समाज


बेलायती संसद्मा नेपाल भ्रमण वर्षको प्रचार गरिँदै

बेलायती संसद्मा नेपाल भ्रमण वर्षको प्रचार गरिँदै

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ९:३७,

बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धन गरिने भएको छ।

बेलायतस्थित हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन)मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ।

बेलायतको हाउस अफ लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बेलायत पुगिसकेका छन्। मन्त्री भट्टराईसँगै भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डका पदाधिकारीको पनि सहभागिता रहेको छ।

प्रत्येक वर्ष हुने वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम) को अवसरमा बेलायतमा आउँदो नोभेम्बर ७ मा हुने नेपाल भ्रमण वर्ष प्रवद्र्धनका लागि विशेष कार्यक्रम राखिएको सचिवालयले जनाएको छ। विश्वकै ठूलो ‘ट्राभल सो’ मानिएको यो मेला सोमबारदेखि शुरु भएको छ। तीन दिनसम्म चल्ने मेलामा नेपालको समग्र पर्यटन प्रवद्र्धनका सामग्री तथा खानाका परिकारको समेत प्रदर्शनी गरिने बोर्डले जनाएको छ।

कार्यक्रमको मुख्य आकर्षण नेपालको पर्यटन विकास तथा प्रवद्र्धनमा योगदान दिने बेलायती नागरिकहरुलाई ‘दी हिमालयन ट्राभल अवार्ड २०१९’ बाट सम्मान गर्ने कार्यक्रम रहेको छ।

बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियानकर्मी जोआन्ना लुम्ले, भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिपकुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै लामो समयदेखि नेपालमा पर्यटकहरु पठाउने प्रमुख बेलायती टुर अपरेटरहरुलाई कदर पत्र प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ। अवार्ड तथा कदर पत्रहरु मन्त्री भट्टराईले वितरण गर्नेछन्।

त्यसैगरी ट्राभल एजेन्ट तथा होटेल व्यवसायी रमेश अरोरा, नेपालको पर्यटनमा अढाई दशकदेखि लागि परेका मर्कस कट्टन, नेपालको वन्यजन्तु पर्यटनमा काम गर्दै आएका एभी जीम एडवार्ड, नेपालको पर्यटन गन्तव्यको प्रचारप्रसारमा लामो समयदेखि लागिपरेका रोबिन मार्सटन र नेपाल पर्यटनका अग्रणी कोलोनेल जोमलाई दी हिमालयन अवार्ड वितरण गरिनेछ।

त्यसैगरी नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुहुने माइकल वेट (म्यानेजिङ डाइरेक्टर, रिभिएरा ट्राभल), आस्ले टफ (सीईओ), की एड्भेन्चर ट्राभल), पटेर बुर्रेल (एमडी, एक्सोडुल ट्राभल), रोबर्ट गुडवीन (प्रोडक्ट एन्ड पर्चेजिङ डाइरेक्टर), जेरल्डिन स्टिन्सन (म्यानेजिङ डाइरेक्टर, मर्करी होलिडेज), आन्डे स्वार्रेल (म्यानेजिङ डाइरेक्टर, टीटान ट्राभल) र स्टेभ बेरी (म्यानेजिङ डाइरेक्टर, माउन्टेन किङडम)लाई प्रसंशा पत्र वितरण गरिने भ्रमण वर्ष सचिवालयले उल्लेख गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad