प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनधिकृत र गैरकानुनी रुपमा फ्रड प्लाष्टिक म्याग्नेटिक कार्डहरु प्रयोग गरी एटीएमबाट लाखौँ रकम निकाल्ने १ जनालाई पक्राउ गरेको छ। सीआईबीले बारा पिपरपानी घर भई शंखमूल बस्दै आएका राजु कुमार पाण्डेलाई बिहीबार पक्राउ गरेको हो।
पाण्डे र अन्य तीन जना रोमानियन नागरिकहरुले राष्ट्रिय वाणिज्य बैंकको काठमाडौंमा रहेको विभिन्न एटीएम बुथबाट पैसा निकालेका थिए। पाण्डे र रोमानियनहरुको भेट ७ महिनाअघि ठमेलमा भएको थियो। उनले विदेशीलाई एटीएम बुथमा पुर्याई रकम निकाल्ने र पैसा भाग लगाएर लिने गरेको प्रहरीले जनाएको छ।
पाण्डे २० लाखभन्दा बढी रकम निकाल्ने कार्यमा संलग्न भएको अनुसन्धानबाट खुलेको छ। उनीसँगै गोल्डेन कलरको सादा कार्ड दुई थान, हाउस अफ फ्रेजर गिफ्ट काड लेखिएको १ थान, वाइस्टर लेखिएको १ थान, प्रभु बैंकको शिशिर भण्डारीको नामको भिसाकार्ड १ थान, स्टेट बैंकको मास्टर कार्ड १ थान, नबिल बैंकको दिपावली पाण्डेको नामको भिसा कार्ड १ थान, यास बैंकको फुर्बा वांगचुकको मास्टर कार्ड १ थान, सेन्चुरी बैंकको पजल बस्नेतको भिसा डेबिड कार्ड १ थान, आईएमई प्रिभिलेज कार्ड १ थान गरी १२ वटा कार्ड, १ थान नोकिया फोनसेट, एउटा आईफोन, नेपाली नगद १ हजार दरका ६ सय ६२ नोट, ५ सय दरका ४८ थान, सीबी युनिकोर्न बा७३प ७६८५ नम्बरको मोटरसाइकल र एप्पलका दुई थान ल्यापटप बरामद भएको छ। पाण्डेलाई उच्च अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एटीएम ठगीमा संलग्नबाट सीआईबीले हालसम्म ९५ लाख ६२ हजार ८ सय ५० रुपैयाँ, ७५ हजार २ सय २५ अमेरिकी डलर, ७३ हजार ८ सय ७५ युरो, ३३ हजार इन्डोनेसियन रुपी, ४ सय ७० फिलिपिनी करेन्सी, र १ हजार ३ सय ६९ थान एटीएम कार्ड बरामद गरेको छ। एटीएम कार्ड ठगीमा हालसम्म ६ नेपाली, चार रोमानियन, चार टर्किस, ४ बुल्गेरियन, २ भारतीय र ४ मोल्दोभियन गरी २४ जनालाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया