समाज


निर्मला हत्या प्रकरणः प्रहरी विरुद्ध यातनाको उजुरी लिएर विशाल सरकारी वकिल कार्यालयमा

निर्मला हत्या प्रकरणः प्रहरी विरुद्ध यातनाको उजुरी लिएर विशाल सरकारी वकिल कार्यालयमा

गोकुल जोशी
असार ६, २०७६ शुक्रबार १०:५०,

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको घटनाको अनुसन्धानका क्रममा यातना दिएको भन्दै प्रहरी विरुद्ध दिएको जाहेरी दर्ता गर्न इन्कार गरेपछि विशाल चौधरीले सरकारी वकिल गुहारेका छन्।

प्रहरी विरुद्ध यातनाको जाहेरी दर्ता गर्न नमानेपछि विशाल चौधरी सहित अधिकारकर्मीहरुले सरकारी वकिल कार्यालय कञ्चनपुरमा निवेदन दिए। प्रहरीले जाहेरी दर्ता गर्न इन्कार गरेमा माथिल्लो प्रहरी निकाय अथवा जिल्ला सरकारी वकिल कार्यालयमा त्यसको व्यहोरा खुलाई निवेदन गर्न सक्ने व्यवस्था छ। त्यही व्यवस्था अनुरुप विशाल प्रहरी विरुद्ध उजुरी दिन सरकारी वकिल कार्यालयसम्म पुगेका हुन्।

यस्तो अवस्थामा जिल्ला सरकारी वकिल कार्यालयले उक्त निवेदनको अभिलेख राखी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था रहेको छ। यसै व्यवस्था अनुसार जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका न्यायधिवक्ता देवराज भारतीले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई उक्त उजुरी उपर कारबाहीका लागि पत्र पठाएका छन्।

बिहीवार विशाल चौधरीले कञ्चनपुरका तत्कालिन डिएसपी कृष्णराज ओझा सहित अन्य ४ जना विरुद्ध यातनाको जाहेरी दिने प्रक्रिया सुरु गरेका थिए। त्यसपछि उनले फेरि जाहेरी सच्याउँदै कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी कुवेर कडायत, डिएसपी कृष्णराज ओझा, बिशेष अनुसन्धानमा खटिएका प्रहरी उपरिक्षक दुर्गा सिंह (चन्द) र अन्य २ जना नाम नखुलाइएका विरुद्ध यातनाको उजुरी दर्ता प्रक्रिया थालेका छन्। बिहीवार आफ्नो क्षेत्राधिकार बाहिर गएको भन्दै डिएसपी ज्ञान बहादुर विष्टले जाहेरी दर्ता गर्न मानेका थिएनन्।

अहिलेको उजुरीमा भीमदत्तनगर–१८ स्थित सालघारीको अस्थाई प्रहरी पोस्टका तत्कालीन प्रमुख (असई) रामसिंह धामीको नाम हटाइएको छ।

निर्मला हत्या प्रकरणमा काठमाडौँबाट पक्राउ परेका प्रदीप रावलको बयानपछि विशाल गत मंसिर १९ गते कञ्चपुरको सालघारीबाट पक्राउ परेका थिए। दुवैलाई महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोमा राखेर प्रहरी प्रमुख सर्वेन्द्र खनालसहितको टोलीले बयान लिएको थियो। यसअघि उनीहरु दुवैजनाले आफूहरुलाई हत्या स्वीकार गर्न प्रहरीले शारीरिक र मानसिक यातना दिएको बताएका थिए। यातना दिएर निर्दोषलाई घटना कबुल गर्न लगाइएको समाचार प्रकाशित भएपछि र डीएनए रिपोर्ट नमिलेपछि उनीहरुलाई प्रहरीले छाडेको थियो।

अनुसन्धानको क्रममा प्रहरीले आफूहरुलाई यातना दिएर अपराध कबुल गर्न लगाएको विशालले बताएका छन्। ‘अनुसन्धानको क्रममा धेरै यातना दिइयो, पेस्तोल देखाएर डराउने काम भयो, आँखामा पट्टी बाँधेर कुटपिट भयो’, विशालले भने,’ त्यसैले यातना विरुद्धमा ती प्रहरीविरुद्ध जाहेरी दिन लागेको हुँ।’

उता अधिकारकर्मीहरुका अनुसार प्रदीप रावलले पनि जाहेरी दिने तयारी गरेका छन्। काठमाडौँबाट पक्राउ परेकोले प्रदिपले त्यहीँबाट मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएका छन्।

गत १० साउनमा ‘होमवर्क’ गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको अर्को दिन उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। घटना घटेको एक बर्ष पुग्नै लाग्दा समेत हत्याराको पहिचान हुन सकेको छैन। घटनाको अनुसन्धानका लागि सातवटा छानबिन टोली गठन भए पनि प्रहरीको अनुसन्धान ‘कुहिरोको काग’ जस्तै बनेको छ।

याे पनि पढ्नुहाेस् : 

निर्मला हत्या प्रकरणः आईजीले बयान लिएका चौधरीले दिए प्रहरीविरुद्ध यातनाको उजुरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad