समाज


मुस्ताङको कोवाङमा भीषण हिमपहिरो, भाग्ने क्रममा सातजना घाइते

प्रजिअ भन्छन् : घटनास्थलमै छौँ, नजिकै जान सकिएको छैन
मुस्ताङको कोवाङमा भीषण हिमपहिरो, भाग्ने क्रममा सातजना घाइते

कोवाङमा खस्दै गरेको हिमपहिरो


नेपालखबर
कात्तिक २८, २०७८ आइतबार १३:४९, काठमाडौँ

हिमालपारिको जिल्ला मुस्ताङको कोवाङमा भीषण हिमपहिरो आएको छ।

आइतबार बिहान ११ बजेर ४० मिनेटमा टुकुचे पिक हिमालबाट हिम पहिरो खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन्। 

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार अहिलेसम्म हिमपहिरोका कारण भएको मानवीय क्षतिको विवरण आइसकेको छैन।

तर हिमपहिरो झरेपछि आत्तिएर भाग्ने क्रममा विद्यार्थीसहित सातजना स्थानीय घाइते भएका छन्। शर्माका अनुसार अहिलेसम्म उनीहरुको खुट्टा भाँचिएको र मर्किएको विवरण आएको छ। 

उनीहरुलाई अहिले जोमसोमस्थित अस्पताल पठाइसकिएको प्रजिअ शर्माले बताएका छन्। 'यहाँ अहिलेसम्म मानवीय क्षतिको विवरण आएको छैन', उनले भने, 'तर चौंरीको चरन भएकाले त्यहाँ केही चौंरी परेको हुन सक्छ।'

भिडियो

'उक्त हिमपहिरो धेरै लेदो माटोसहित खसेको छ', उनले भने, 'त्यहाँ सुरक्षाकर्मीहरु पठाइसकेका छौँ। घटनास्थल जोमसोमबाट १९ किलोमिटरको दूरीमा छ।'

घटनालगत्तै प्रजिअ शर्मासहितको टोली त्यहाँ पुगेको छ। 'घटनास्थल जोमसोम नपुग्दै बेनीतर्फ १९ किलोमिटरको दूरीमा छ', उनले भने, 'हामी यहीँ छौँ, माथि सेतो हिउँ देखिएको छ भने तल आइपुग्दा माटोसहितको लेदो बगेको छ। यो लेदो यहाँको खोलामा मिसिएको छ।' 

मुस्ताङको थासाङ गाँउपालिका वडा नम्बर ३ स्थित कोवाङको याङदेल खर्कमा हिमपहिरो खसेको हो। उक्त हिमपहिरो स्थानीय कृषकहरूको पशुपालन क्षेत्रमा आएकाले क्षति भएको अनुमान छ। 

हिमपहिरो गएपछि अहिले प्रहरीको टोली त्यहाँ पुगिसकेको छ। हिमपहिरो झरेपछि स्थानीय भने त्रसित भएका छन्।

प्रजिअ शर्माले यही पहिरोका कारण हिमताल फुट्ने खतरा भने नरहेको जानकारी दिएका छन्। उनका अनुसार यो पहिरोको लेदो कालीगण्डकीमा मिसिने भएकाले हिमताल फुट्ने जोखिम छैन।

'तर नदी किनारमा रहेका स्थानीयलाई सुरक्षित स्थानतर्फ भने लग्ने काम गरिरहेका छौँ', उनले भने।

भिडियो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad