समाज


कपिलवस्तुमा मूर्ति विसर्जन विवाद मिल्याे, कर्फ्यु हट्ने सम्भावना

कपिलवस्तुमा मूर्ति विसर्जन विवाद मिल्याे, कर्फ्यु हट्ने सम्भावना

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार ५:११,

कपिलवस्तुको कृष्णनगरमा लक्ष्मीको मूर्ति विसर्जनका विषयमा दुई समुदायबीच भएकाे विवाद सहमतिमा टुंगिएको छ।  

कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रमुख– प्रहरी उपरीक्षक दीपशमशेर जबराका अनुसार शुक्रबार बिहान सम्पन्न सर्वपक्षीय वार्ताबाट १२ बुँदे सहमति गर्दै विवाद टुंगो लगाइएको हो।

लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा बुधबार बेलुकी हिन्दु–मुस्लिमबीच विवाद भएपछि कृष्णनगर क्षेत्र तनावग्रस्त बनेको थियो। त्यस क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय २० वर्षका सुरजकुमार पाण्डेको मृत्युसमेत भएको थियो।

स्थानीय भद्रभलाद्मी, सांसद, सञ्चारकर्मी, प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुखसहितको सर्वपक्षीय वार्तामा भएको सहमतिअनुसार पाण्डेको शव पीडित परिवारले बुझेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगेका छन् भने मूर्ति विसर्जन पनि गरिएको छ।

मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको एसपी जबराले बताए।

‘पीडित परिवारले २० लाख क्षतिूपूर्ति माग गरेका छन्,’ नेपालखबरसँग एसपी जबराले टेलिफोनमा भने, ‘हाम्रो काम केन्द्रमा सिफारिस गरिदिने हो।’

उनका अनुसार बिहीबार राति १२ बजे मात्र सम्बन्धित पक्ष वार्तामा आएका थिए। दुई/तीन घण्टाको छलफलपछि १२ बुँदे सहमति भएको एसपी जबराले जानकारी दिए।

सहमतिमा मृतकलाई क्षतिपूर्ति, मूर्ति विसर्जनलगायत दुई समुदायबीच सामाजिक सद्भभाव कायम गर्नेलगायत विषय उल्लेख छन्। 

बिहीबार बिहानदेखि कृष्णनगरमा जारी कर्फ्यु भने अझै हटाइएको छैन।

‘अब सहमति भइसकेको छ,’ उनले भने, ‘स्थिति हेरेर स्थानीय प्रशासनले कर्फ्यु हटाउनेछ।’

बिहीबार बिहानदेिख कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा लगाइएको छ।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad