समाज


बर्दिबासमा बढ्दै योग र ध्यानको ‘क्रेज’

बर्दिबासमा बढ्दै योग र ध्यानको ‘क्रेज’

फाइल तस्बिर


नेपालखबर
माघ २, २०७८ आइतबार १०:८, काठमाडौँ

महोत्तरीको बर्दिबासमा योग र ध्यान साधना गर्ने निकै बढेका छन्। योग दिवसका अवसर पारेर बर्दिबास–३ गौरीडाँडा रातमाटामा नवनिर्मित योगभवनको शनिबार उद्घाटन गरिएको छ।

उद्घाटनको पहिलो दिन १ सय जति स्थानीयबासी योग शिविरमा सहभागी भएका थिए। 

गत वर्ष योग दिवसकै अवसरमा बर्दिबासमा सामूहिक योग र ध्यान साधना थालिएको थियो। योग र ध्यानलाई दैनिक तालिकामै निरन्तरता दिन यससम्बन्धी सचेतना बढाउन जरुरी ठानेर योगभवन निर्माण गरिएको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले जानकारी दिए।

‘सामूहिक रुपमा गरिने योग र ध्यान सिकाइका लागि उपयुक्त हुँदो रहेछ । यसैले योग ध्यानबारे सर्वत्र चासो बढोस् भन्ने चाहनाका साथ योगभवन निर्माण गरेका हौँ,’ उनले भने।

सामूहिक योग र ध्यानमा आउने ४० वर्षभन्दा माथिका बढी देखिएका योग गुरु स्वामी प्रेम आलोकले जानकारी दिए। ‘यहाँ जनप्रतिनिधिहरुको योग र ध्यानबारे एकदमै सकारात्मक चासो छ,” उनले भने, ‘गतवर्ष सांसद गिरिराजमणि पोखरेलको सहयोगमा एउटा पार्टी प्यालेसमा योग प्रशिक्षण थालेका थियौँ, एक वर्षभित्रै अहिले योगभवन नै तयार भयो, यो निकै खुसीको कुरा हो।’

स्थानीय तहका जनप्रतिनिधि पनि योग र ध्यानको सहभागिता बढाउन चासोका साथ लागेका आलोकको ठम्याइ छ । योग भवनमा अहिले आलोकसहित चारजना प्रशिक्षक छन्।

नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयमा योग र ध्यानबारे थप कक्षा सञ्चालन गर्ने सैद्धान्तिक निर्णय नै गरेको छ । यसका लागि प्रशिक्षक व्यवस्थापनदेखि अन्य तयारी गरिने नगर कार्यपालिकाको कार्यालयले जनाएको छ। 

करिब ५२ लाखको लागतमा निर्मित योगभवन निर्माणमा ४०० केभी विद्युत् प्रसारण लाइन, पानीखोल्सी रातमाटा सामुदायिक वन उपभोक्ता समिति र बर्दिबास नगरपालिकाले आर्थिक दायित्व निर्वाह गरेका छन्। 

योगभवनको एकसाथ ३०० जनाले अभ्यास गर्नसक्ने क्षमता रहेको बर्दिबास–३ का वडाध्यक्ष  राजन ढुङ्गानाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad