समाज


‘मेरो श्रीमान् मारिनुको कारण जानेर मर्न मन छ’

‘मेरो श्रीमान् मारिनुको कारण जानेर मर्न मन छ’

राधिका अधिकारी
पुस ३० , काठमाडौँ

उन्नाइस पुगेर बीस लाग्दै गरेको उमेर। काखमा फूलजस्ती छोरी। प्रहरी जवान श्रीमान्। एक समय अम्बिका कार्कीलाई लाग्थ्यो, ‘मेरो जिन्दगी इन्द्रेणीजस्तै सुन्दर छ।’ 

तर, अचानक आएको आँधीले त्यही जीवन अहिले अर्कै घुम्तीमा पुगेर रुमलिएको छ। उनलाई के थाहा जीवनबाट टुटिजाने छन् इन्द्रेणीका उज्याला रङ। अँध्यारोले पछ्याइरहने छ जिन्दगी। तर नसोचेकै भइदियो। जे भयो त्यसलाई स्विकार गर्दै बाँच्नुको विकल्प थिएन उनीसँग। 

२०५६ सालको वैशाख १९ गते। उनका श्रीमानको दिउँसोको ड्युटी थियो। घर नजिकैको प्रहरी चौकी। दिउँसो गस्तीको समयमा घरमा पसेर उनले पानी खाए। कोक्रोमा सुतिरहेकी छोरीलाई उठाए, केही बेर बोके र ड्युटीमा गए। अम्बिकाकी छोरीका लागि अन्तिम स्पर्श त्यही भयो। उनकी छोरीसँग आफ्ना बुबासँगको सम्झना छैनन्। 

त्यतिबेलासम्म गाउँमा माओवादी पसिसकेका थिएनन्। हल्ला भने विभिन्न खाले आउँथे र हराउँथे। त्यही कांग्रेस नेता सुशील विष्टलाई माओवादीले मार्छन् अरे भन्ने हल्ला फैलिएको थियो। हरेक साँझ प्रहरीको सुरक्षा घेरामा हुन्थे विष्ट। त्यो रात पनि अम्बिकाकी श्रीमान् ओम कार्कीसहितको टोली उनैलाई सुरक्षा दिन जाँदै थियो। बाटोमै पथ्र्यो हजरिया चोक –हाल बरथवा नगरपालिका)। बाटैमा गोली चल्यो। त्यही गोलीले ओम मारिए।

दिनभरि मकैका भारी बोकेर गलेको शरीर। अम्बिका सुत्नासाथ भुसुक्क निदाइन। निद्रामै उनको कानमा ठोक्किन आएको थियो गोली चलेको आवाज। तर त्यतिबेलासम्म गाउँमा त्यस्तो अप्रिय घटना केहि घटेको थिएन। त्यसैले पनि चिन्ता भएन। शंकै भएन। 

भोलिपल्ट अम्बिका माइत जाने तयारीमा थिइन्। उनको मन यसै फुरुङ्ग थियो। बिहानैबाट हजरियामा राति गोली चलेछ भनेर गाइँगुइँ फैलिसकेको थियो। बिहानको ५ बजे धारामा नुहाउने तरखर गर्दै थिइन्। हर्न बजाउँदै प्रहरीको गाडी आँगनमा आएर रोकियो। श्रीमानका साथी मलिन अनुहार लिएर आँगनमा झरे। उनलाई बोलाए। बल्ल अम्बिकाको मनमा डर पस्यो। मुटु ढक्क फुलेर आयो। 

आँगनमा झरेका प्रहरीको हुलमा आँखा दौडाइन। आफ्नो मान्छे थिएनन्। उनी कसैले केही नभनेरै अर्धचेत जस्ती भैसकेकी थिइन्। प्रहरीहरुले उनलाई प्रश्न गरिरहे, उनले जवाफ पनि दिइन्। तर न उनलाई ती प्रश्न याद छन्, न आफूले दिएको उत्तर।

होसमा आउँदा उनका श्रीमानको मृत शरीर पनि बाँकी थिएन। जेठाजु कोरामा बसेको तीन दिन भइसकेको थियो। अम्बिकाले आफ्ना श्रीमानको अनुहार पनि हेर्न पाइनन्।

निकै वर्षसम्म उनलाई घरिघरि मुर्छा पर्ने समस्या भइरह्यो।

अम्बिकाको कष्ट पतिवियोगमा टुंगिएन। त्यसपछि कतिले उनलाई बोक्सी देखे। कतिले लोग्नेटोकुवा भन्न थाले। काखमा हुर्किंदै गरेकी छोरी हेरेर समाजसँग मुकाबिला गरिन्। आफ्नो जीवनलाई यहाँसम्म घिसार्न गरेको संघर्ष भनिसाध्य छैन। 

हिजोसम्म उनलाई हेरेर आहा! भन्ने परिवार मुन्टो बटारेर हिँड्थ्यो। एकातिर परिवार, आफन्त र समाजका सोचसँग लड्नु थियो। अर्कोतिर छोरी र आफ्नै जिन्दगीमाथिको जिम्मेवारी एक्लै उठाउनु पर्यो। 

यो समय उनको जिन्दगीमा कति जोडले हुन्डरी चल्यो, त्यो हुन्डरी सहेर छोरीलाई छहारी दिन कति मुस्किल भयो त्यसको हिसाब नै छैन उनीसँग। कहिलेकाहीँ छोरी अंगालो मारेर रुन्थिन् मन हलुङ्गो बनाउँथिन्। उनले कयौं पटक जिन्दगी मास्ने जमर्को समेत गरिन्। छोरीको मायाले बाँधेर बारम्बार फर्काइरह्यो। 

उनकी छोरीको १ वर्षे संस्मरणमा कसरी कोरिएको थियो होला बाबुको आकृति ? अम्बिका र उनको परिवारले उनका ठूलोबुबालाई बुबा भनेर चिनाइदिए। उनले पनि ठूलोबुबालाई नै बुबाको रूपमा स्वीकार गरिन्। उनकी छोरीले १३ वर्षकी हुँदा मात्रै थाहा पाइन् आफ्नो बुबा नभएको कुरा। 

श्रीमानको मृत्युको एक वर्षपछि राहतस्वरुप सरकारले ७ लाख रुपैयाँ दियो। त्यही पैसाले उनले गाउँमा अंग्रेजी माध्यमको स्कुल सञ्चालन गरिन्। मन पनि भुलिने, जीविकोपार्जन पनि हुने। झण्डै १३ वर्ष सोही स्कुलमा पढाइन्। स्कुलले राम्रो गति समातेपछि घरका मान्छेको मन फर्कियो। तर, श्रीमान हुँदा र नहुँदाको अवस्था भने फरक थियो। त्यसपछि भने उनको स्वास्थ्य बिगिँ्रदै गयो। स्कुल बेचेर काठमाडौं आइन्। अहिले चितवनमा व्यवसाय गरेर जीवन चलाउँदै आएकी छन्।

सरकारले दिएको थोरै राहतका कारण छोरी पढाउन सजिलो भयो। उनकी छोरीको पढाइका लागि १० कक्षासम्म वार्षिक १५ हजार र एसएलसीपछि वार्षिक २० हजार शुल्क दिन्थ्यो। त्यसपछि आफैँले खर्च गरेर पढाइन्।

श्रीमानको मृत्युपछि भोट माग्न कुनै पनि नेतालाई आफ्नो घरमा पस्न दिएकी छैनन् उनले।

‘समानताको सपना देखाएर सुरु भएको लडाइँमा किन मारियो एउटा गरिब परिवारको केटो?’ उनको प्रश्न छ, ‘मेरो श्रीमान मारिनुको कारण भनियोस्। त्यो कारण जानेर मर्न मन छ।’

जनताको जीवनमा परिवर्तन आउँछ भनेर युद्ध गर्नेहरुले अहिले जनतालाई बिर्सेर आफ्नो दुनो मात्रै सोझ्याएको पनि उनलाई चित्त बुझेको छैन। 

‘साँच्चै परिवर्तन हुन्छ, मजस्ता निमुखाले सुख पाउँछन भने मेरो श्रीमान् मारिए पनि ठिकै छ भनेर मन बुझाएको थिएँ। अब त त्यो आश पनि बाँकी रहेन,’ आँखाभरी आँसु बनाएर उनी भन्छिन्, ‘छातीमा आगो दन्किन्छ। सर्वहाराको नारा बोकेर हिँडेका मानिसहरु हिजोआज सर्वहाराको नेतृत्व गर्ने जस्ता देखिँदैनन्। उनीहरुले आज बाँचेको रवाफिलो जिन्दगीका पछाडी १७ हजार नेपालीको रगत बहेको कुरा कसरी भुले होलान्!’

पुस ३०, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.