूहमा पठनपाठन गरिरहेको छ । त्यस्तै कामपाकै घना बस्ती रहेका अन्य केही वडामा पनि विद्यालय सञ्चालन भइरहेका महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले  सरकारले जारी गरेको निर्देशनविपरीत सञ्चालन भएका विद्यालय तत्काल बन्द नगरे कारबाही गर्ने चेतावनी दिए। ‘महामारी नियन्त्रणका लागि सबैले साथ र सहयोग गर्नुपर्ने समयमा निर्देशनविपरीत शुल्क लिने बहानामा विद्यालय सञ्चालन गर्नु दण्डनीय छ,’ उनले भने।

अहिले पनि सबै विद्यार्थीमा खोपको पहुँच पुगेको छैन । बाह्र वर्ष उमेर पुगेका विद्यार्थीले खोप लगाए पनि अझै धेरैले खोप लगाउन बाँकी छ। 

महामारी बढिरहेको समयमा विद्यालय खोल्नु घातक हुने सुवेदीले बताए। ‘सञ्चालित विद्यालय तत्काल बन्द नगरे कडा कारबाही हुन्छ’, सुवेदीले भने, ‘सरकारले भौतिकरूपमा विद्यालय सञ्चालन नगर्न भनिसकेको छ, यसअघि झै अनलाइनका माध्ययमबाट विद्यालय सञ्चालन गर्न सकिन्छ।’

अहिले काठमाडौँ उपत्यका महामारीको केन्द्र बनेको छ । काठमाडौँमा मात्रै दैनिक सात हजार सङ्क्रमित देखिन थालेका छन् । महामारी नियन्त्रण गर्न भन्दै लोकसेवा आयोग र त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षासमेत स्थगन गरिसकेको अवस्था छ भने यातायातका साधनमा पनि जोर–बिजोर प्रणली लागू भएको छ। 

पछिल्ला केही दिनयता देशभर दैनिक १२ हजार बढी कारोना सङ्क्रमित थपिन थालेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .