ad ad

समाज


स्पेनको लाइसेन्सले अन्तरिक्षमा प्रवेश गर्दै नेपाली सानोस्याट-१ (भिडिओ)

नेपाल सरकारको असहयोगले एक वर्ष अलमल
स्पेनको लाइसेन्सले अन्तरिक्षमा प्रवेश गर्दै नेपाली सानोस्याट-१ (भिडिओ)

नेपाली सानो स्याट निर्माता इन्जिनियरहरु। तस्बिर : विजय सिंह/नेपालखबर


यज्ञराज जोशी
पुस २५, २०७८ आइतबार १३:२१, काठमाडौँ

नेपाली विद्यार्थी र इन्जिनियरहरूले तीन वर्ष लगाएर सन् २०१९ को मध्यमा नेपाल सानोस्याट–१ को सम्पूर्ण तयारी पूरा थिए।

सबै प्राविधिक काम सकिएपछि उक्त पिको–स्याटेलाइट (पकेट क्युब) स्याटेलाइटलाई अन्तरिक्षमा पठाउने प्रक्रिया अघि बढाउन अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियनको लाइसेन्स चाहिन्थ्यो।

त्यसका लागि स्याटेलाइट निर्माणमा सुरुदेखि नै खटिएका ओरियन स्पेसका सीईओ राकेशचन्द्र प्रजापतिसहित जितेन थापा, सौरभ पौडेललगायत निर्माण दलका सदस्य पटकपटक सञ्चार मन्त्रालय धाए। उनीहरुले तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग भेट पनि गरे। सरकारी संयन्त्रले चाहे फत्ते हुने कामका लागि उनीहरुले एक वर्ष झेल्नुपर्यो।

‘अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियनमा लाइसेन्सका लागि सरकारी माध्यमबाट जानुपर्छ,’ सौरभले भने, ‘पटकपटक धाएर मन्त्रीलाई भेट्दासमेत गर्छाैं, गर्छाैं भनेर एक वर्ष फाइल अड्केको अड्कियै भयो। उहाँहरुलाई ज्ञान नभएकाले हो कि अन्य कारणले थाहा भएन।’

एक वर्षसम्म मन्त्रालयले प्रक्रियाअघि नबढाइदिँदा उक्त स्याटेलाइटको निःशुल्क प्रक्षेपण अवसर समेत गुमेको गुनासो उनीहरुले गरेका छन्।

नेपाल सरकारले बेवास्ता गरेपछि उनीहरुले स्पेनबाट लाइसेन्स प्रक्रिया अघि बढाए। प्रक्रिया थालेको केही दिनमै लाइसेन्ससमेत प्राप्त भयो। यससँगै पुस २९ गते एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेटबाट अन्तरिक्षमा पठाउने तय भएको छ। 

No description available.

‘सरकारले लाइसेन्स प्रक्रिया अघि नबढाइदिँदा हामीले निःशुल्क प्रक्षेपणको अवसर गुमायौँ। अहिले झण्डै २८ लाख रकम प्रक्षेपण खर्च मात्रै तिर्नुपरेको छ’, सौरभले गुनासो गर्दै भने, ‘नेपालबाट लाइसेन्सिङ भएको भए आफूले चाहेकै स्याटेलाइटको कलसाइन राख्न पाइन्थ्यो। अहिले स्याटेलाइट स्पेनबाट दर्ता भएको छ। निर्माण नेपालमा भए पनि दर्ता स्पेनबाट भयो।’ 

नेपालबाट दर्ता नभएपछि उक्त स्याटेलाइटका लागि उनीहरुले बनाएको भक्तपुरको सल्लाघारीस्थित आरोरियन स्पेसको ग्राउन्ड स्टेसनबाट डेटा लिन त सकिन्छ। कमाण्ड पठाउने अनुमति हुने हुँदैन। स्याटेलाइटलाई कमाण्ड दिन उनीहरुले यसअघि लाइसेन्स लिएका अन्य एमच्योर रेडियो अपरेटरको सहायता लिनुपर्ने हुन्छ। 

ओरियन स्पेस, नेपालले बनाएको उक्त स्यटेलाइटको आकार ५० मिलीमिटर लम्बाइ, ५० मिलीमिटर चौडाइ र ५० मिलीमिटर उचाई र वजन २५० ग्राम छ। यसले पृथ्वीलाई ५०० किलोमिटर व्यासार्द्धको कक्षामा परिक्रमा गर्नेछ।

अन्तरिक्षमा हुने गाम्मा विकिरणको मात्रा मापन गर्ने र ‘स्टोर एन्ड फरवार्ड’ प्रविधिबाट संसारको कुनै ठाउँबाट पाएको सन्देश ग्राउन्ड स्टेशनमा प्रसारण गर्ने यस स्याटेलाइटको प्राथमिक मिसन रहेको छ। शुक्रबार आरोरियन स्पेसको कार्यालयको छतमा उनीहरु ग्राउन्ड स्टेसनलाई उत्साहित हुँदै अन्तिम रुप दिइरहेका थिए। 

‘अन्ततः हाम्रो स्याटेलाइट प्रक्षेपणको अन्तिम तयारीमा छ,’ प्रोजेक्टका जितेन थापाले, ‘नेपाललाई सियो पनि नबन्ने देश भनेर चिन्छन्। यो लन्च भएपछि नेपालमा बसेर गर्न सकिँदो रहेछ। सरकारले सहयोग गर्दा अझै ठूला (स्याटेलाइट) बनाउन सकिन्छ भन्ने सन्देश जान्छ।’

पृथ्वीको तल्लो कक्षमा रहने यो स्याटेलाइटले बिटा–गामा विकिरण मापन गर्नेछ। सूर्यबाट वा अन्य ग्यालेक्सीबाट आएका विकिरणले अरु स्याटेलाइटलाई कस्तो क्षति गर्छ भन्ने यसबाट थाहा पाउन सकिन्छ। जुन भविष्यमा विकास हुने स्याटेलाइटमा महत्वपूर्ण हुने जितेनले बताए।

त्यसबाहेक अन्तरिक्ष र रकेट विज्ञानमा रुचि भएका नेपाली विद्यार्थीहरु कसरी स्याटेलाइटको डेटा लिने र कम्युनिकेट गर्न सिकाउने तथा डिजाइनदेखि सबै प्राविधिक कुराको व्यावहारिक ज्ञान दिने उनीहरुको उदेश्य छ। 

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन इन्जिनियरिङमा भर्खरै स्नातक सकाएका ​ऋषभमणि शर्मा पाँच महिनाअघि यो प्रोजेक्टमा आबद्ध भएका थिए। हार्डवेयर र कोडिङ डिजाइनिङको भूमिका उनले निर्वाह गरिरहेका छन्। 

ग्राउन्ड स्टेसनको अन्तिम तयारीमा लागिरहेका उनी स्याटेलाइट प्रक्षेपण दिन नजिकिँदै जाँदा उत्साहित देखिन्थे। 

‘यस प्रोजेक्टमा म अन्तिमतिर संग्लन हुन पाएँ। धेरै कुरा जादुजस्तो लागिरहेको छ,’ उनले भने, ‘नेपालले स्याटेलाइट पठाइरहेको छ। म एकदमै खुशी छु। यसै स्याटेलाइटसँग आबद्ध हुन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु।’ 

यस प्रोजेक्ट हेड ओरियन स्पेसका सीईओ राकेशचन्द्र प्रजापति लामो समयको मिहिनेतपछि प्रक्षेपणको अन्तिम तयारीमा हुँदा निकै उत्साहित छन। शून्यबाट काम सुरु गर्दै अन्तिम अवस्थामा पुग्नु गौरवपूर्ण क्षण भएको उनले बताए। 

‘अन्तरिक्षसम्बन्धी रुचि भएका विद्यार्थीहरूसँग शून्यबाट काम सुरु गरेर नेपालमै स्याटेलाइट बनाई अहिले प्रक्षेपण नजिक रहँदा मलाई निकै गर्व लागेको छ,’ स्वीटजरल्याण्डमा रहेका प्रजापतिले नेपालखबरसँग भने, ‘यसको प्रक्षेपणपछि उस्तै प्रेरणा र लगावको साथ, गल्तीहरूलाई सुधार्दै, हामीलाई थप स्याटेलाइट मिसनमा लाग्न प्रेरणा मिलेको छ।’

भिडिओ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .