समाज


कैलालीमा युवकको हत्या : हत्यारा ‘आफन्तै’, यस्तो छ घटनास्थल

कैलालीमा युवकको हत्या : हत्यारा ‘आफन्तै’, यस्तो छ घटनास्थल

घटनास्थल


गोकुल जोशी
पुस ५, २०७८ सोमबार १०:२९, महेन्द्रनगर

कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दासको बीभत्स हत्याबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। 

प्राप्त सूचनाहरू विश्लेषण गर्दा चिनजानकै व्यक्तिबाट अर्जुनको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।

यस्तै घटनामा दुईभन्दा बढी व्यक्तिको संलग्नता रहेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

‘चिनजानकै मानिसबाट घटना (हत्या) भएको देखिन्छ। अपराधमा ३/४ जना भन्दा बढीको संलग्नताको आशंका छ’, जिल्ला प्रहरी कार्यालय (कैलाली) का डीएसपी वेद जोशीले नेपालखबरसँग भने, ‘विभिन्न माध्यमबाट प्राप्त सूचनाहरूको विश्लेषण गरेर सूक्ष्म अनुसन्धान भइरहेको छ। छिट्टै निष्कर्षमा पुग्छौं।’

उनका अनुसार अर्जुनको हत्यामा संलग्न आशंकामा आइतबार बेलुका एक जनालाई नियन्त्रणमा लिइएको छ। 

लम्की टीकापुर क्षेत्रबाट पक्राउ गरिएका उनीबारे थप वअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले उनको पहिचान खुलाएको छैन।

शनिबार दिउँसो जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा अर्जुन भेटिएका थिए। प्रहरीका अनुसार उनको टाउको छिनालिएको थियो। टाउकोविहीन नग्न शव रूखमा बाँधिएको थियो। शरीरको माथिल्लो भागको कपडा खोलेर त्यसैले शव रूखमा बाँधिएको अवस्थामा पाइएको प्रहरीले जनाएको छ। 

‘रूखमा बाँधिएर नग्न बनाइएको छ। दुईवटै हातसमेत पछाडि पारेर बाँधिएको छ’, डीएसपी जोशीले भने, ‘सुरुमा घटना घटाएर पछि रूखमा शव बाँधिएको जस्तो देखिन्छ।’

उनका अनुसार घटनास्थलमा चुरोटका ठुटाहरू पनि भेटिएका छन्। 

‘घटनास्थलमा केही मानिस बसेर खानपिन गरेको देखिन्छ’, डीएसपी जोशीले भने, ‘साथीहरूसँग बसेर खानपिन गर्दा विवाद भएकाले वा केही रिसइबीले योजनाबद्ध हिसाबले बोलाएर हत्या भएको हुनसक्छ। विभिन्न कोणबाट अनुन्धान गरिरहेका छौं।’
हत्यामा लागुऔषध प्रयोगकर्ताको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ। अर्जुनको हत्या गर्न दुई युवकबीच कुराकानी भएको फोन रेकर्ड पनि प्रहरीले फेला पारेको छ। 

फोन रेकर्डमा एक युवक आफूलगायत केहीले हत्या गरेको र आफूहरू भारततर्फ गइरहेको भनेका छन्। 

‘प्राप्त फोन कल रेकर्डमा बोल्नेहरूको पहिचान गर्ने तथा अन्य शंकास्पद मानिसमाथि निगरानी गरिरहेका छौं’, डीएसपी जोशीले भने, ‘मृतकको पृष्ठभूमि, तथा उनीसँग सम्बन्धित जानकारी पनि संकलन भइरहेका छन्।’

प्रहरीका अनुसार फोन कल रेकर्डमा एक युवकले भनिरहेका छन्, ‘घाँटी अलग छ, शरीर अलग छ। एक दुई दिनमा खबर पाइहाल्नु हुन्छ। हामी बेङलोर जाँदै छौं। अहिले रुपैडिहा पुगेका छौं।’

मृतक अर्जुनकी श्रीमतीबाट प्रहरीलाई अडिओ प्राप्त भएको हो। अडिओ पठाउने व्यक्तिलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ। अडिओमा बोल्ने एक जना मनोज भण्डारी मृतककै गाउँकै रहेको खुलेको छ।

घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय (कैलाली) र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोली सक्रिय छ। प्रहरीले शनिबार तालिम प्राप्त कुकुरको पनि प्रयोग गरेको थियो।

मृतक अर्जुन दासका बुवाआमा रोजगारीका लागि भारतमा छन्। जानकी गाउँपालिका–९ मा उनका श्रीमती र भाउजू बस्छन्। 
अर्जुन पनि भारत आउजाउ गरिरहन्थे। केही दिनअगाडि मात्रै उनी भारतबाट फर्किएको खुलेको छ। 

शव जंगलमै
स्थानीयले हत्यारा पत्ता लगाउन माग गर्दै शव पोस्टमार्टम गर्न दिएका छैनन्। यसैले अर्जुनको शव घटनास्थल अमरावती सामुदायिक वनमै छ। 

हत्यारा सार्वजनिक नहुन्जेल पोस्टमार्टम गर्न नदिने अडान स्थानीयको छ। 

घरबाट करिब २ किलोमिटर पर जंगलभित्र क्रूर तरिकाले हत्या गरिएको अवस्थामा अर्जुन भेटिएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad