ad ad

समाज


वडाध्यक्षहरूले ट्याक्टरमा लगेर मेयरको घरअगाडि फोहोर फाले!

वडाध्यक्षहरूले ट्याक्टरमा लगेर मेयरको घरअगाडि फोहोर फाले!

शैलेन्द्र महतो
कात्तिक १४, २०७८ आइतबार ११:५७, काठमाडौँ

फोहार व्यवस्थापनमा ध्यान नदिएको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरूले मेयर लालकिशोर साहकै घरअगाडि फोहोर थुपारिदिएका छन्। 

तिहार पर्व नजिकिइसक्दा पनि नियमित फोहर नउठाएको, सरसफाइमा ध्यान नदिएको भन्दै वडाध्यक्षहरूले आइतबार बिहान ट्याक्टरमै लगेर मेयर साहको घरअगाडि फोहोर राखिदिएका हुन्। 

वडा  नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, वडा नमबर ३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाको टोलीले मेयरको घरअगाडि फोहोर थुपारेर विरोध जनाएका हुन्। 

जनकपुरधाम उपमहानगरपालिकाले हालसम्म ल्यान्डफिल र डम्पिङ साइड व्यवस्था गरेर फोहोर व्यवस्थापन गर्न सकेको छैन। जसले गर्दा जनकपुरधाममा नियमित सरसफाइ हुँदैन भने सरफाइ गरे पनि नगरपालिकाले फोहोर सडकछेउमै थुपार्ने गरेको छ। यसले नगरका विभिन्न सडक प्रदूषित बनेका छन्। 

सर्वसाधारणलाई पनि फोहोर व्यवस्थापनमा निकै समस्या भइरहेको छ। 

फोहार व्यवस्थापनमा मेयर साहले असहयोग गरेकाले उनकै घरअगाडि फोहोर फालेर विरोध गर्नुपरेको वडाध्यक्ष दीपेन्द्र साहले बताए। 

वडाध्यक्ष जानकीराम साहले ट्याक्टर चलाएर नगरप्रमुखको घरसम्म फोहोर पुर्याएका थिए।

फोहोर व्यपस्थापन नभएको भनेर व्यापक जनगुनासो रहे पनि मेयर साहले साहले चासो नदेखाएको, फोहोर उठाउन ट्याक्टर उपलब्ध नगराएको, ल्यान्डफिल र डम्पिङ साइड व्यवस्थामा ध्यान नदिएकाले विरोधस्वरूप उनको घरअगाडी फोहोर थुपार्नुपरेको वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले बताए। 

फोहोर व्यवस्थापन समस्याका कारण यसअघि पनि युवाले पटकपटक जनकपुरधाम उपमहानगरपालिका कार्यालयको प्रवेशद्वार र मेयर साहको घरअगाडि फोहार फालेर विरोध गरेका थिए। अन्ततः अहिले वडाध्यक्षहरू समेत आजित भएर मेयरको घरअगाडि फोहोर फाल्न बाध्य भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .